धादिङ - तीन वर्ष घामपानी थेगेको अस्थायी टहरा जीर्ण बन्दै गएको छ। चारैतिर पुराना जस्ताले बारिएको त्यही थोत्रो टहरामा गजुरी गाउँपालिका–१ उज्यालो गाउँकी ६२ वर्षीया मानकुमारी सार्कीको दैनिकी बितिरहेको छ। प्वालैप्वाल भएको जस्ताले न घाम छेक्छ न पानी। मुस्किलले बर्खा र हिउँदको सामना गर्दै आइरहेकी उनी बेसहारा छिन्। चार सन्तानकी आमा उनी २० वर्षदेखि सन्तानसँग अलग छिन्।
१३ वर्षअघि पतिको मृत्यु भयो। त्यसपछि एक्लै बनेकी उनको दैनिकी २०७२ साल वैशाख १२ यता अस्थायी टहरामै अभाव र समस्यासँग पौंठेजोरी खेल्दै बितिरहेको छ। घर बनाउन सरकारले दिने अनुदान रकम कुरेर बसिरहेकी मानकुमारी भूकम्पले बचेको दुई मुठी सास पनि टहरामै जाने चिन्तामा छिन्। ‘सन्तानले साथ छाडे, पतिले संसार, बेसहारा बनेकी छु,’ उनले भनिन्, ‘बचेको दुई मुठी सास पनि टहरामै जान्छ कि भन्ने चिन्ता छ।’ बस्दै आइरहेको अस्थायी टहरा नजिकै छ, भूकम्पले भत्किएको उनको घर र बाँकी भग्नावशेष। विपत्तिले घर ध्वस्त बनायो, नयाँ घर ठड्याउनै सकेनन्। तीन पटकसम्म फाराम भर्दा पनि घर बनाउने लाभग्राहीको सूचीमा उनको नाम अटेन।
नजिकै रहेको भग्नावशेष हेर्दै उही थोत्रो टहरामै मन माउनुबाहेक उनीसँग अर्को विकल्प छैन। सम्पत्तीको नाममा त्यही अस्थायी टहरा, खेती गर्ने जग्गा छैन, छाक टार्न पनि धौधौ हुन्छ। घर पूर्ण रूपमा भत्कियो। अहिले भग्नावशेष मात्र बाँकी छ। छाक टार्न मुस्किल भइरहेको अवस्थामा ओत छेक्ने पक्की घर बनाउन सकिनन्।
सरकारले पूर्ण क्षति भएका घर निर्माणका लागि तीन किस्तामा रकम प्रदान गरेको छ। घर बन्ने आशामा लाभग्राही सूचीमा नाम दर्ता गरिन् तर नाम परेन। उनी भन्छिन्, ‘सरकारबाट राहतको नाममा पहिलो पटक १५ हजार र दोस्रो पटक १० हजार पाएकी छु। घर बनाउन तीन लाख दिने भनेको सुनेकी मात्र छु, अहिलेसम्म पाएको छैन। लाभग्राही सूचीमा नाम नपरेपछि वडाध्यक्षलाई सोध्दा पछि आउँछ भन्ने मात्र जवाफ दिन्छन्। दिन बित्यो, रात बित्यो तर आफ्नो नयाँ घरमा बस्ने आशा निराशामै रहेको छ।’ सरकारले अनुदान नदिएपछि मानकुमारी सार्कीले गाउँलेसँग भएको पुरानो जस्ता आधा मूल्यमा किनेर सानो टहरा बनाइन्।
पुसको कठ्यांग्रिँदो चिसोमा तपतप शीतका थोपासँग जुध्दै जीवन गुजारिरहेकी मानकुमारीलाई त्यही टहरा पनि कतिखेर पहिरोले लैजाने हो भन्ने डरले पोलिरहेको छ। दुःख गरी जेनतेन बनाएको टहराको केही तल डोजरले बाटो खनिदिएको छ। त्यही टहरा पनि कतिबेला पहिरोले लैजाने हो उनी डरैडरमा बस्ने गर्छिन्। एक त पहिरोको जोखिम त्यसमाथि जस्ताको टहरामा चिसोले रात काट्नै सकस हुने गरेको उनले सुनाइन्।
भूकम्पपछि आवास निर्माणका लागि पाउने रकम पनि उनले अहिलेसम्म पाएकी छैनन्। घर बनाउने पैसा दिए अलि व्यवस्थित ठाउँमा घर बनाएर बस्ने उनले बताइन्। जाडोबाट पनि जोगिने र जीवन जिउन पनि सजिलो हुने उनको भनाइ छ। धादिङमा आवास सहयोगार्थ अनुदान रकम पाइने सूचीमा आफ्नो नाम नआएपछि १७ हजार ४४ प्रभावितले गुनासो फाराम भरेका थिए।
अन्तिम पटकको छूट तथा पुनः सर्भे जाँचमा अत्यन्तै जोखिममा परेका यस्ता वर्ग कोही पनि नछुटून् भनेर सुनिश्चित गर्न बिहानी परियोजनाले पनि धादिङका सातवटा स्थानीय तहमा गुनासो दर्ता गर्ने प्रक्रियामा सहयोग गरेको थियो। गुनासो भरेकामध्ये ९ हजार १ सय ३७ जनाको मात्रै गुनासो फछ्र्योट भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङका सूचना व्यवस्थापन प्रणालीविज्ञ दीपेन्द्र पौडेलले बताए। बाँकी फछ्र्यौटको प्रक्रियामा छ।
सरकारले पछिल्लो समय एकल महिला, वृद्धवृद्धा, अपांगता भएकाहरूका लागि पुनर्निर्माणमा सहयोग गर्न विशेष कार्यक्रमसमेत ल्याएको बताएको छ। तर सरकारको विशेष कार्यक्रम मानकुमारी सार्की जस्ता एकल महिलासम्म अझै पुग्न सकेको छैन। उनीजस्तै धादिङमा धेरै भूकम्पपीडित सरकारको आसमा कष्टकर जीवन बिताइरहेका छन्।
त्यस्ता भूकम्पपीडितका लागि सरकार तथा भूकम्पमा काम गर्ने संस्थाहरूले सञ्चालन गर्ने विशेष कार्यक्रम ढिला भइसकेको छ। छुटेका भूकम्पपीडितका लागि सरकारले अन्तिम पटक भनेर यही पुस मसान्तसम्म नाम दर्ता गराउने मिति तोकेको भए पनि मानकुमारी जस्ता वास्तविक भूकम्पपीडितको नाम समावेश गराउने कुरामा चुनौती देखियो। अहिले वास्तविक भूकम्पपीडितलाई छाप्रोबाट आफ्नै घरमा ढुक्कसँग बस्ने वातावरणका लागि पुनर्निर्माण प्राधिकरणसँगै स्थानीय सरकार पनि लाग्नुपर्ने देखिन्छ।
प्रकाशित: २ माघ २०७६ ०३:१२ बिहीबार