७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

क्रसर सञ्चालकसहित चार पक्राउ

धनुषा- अवैध उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरेको आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपिन महतोसहित चार जनालाई पक्राउ गरेको छ। जनकपुरस्थित ससुरालीमा लुकेर बसेका क्रसर सञ्चालक महतोलाई शनिबार बिहान र महोत्तरीको बिजलपुराका २२ वर्षीय लोडर चालक जितेन्द्रकुमार महतोलाई शनिबार साँझ पक्राउ गरिएको छ।

हत्यामा संलग्न रहेको आरोपमा शनिबार पक्राउ परेका महतोद्वयलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुष, जनकपुरमा राखिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए।

यसअघि शुक्रबार प्रहरीले ना ७ ख ६४१३ नम्बर टिपरका चालक महोतरी बर्दिवासका ३४ वर्षीय मुनिन्द्र महतो र मृतक ओमप्रकाशका साथी रोशन यादवलाई पक्राउ गरेको थियो। पक्राउ परेका चारैजना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। घटनाको सुक्ष्म अनुसन्धानका लागि यो मुद्दा इलाका प्रहरी कार्यालय ढल्केबरबाट जिल्ला प्रहरी कार्यालय धनुषामा सारिएको छ।

शुक्रबारबाट एम्बुलेन्समै राखिएको मृतक ओमप्रकाशको शव शनिबार पीडित परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा किटानीसहित जाहेरी दर्ता गराएपछि पोष्टमार्टम गरिएको छ। जाहेरी दर्ता गराएपछि जनकपुर प्रादेशिक अस्पतालमा मृतक महतोको शव पोष्टमार्टम गरी परिवारलाई बुझाइएको छ। शव बुझ्न जनकपुर आएका परिवारका सदस्यहरुले निश्पक्ष न्यायको याचना गरेका छन्।

धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो(दिलिप) लाई शुक्राबार बिहान औरही खोलामा टिपरले किचेर हत्या गरिएको थियो। महतो औरही खोलामा अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका थिए। खोलाको डिलमा क्रसर सञ्चालक गर्दै आएका विपिन महतोलगायतले ओमप्रकाशलाई टिपरले किचेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

 

प्रकाशित: २६ पुस २०७६ १२:५६ शनिबार

अवैध_उत्खनन हत्या_प्रकरण