१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

धनुषा घटनाको निष्पक्ष अनुसन्धान गर्न आग्रह

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले धनुषामा ओमप्रकाश महतोलाई टिपरले टाउकामा कुल्चाएर हत्या गरेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ। धनुषाकोे मिथिला नगरपालिका–५ का वातावरण संरक्षण अभियानकर्मी महतोको यही पुस २५ गते औरहीखोलामा टिपरले टाउकामा कुल्चाएर हत्या गर्ने दोषीमाथि छानबिन गरी कारवाही गर्न माग गरिएको हो।

“निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न र पीडितलाई क्षतिपूर्तिका लागि आयोग सरकारको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त घटना दुःखद् भएकाले त्यसको कानूनी प्रक्रियाबारे नजीकबाट अनुगमन गरिरहेको बताए। घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगको प्रदेश नं २ कार्यालयको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।

घटनाबाट वातावरण संरक्षणमा लागिरहेका व्यक्तिको जीवनको अधिकार तथा नेपालले हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र, १९६६ को उल्लङ्घन भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसै सन्दर्भमा वातावरण संरक्षण अभियानकर्मीको टोलीले आयोगमा आज ज्ञापनपत्र बुझाएको थियो। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गर्दै उनीहरुले आयोगका अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाएका थिए।

प्रकाशित: २७ पुस २०७६ १४:०४ आइतबार

धनुषा घटना अनुसन्धान