५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चिनियाँ ‘गिरोह’ फिर्ता

काठमाडौं – पुस ७ गते पक्राउ परेका चिनियाँ नागरिकलाई चार वर्षसम्म नेपाल छिर्न प्रतिबन्ध लगाउँदै बुधबार नियमित उडानका दुईवटा जहाजमार्फत स्वदेश पठाइएको छ। चाइना इस्टर्नको चार्टडमार्फत पहिलो फ्लाइट साँझ ६ः१५ बजे ४२ जना र दोस्रो फ्लाइटमा राति ७ः३० बजे ८० जना गरी १ सय २२ जनालाई स्वदेश फर्काइएको हो।

उनीहरूमध्ये ४२ जनालाई महाराजगन्ज बृत्तको प्रहरी टोलीले विमानस्थल पु-याएको थियो। दोस्रो फ्लाइटका ८० जनालाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टे, सिंहदरबार र महानगरीय प्रहरी परिसरको टोलीले विमानस्थल लगेर अध्यागमन विभाग, नागरिक उड्ययन प्राधिकरणलगायतका अधिकारीको रोहबरमा चिनियाँ प्रहरी तथा अधिकारीको जिम्मा लगाएको थियो।

जिल्ला अदालत काठमाडौंले उनीहरूलाई १ हजार धरौटीमा रिहा गरेको थियो। अदालतले नै कानुनी प्रक्रिया पूरा गरेर फिर्ता गराउन सुझाव दिएसँगै अध्यागमन विभाग र प्रहरीले फिर्ता गराउने प्रक्रिया अघि बढाएका थिए। आफ्ना नागरिकलाई नेपालबाट फिर्ता गर्न लागिएपछि चीनले नियमित उडानका दुईवटा फ्लाइटमार्फत स्वदेश लगेको हो। अध्यागमन विभागका अनुसार चिनियाँ दुतावासले जारी गरेको पासपोर्ट, नागरिकता र ट्राभल डकुमेन्ट चेकजाच गरेर उनीहरूलाई फिर्ता पठाइएको छ। फिर्ता पठाउने क्रममा विभागले उनीहरुको तस्बिर समेत दाजेको थियो।

चिनियाँ नागरिकबाट नेपाल प्रहरीले बरामद गरेका ल्यापटप, मोबाइल, क्यामेरालगायत सामान त्रिभुवन विमानस्थलमा चिनियाँ टोलीलाई बुझाएको छ। प्रहरीका अनुसार चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गरिने छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार बुधबार स्वदेश फिर्ता गराइएका ३१ जना चिनियाँको पासपोर्ट भेटिएको थियो। उनीहरूको पासपोर्ट रद्द गरी काठमाडौंस्थित चिनियाँँ दूतावासले बुधबार नै ट्राभल डकुमेन्ट जारी गरेको थियो। ‘उनीहरूले नेपालको विरुद्धमा कुनै अपराध गरेको भेटिएन, हामीले उनीहरूको डिर्पोटका साथै चौतर्फी अध्ययन र अनुसन्धानपछि चार वर्ष नेपाल छिर्न प्रतिबन्धसहित फिर्ता पठायौं,’ उनले भने।

नेपालमा आएर विभिन्न ठगीधन्दा गरेको पत्तो पाएपछि अभियान नै चलाएर उनीहरूलाई पुस ७ गते सोमबार प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो। पर्यटन भिषामा नेपाल छिरेका उनीहरूको भिसा म्याद समाप्त भएपनि उपत्यकाका भित्री र छेउछाउका घर तथा होटल भाडामा लिएर बस्दै आइरहेका थिए। गिरोहको टोलीले सामाजिक सञ्जाल तथा अन्य साइटको प्रयोग गरेर एकल महिला, धनाण्य व्यक्तिको पैसा लुट्ने कार्य गर्दै आइरहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। टोलीले काठमाडौंमा कम्पनी नै दर्ता गरेर सफ्टवेयरको काम गर्दै आइरहेको थियो। कम्पनीमार्फत केही सरकारी कायालयको वेबसाइट समेत मर्मतको जिम्मा लिएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंले केही दिन हिरासतमै राखेर चिनियाँको बयान तथा अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा नेपालसम्बन्धी कुनै अपराध नगरेको र उनीहरुको विरुद्धमा कुनै उजुरी नपरेको स्पष्ट भएपछि अध्यागमन विभागलाई जिम्मा लगाएको थियो। परिसरका प्रवक्ता होबिन्द्र बोगटीले नेपालको विरुद्धमा विदेशबाट नेपाल आएर अपराध गर्ने विदेशी नागरिकलाई नेपालमै राखेर कारबाही गर्न सकिने बताए। उनले चिनियाँ नागगरिकले नेपालको विरुद्धमा कुनै काम नगरेकोले चिनसँगको सहकार्यमा उनीहरुलाई स्वदेश पठाइएको जानकारी दिए।

प्रकाशित: २४ पुस २०७६ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App