रोल्पा - बिहानै साढे पाँच बजे क्याम्पसको गेट खुल्छ। शिक्षक र विद्यार्थी कक्षा कोठामा जान्छन्। पढाई पनि सुरु हुन्छ। तर पढाउने शिक्षक र विद्यार्थीको संख्या बराबरजस्तै हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पश्चिम रोल्पाको एक मात्र क्याम्पसमा चार जना मात्र शिक्षक छन् भने नियमित पढ्न आउने पनि त्यस्तै ४/५ जना मात्र हुन्छन्।
त्रिबेणी गाउँपालिका जुगारमा रहेको नव नेपाल क्याम्पसमा शिक्षा संकायतर्फ जनसंख्या र स्वास्थ्य विषयको पठन पाठन हुदै आएको छ। तर दुर्भाग्य यो क्याम्पसमा जनसंख्या र स्वास्थ्य दुबै विषयका शिक्षक नै छैनन्। एक जना क्याम्पस प्रमुख अंग्रेजीका फुल टाईम शिक्षक हुन भने बाँकी ३ जनाले पार्ट टाइम नेपाली पढाउछन्। न क्याम्पसमा शिक्षक छन् नत विद्यार्थी पढ्न आउछन्।
यहाँ भर्ना हुनु भनेको प्रमाण पत्र हातमा ल्याउनलाई मात्र हो। जागिर खाने वा अन्य व्यवसाय गर्नेहरु यहाँ भर्ना हुन्छन् र परीक्षाको समयमा जाच दिन आउछन्। क्याम्पसलाई भर्ना र माशिक शुल्क भए अरु केहि चाहिदैन। भर्ना भएर परीक्षा मात्र दिन आउने विद्यार्थीलाई यहाँका स्थानीयले झोले विद्यार्थीको संज्ञा दिएका छन्। ‘क्याम्पसमा भर्ना हुन्छन् तर पढ्न कहिल्यै आउदैनन्।’ स्थानीय विद्यार्थी नेता दुर्योधन राना भन्छन् ‘झोले विद्यार्थीको भरमा क्याम्पस टिकेको छ।’
क्याम्पसमा शिक्षा संकायतर्फ जनसंख्या र स्वास्थ्य विषयको पठन पाठन हुदै आएको छ। तर दुर्भाग्य यो क्याम्पसमा जनसंख्या र स्वास्थ्य दुबै विषयका शिक्षक नै छैनन्। एक जना क्याम्पस प्रमुख अंग्रेजीका फुल टाईम शिक्षक हुन भने बाँकी ३ जनाले पार्ट टाइम नेपाली पढाउछन्। न क्याम्पसमा शिक्षक छन् नत विद्यार्थी पढ्न आउछन्।
प्रथम वर्षमा ३५, दोस्रो वर्षमा ४९ , तेस्रो वर्षमा ३२ र चौथो वर्षमा ३८ जना भर्ना भएको यहाँ दैनिक क्याम्पस आउने भनेको मुस्किलले ५/७ जना मात्र हो। क्याम्पस प्रशासनका अनुसार सबै विद्यार्थी नियमित आउदैनन्। ‘जनसंख्या विषयमा थोरै मात्र विद्यार्थी भर्ना भएका छन्। उनिहरु नियमित आउदैनौ भनेपछि शिक्षक नै नराखेको हो। स्वास्थ्य पढ्ने अधिकांश कर्मचारी वा अन्य ब्यबसायमा ब्यस्तहरु हुनुहुन्छ।’ क्याम्पस प्रमुख गोपिन्द्र बहादुर केसीले भने ‘क्याम्पस आर्थिक सकसमा छ। प्रयाप्त शिक्षक नियुक्ति गर्न सक्ने अबस्था छैन। स्थानीय सरकारले पनि केहि हेरेको छैन।’
भर्ना शुल्क २ हजार ५ सय र मासिक शुल्क ५ सयका भरमा चलेको क्याम्पसमा कहिले काहि पढ्न जाने विद्यार्र्थी पनि कक्षा कोठामा एक दुई जना मात्र बस्न अल्छि लाग्ने गरको बताउछन्। ‘क्याम्पस भरिमा ५/७ जना विद्यार्थी हुन्छौ। थप शिक्षक राख्नु पर्छ भन्छौ तर सुनुवाई भएको छैन।’ ’ छात्रा लिला परियार भन्छिन् ‘पढाई सुधारका लागि आन्दोलन गर्नु हुन्थ्यो तर के गर्नु विद्यार्र्थी नै ५/७ जना मात्र हुन्छौ।’
क्याम्पस ब्यबस्थापन समिति पनि स्तर सुधारका लागि केहि गर्न सक्ने अबस्थामा देखिदैन। ‘क्याम्पसमा आर्थिक समस्या छ। विद्यार्थीहरु नियमित पढ्न नआए पनि उनिहरुकै मागका आधारमा स्वास्थ्य र जनसंख्या बिषय रादिएको हो।’ क्याम्पस संचालक समितिका सदस्य लेखमणि डागीले भने ‘असहजता मै भए पनि क्याम्पस चलेकै छ।’
यहाँ स्वास्थ्य बिषयको प्राक्टिकल ताका भने छिमेकी क्याम्पसबाट शिक्षक बोलाउने गरिएको छ। रोल्पा जिल्ला मै स्वास्थ्यको पढाई नहुने भएपछि विभिन्न गाउँका विद्यार्र्थीहरु जुंगारसम्म भर्ना हुन आउने गर्दछन्। ‘मुख्य समस्या आर्थिक नै हो। विद्यार्थी नभएको वा पठनपाठन अब्बल नभएको भने होइन।’ क्याम्पस प्रमुख दादी गर्छन्।
अहिलेलाई पुर्र्वाधार प्रयाप्त छ। हाल पठनपाठन संचालन भइरहेको क्याम्पसभन्दा अलि पर स्थानीयले दान दिएको जग्गामा अर्को सभाहलसहितको भवन बनाइएको छ। पहिला स्थानीय चंखबहादुर वलीले ११ रोपनी जग्गा दिए। त्यसैमा भवन बन्यो। कक्षा सुरु भयो। पछि फेरि स्थानीय कुलानन्द गिरीले १४ रोपनी जग्गा दिए त्यहाँ पनि फेरि सभाहलसहितको भबन बनाइएको हो। आर्थिक अभाव भन्दै प्रयाप्त शिक्षक राख्न नसके पनि भवन भने थप गरिएको छ।
२०६४ सालमा स्थापना भएकोे क्याम्पस आर्थिक अवस्थाले थलिएको नजिकबाट बुझेको त्रिभुवन विश्वविद्यालयले सुधारका लागि कुनै पहल गरेको छैन। विद्यार्थीका लागि राजनीति गर्छौ भन्ने स्ववियु सभापति परीक्षामा चिट काण्डका कारण ३ वर्षका लागि निस्कासन भएपछि विद्यार्थीका पक्षमा बोल्ने समेत कोहि छैन। औपचारीकताका लागि मात्र जस्तो देखिने क्याम्पस व्यवस्थित तरिकाले चलाउन सक्ने हो भने वर्षेनी लाखौ खर्च गरेर बाहिरी जिल्ला पढ्न बाध्य रोल्पाली विद्यार्थीले राहत पाउने देखिन्छ।
प्रकाशित: १८ पुस २०७६ ०५:५२ शुक्रबार