१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

बेसहारा मानकुमारी थोत्रो टहराको बास, पाइनन् कसैको साथ

अस्थायी टहरामा ६२ वर्षिया मानकुमारी सार्की । तस्बिर : सरिता/नागरिक

धादिङ- तीन वर्ष घामपानी थेगेको अस्थायी टहरा जीर्ण बन्दै गएको छ। चारैतिर पूराना जस्ताले बारिएको त्यहि थोत्रो टहरामा गजुरी गाउँपालिका वडा नं १ उज्यालो गाउँकी ६२ वर्षिया मानकुमारी सार्कीको हरेक रात बित्छ। प्वालैप्वालको जस्तापाताले न घाम छेक्छ न पानी। मुस्किलले बर्खा र हिउँदको सामना गर्दै आइरहेकी उनी बेसहारा छिन्। चार सन्तानकी आमा उनी २० वर्षदेखि सन्तानसँग अलग छिन्।

१३ वर्षअघि श्रीमानको मृत्यु भयो। श्रीमानको मृत्युपछि एक्लै बनेकी उनी २०७२ साल बैशाख १२ यता उनको दैनिकी अस्थायी टहरामा अभाव र समस्यासँग पैठेजोरी खेल्दैमा बितिरहेको छ। घर बनाउन सरकारले दिने अनुदान रकम कुरेर बसिरहेकी मानकुमारी भूकम्पले बचेको दुई मुठ्ठी सास टहरामा जाने चिन्तामा छिन्। ‘सन्तानले साथ छाडे, श्रीमानले संसार छाडे, बेसहारा बनेको छु’, उनले भनिन्, ‘बचेको दुई मुठ्ठी सास पनि टहरामा नै जान्छ कि भन्ने चिन्ता छ।’

बस्दै आइरहेको अस्थायी टहरा नजिकै छ भूकम्पले भत्किएको घर र बाँकी भग्नावशेष। भूकम्पको विपत्तिले घर ध्वस्त बनायो, नयाँ घर ठड्याउनै सकेनन्। तीन पटकसम्म फाराम भर्दा पनि घर बनाउने लाभग्राहीको सूचीमा उनको नाम अटेन। नजिकै रहेको भग्नावशेष हेर्दै उहि थोत्रो टहरामै मन रमाउनु बाहेक उनीसँग अर्को बिकल्प छैन। सम्पतीको नाममा त्यहि अस्थायी टहरा, खेती गर्ने जग्गा छैन, छाक टार्न पनि धौधौ हुन्छ।

सरकारले पूर्ण क्षति भएका घर निर्माणका लागि तीन किस्तामा रकम प्रदान गरेको छ। घर बन्ने आशामा लाभग्राही सूचीमा नाम दर्ता गरिन् तर नाम परेन। उनी भन्छिन् सरकारबाट राहतको नाममा पहिलो पटक १५ हजार र दोस्रो पटक १० हजार रुपैयाँ पाएकी छु। घर बनाउन तीन लाख रुपैयाँ दिने भनेको सुनेको मात्र छु, अहिलेसम्म पाएको छैन। लाभग्राही सूचीमा नाम नपरेपछि वडाअध्यक्षलाई सोध्दा पछि आउँछ भन्ने मात्र जवाफ दिन्छन्। दिन बित्यो रात बित्यो तर आफ्नो नयाँ घरमा बस्ने आशा निराशामा नै रहेको छ।

सरकारले अनुदान नदिएपछि मानकुमारी सार्कीले गाउँलेसँग भएको पुरानो जस्ता आधा मूल्यमा किनेर सानो टहरा बनाइन्। पुसको कठ्याङ्ग्रीदो चिसोमा शितका थोपासँग जुध्दै जीवन गुजारी रहेकी मानकुमारीलाई त्यही टहरा पनि कतिखेर पहिरोले लैजाने हो भन्ने डरले पोलिरहेको छ। दुःख गरी जेनतेन बनाएको टहराको केही तल डोजरले बाटो खनिदिएको छ। त्यहि टहरा पनि कतिबेला पहिरोले लैजाने हो उनी डरैडरमा बस्ने गर्छिन्। एक त पहिरोको जोखिम, जस्ताको टहरामा चिसोले रात काट्नै सकस हुने गरेको उनले सुनाइन्।

धादिङ जिल्लामा आवास सहयोगार्थ अनुदान रकम पाइने सूचिमा आफ्नो नाम नआएपछि १७ हजार ४४ प्रभावितले गुनासो फारम भरेका थिए। अन्तिम पटकको छुट तथा पुनः सर्भे जाँच सर्भेमा अत्यन्तै जोखिममा परेका यस्ता वर्ग कोहि पनि नछुटुन भनेर सुनिश्चित गर्न बिहानी परियोजनाले पनि धादिङका सात वटा स्थानीय तहमा गुनासो दर्ता गर्ने प्रकृयामा सहयोग गरेको थियो। गुनासो भरेकामध्ये ९ हजार १ सय ३७ जनाको मात्रै गुनासो फछ्र्याैट भएको प्रक्रियामा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङका सूचना व्यवस्थापन प्रणाली विज्ञ दिपेन्द्र पौडेलले बताए।

सरकारले पछिल्लो समय एकल महिला, वृद्धवृद्धा, अपाङगता भएकाहरुको लागि पुनर्निर्माणमा सहयोग गर्न विशेष कार्यक्रमहरु समेत ल्याएको बताएको छ। तर सरकारको विशेष कार्यक्रम मानकुमारी सार्की जस्ता एकल महिलासम्म अझै पुग्न सकेको छैन। मानकुमारी सार्की जस्तै धादिङमा धेरै भूकम्पपीडित सरकारको आशमा कष्टकर जीवन बिताइरहेका छन्। त्यस्ता भूकम्प पीडितका लागि सरकार तथा भूकम्पमा काम गर्ने संस्थाहरुले सञ्चालन गर्ने विशेष कार्यक्रम ढिला भैसकेको छ।

छुटेका भूकम्प पीडितहरुको लागि सरकारले अन्तिम पटक भनेर यहि पुस मसान्तसम्म नाम दर्ता गराउने मिति तोकेको भएतापनि मानकुमारी जस्ता वास्तविक भूकम्प पीडितको नाम समावेश गराउने कुरा चुनौतीको रुपमा देखिएको छ। वास्ताविक पीडामा बसेका भूकम्प पीडितलाई छाप्रोबाट आफ्नै घरमा ढुक्कसँग बस्ने वातावरणको लागि पुनर्निर्माण प्राधिकरणसँगै स्थानीय सरकार पनि लाग्न पर्ने देखिन्छ।


 

 

प्रकाशित: २५ पुस २०७६ १३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App