१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

एक पटकमा एक मात्र गाग्रो पानी

खोलाबाट पानी लिएर फर्कंदै गरेकी च्यास्मिटार हुन्डाखाकी महिला। तस्बिर : दमन/नागरिक

खोटाङ – सामान्यतः खानेपानीका जुनसुकै धाराबाट चाहिएको मात्रामा पानी भर्न सकिन्छ। तर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार गाउँको कुरा भने बेग्लै छ। साविक च्यास्मिटार–५ को चिलाउनेबोटेमा रहेको धारामा एकजनाले एक पटकमा एक गाग्रीमात्र पानी भर्न पाउँछन्। पानीका मुहान सुक्दै जान थालेको र पिउने पानीको विकराल समस्या निम्तिन थालेपछि स्थानीय बरगाछी सबल कृषक समूहले ‘एक पटकमा एकजनाले एक गाग्रोमात्र पानी भर्न पाउने’ नियम कार्यान्वयनमा ल्याएको हो। एकजनाले सरासर एक गाग्रोभन्दा बढी पानी थापेमा जनही पाँच सय रुपैयाँ जरिवाना तोकिएको समूहद्वारा धाराछेउमा टाँसेको सूचनामा उल्लेख छ।

जनसंख्या वृद्धि तथा बढ्दो वन विनासका कारण पानीको अभाव हुन थालेपछि चिलाउनेबोटेमा रहेको मुहानमै निर्माण गरिएको धारामा एक पटकमा एक गाग्रो पानी भर्ने व्यवस्था गरिएको च्यास्मिटार माविका प्रधानाध्यापक दानकुमार राईले बताए। ‘यस क्षेत्रमा पिउने पानीको विकराल समस्या छ। पिउने पानी पु-याउन धौ–धौ छ,’ प्रअ राईले भने, ‘धाराको पानी समानुपातिक वितरणका लागि एकजनाले एक पटकमा एक गाग्रो पानी भर्न पाउने नियम बनाइएको हो।’ सबैको पालो पुगेपछि मात्र पुनः अर्को गाग्रो पानी भर्न पाइने स्थानीय बताउँछन्। सार्वजनिक थलोमा टाँसिएको सूचनामा एउटा गाग्रोको तस्बिरमा ठीक चिन्ह र दुई गाग्रोको तस्बिरमा क्रस चिन्ह लगाइएको छ।

कतिपयले सरासर एक गाग्रोभन्दा बढी पानी भर्दा अन्यले पानी नपाउने अवस्था आएकाले यस्तो निमय बनाइएको समूहले जनाएको छ। सो धाराको पानी साविकको च्यास्मिटार–१ र ५ वडाका सय घरभन्दा बढी उपभोक्ताले उपयोग गर्ने गरेका छन्। पानीको समस्याका कारण धारामा बिहान चार बजेदेखि बेलुका सात बजेसम्म पानी लिन आउने स्थानीयको भिड लाग्ने गरेको छ। यस्तै च्यास्मिटारकै जोरसिमलमा रहेको मुहानमा नुहाउन र लुगा धुन प्रतिबन्ध गरिएको प्रअ राईले बताए। धारामा नुहाउन र लुगा धुन प्रतिबन्ध गरिएपछि कतिपय स्थानीय नजिकको खोला वा छिमेकी गाउँका धारा र कुवामा नुहाउन र लुगा धुन जाने गरेका छन्।

खानेपानीको समस्या च्यास्मिटारमा मात्र होइन। हलेसी तुवाचुङ नगरपालिकाका भिन्नि वडाहरूमध्ये १ को बाहुनीडाँडा, २ को डिकुवा, ५ को दुर्छिम, ८ को धितुङ, १० को अर्खौले र ११ को राजापानीमा खानेपानीको विकराल समस्या रहेको उपमेयर विमला राई बताउँछिन्। पानीको मुहान सुक्दै गएको र बाँकी रहेका स्रोतले धान्न छाडेको सो क्षेत्रमा पिउने पानीको अन्य भरपर्दो विकल्प नहुँदा स्थानीय समस्यामा छन्।

पिउने पानीको अभावका कारण सो क्षेत्रका होटल तथा पसलमा बास बसेका ग्राहकलाई हातमुख र खुट्टा धुने पानी पाउन धौ–धौ पर्छ। पानीको अभावमा च्यास्मिटार, बाहुनीडाँडा, दुर्छिम, बडहरे, हलेसीलगायतका स्थानीयले बिहे, भोज–भतेरका लागि चाहिने पानी ड्रममा हालेर ट्रयाक्टरबाट ओसार्ने गरेका छन्।

हलेसी वरपरको सुक्खाग्रस्त क्षेत्रमा दुधकोसीको पानी ल्याउन हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम भइरहेको छ। तर आयोजनाको काममा ठेकेदार दिवा–महादेव खिम्ती जेभी, लामा कन्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको चरम ढिलासुस्ती देखिएको उपमेयर राईले बताइन्।

पानी माग्दा डेयु पाइन्छ
हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान, दुर्छिम, च्यास्मिटार, डिकुवा, बाहुनीडाँडालगायत पश्चिमी गाविस सुक्खाग्रस्त क्षेत्र घोषित क्षेत्र हो। पानीको स्रोत नभएको तथा जनसंख्याअनुसार स्रोतले नपुगेपछि महादेवस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडालाई जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। मध्यहापडी लोकमार्गअन्तर्गत जयराम–हलेसी ३० किलोमिटर सडकले छोएका बाहुनीडाँडा, च्यास्मिटार, बडहरे, दुर्छिम र महादेवस्थानका विभिन्न चोकमा दर्जनौं होटल, पसल सञ्चालनमा छन्। यात्राका क्रममा यही बाटो हिँड्ने यात्रुले भनेको बेलामा पर्याप्त पानी पाउँदैनन्। दर्जनौं पसल भेटिन्छन् तर नुहाउने, हात–खुट्टा धुनेदेखि पिउने पानी भेट्दैनन्। तिर्खा मेट्नका लागि अधिकतर यात्रु बोतलको डेयु किन्न बाध्य हुन्छन्। पानी मागिए वा सोधिए पसलेले पनि डेयु दिने गरेका छन्। सो सडकखण्डमा यात्राका क्रममा तिर्खा मेट्न पानीको सट्टा डेयु पिउनुको विकल्प नभएको भुक्तभोगीको भनाइ छ।

प्रकाशित: ४ पुस २०७६ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App