२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गोली प्रहार गरी गाँजा बरामद

मकवानपुर – प्रहरीले चार राउन्ड गोली प्रहार गरी ३२ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहारका ३७ वर्षीय दिलीपकुमार सिंह, १८ वर्षीय उज्वलकुमार ठाकुर र रौतहटको यमुनामाई गाउँपालिका ४ का २४ वर्षीय विकाश सिंह छन्।

डिएल ३ सिएक्यु ४१७२ नम्बरको भारतीय नम्बर प्लेटको कारको सिटमुनी फल्स बटम बनाई चार पोकामा लुकाई ल्याएको गाँजासहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरले बताए। उनका अनुसार हेटौंडा १५ रातोमाटे र चुरियामाईबीचको जंगलबाट उनीहरुलाई शनिबार पक्राउ गरिएको हो।

मकवानपुरबाट भारततर्फ निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले चार राउन्ड हवाई फायरसमेत गरेको राठौरले बताए। ‘हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको भारतीय कारलाई रोकी जाँच गर्न खोज्दा कार नरोकी भागेको थियो,’ उनले भने, ‘करिब तीन किलोमिटर टाढा कार रोकी अभियुक्तहरु भागेकाले प्रहरीले पेस्तोलबाट हवाई फायर गरी उनीहरुलाई नियन्त्रणमा लिएको थियो।’

त्यस्तै शनिबारै २१ किलो गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका ५ का ३५ वर्षीय राजकुमार मोक्तान पक्राउ परेका छन्। मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख ७२६८ नम्बरको ट्रकमा राखेर निकासी गर्न लागिएको गाँजासहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता यज्ञप्रसाद भटराईले बताए।

विशेष सूचनाको आधारमा प्रहरीले पछ्याएपछि ट्रक छाडी चालक मोक्तान जंगलतर्फ भागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीले ट्रकको क्याबिनको माथिल्लो भागमा त्रिपालले बेरी दुई पोकामा लुकाएको गाँजा पनि बरामद गरेको छ। लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागुपदार्थ ओसारपसारमा संलग्नलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारीसाधन जफत हुने व्यवस्था छ।

यसैबीच मकवानपुर प्रहरीले डाँका मुद्दामा फरार प्रतिवादी हेटौंडा ५ का २७ वर्षीय गोविन्द घिमिरेलाई सिमराबाट पक्राउ गरेको छ। जिल्ला अदालत मकवानपुरले २०७२ जेठ २७ गते छ बर्ष कैद र ६३ हजार सात सय ५० रुपैंया जरिवाना फैसला गरेपनि उनी फरार रहेका थिए।

प्रकाशित: २० पुस २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App