९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कृषिमा रमाउँदै लेखा अधिकृत केसी

कृषि व्यवसायमा लागेका लेखा अधिकृत शुसिल केसी । तस्बिरः नागरिक

वीरेन्द्रनगर- सायद २०५२ सालतिर द्वन्द्व नहुँदो हो त केसीको परिचय लेखा अधिकृत शुसिल केसी होइन ‘किसान’ हुन्थ्यो। चार पुस्तासम्म सरकारी जागिरे भएको परिवारमा जन्मिएका उनको सोच जागिरे होइन कृषक बन्ने थियो। स्नातक तहको अध्ययन पूरा गरेपछि उनले कृषिलाई व्यवसायीक बनाउन तरकारी खेतीमा लागे। प्रशस्त जग्गा भएकाले उनलाई कहाँ र कसको जग्गा लिने चिन्ता थिएन, थियो त, ‘परिवारको’। कारण, शुसिल किसान बन्न चाहन्थे भने परिवार जागिरे बनाउन चाहन्थे।

परिवारको असहयोगका बाबजुद पनि चुनौतीका साथ उनले कृषिमा हात बढाए। कृषिमा लागेको केही महिनापछि नै देशमा द्वन्द्व सुरु भयो। उनको लक्ष्यमा ठेस लाग्यो। द्वन्द्वको असरले कृषि पेसालाई निरन्तरता दिन सकेनन्। कृषि पेसा गर्ने परिस्थिति नभएपछि उनी लोकसेवाको तयारीमा जुटे। २०५६ सालमा सहायक लेखापालमा नाम निकाले। उनी सरकारी जागिरे हुँदा परिवारमा खुसीको बहार आयो।

तर शुसिललाई भने ‘छातिमा ढुंगा राखी हास्नु पर्‍या छ’ जस्तै भयो। जागिरे हुँदा किसानको घर आँगनसम्म पुगे। त्यहाँ गरिएका कृषि सम्बन्धि गतिविधिले उनलाई कृषि पेसा भुल्न खोजे पनि भुल्न दिएन। ‘जहाँ जान्छु त्यहाँ किसानसँगै रमाउँछु,’ उनले भने, ‘सोच्छु, म पनि किसान भएको भए यस्तै रमाइलो जिन्दजी हुँदो हो।’ सरकारी जागिरेमा रमाइलो सुख हुने भएता पनि आफूले रुचाएको काम गर्न नपाउँदा आनन्द नहुने उनको भनाइ छ। अहिले शुसिल लेखा अधिकृतसम्म पुगेका छन्।

सरकारी जागिरसँगै उनी दुई वर्षदेखि लोकल कुखुरा पालनमा पनि लागेका छन्। यसलाई बढाएर आफ्नो ६ बिगाहा जग्गामा एकीकृत कृषि व्यवसाय गर्ने योजनामा रहेको केसीले बताए। करिब ३५ लाख रुपैयाँ लगानी गरेर बनाएको कृषि व्यवसायलाई एग्रो टूरिजम बनाउने योजना भएको उनले बताए।

तरकारी, घाँस खेतीसँगै रिसोर्टसमेत सञ्चालनगर्ने योजनामा केसी छन्। ‘जागिर छाडेर पनि कृषिकर्म गर्ने योजनामा छुँ,’ उनले भने। उनलाई ‘किसान’ परिचय बनाउने ठूलो इच्छा छ। ‘कृषि पेसा र त्यसमा काम किसानलाई हेर्ने दृष्टिकोण राम्रो छैन,’ उनले भने, ‘किसानलाई आत्मसम्मान र अरुलाई हौसला दिन पनि कृषि पेसा अनिवार्य गर्नुछ।’ किसानहरूले आत्मसम्मान पाउन नसकेको उनको भनाइ छ।

उनी किसानसँगै अन्य जागिरेवालाको प्रेरणादायी  पनि बनेका छन्। उनीसँगै जागिर गर्नेहरू यहाँसम्म आउँछन् र जागिरबाट अवकास पाएपछि कृषि गर्ने वचन दिन्छन् जसले शुसिल सुखी हुन्छन्। सात सय लोकलकुखुरा पालेका उनले गाई पनि पालेका छन्। उनका बजार वीरेन्द्रनगर हुँदै कोहलपुरसम्म विस्तार भएको छ। बारीमा घाँस र अन्य बोटविरुवा पनि लगाएका छन् उनले।

सरकारले किसानलाई हौसलासँगै बजारको सुनिश्चितता गरिदिनु पर्ने उनको भनाइ छ। ‘उत्पादन भएका कृषिजन्य सामान बजारसम्म पुग्दैनन्,’ उनले भने, ‘यसको प्रमुख कारण बजार अभाव हो।’ वीरेन्द्रनगरस्थित आफ्नै जग्गामा उनले कृषि व्यवसाय सञ्चालन गरेका छन्। उनको कृषि फार्ममा अहिले तीन जनाले रोजगारी पाएका छन्। यसबाट आएको आम्दानी कर्मचारीको तलब व्यवस्थापन र यही व्यवसायमा लगानी भइरहेको उनले जानकारी दिए।

 

प्रकाशित: २७ पुस २०७६ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App