१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

परालकै भरमा विपन्न परिवार

भ्वाङ परेको छाप्रोमा पुरानो कपडा बेरेर चिसो हावा छेक्ने प्रयास गर्दै विपन्न परिवार। तस्बिर : मिथिलेश/नागरिक

लहान – परालले छाएको सानो छाप्रो। परालले नै छाप्रो बारबेर गरिएको छ। चिसो भुइँमा परालकै डसना छ। त्यसमाथि पातलो सुकुल छ। छेउमा धुजाधुजा भएका पुराना कपडा जोडेर बनाइएको ओढ्ने सिरक छ। यही छाप्रोमा सिरहा गोलबजार नगरपालिका–९ मुसहरी टोलका श्यामदेवी सदायको सातजनाको परिवारले शीतलहरको कष्ट सहिरहेको छ। छाप्रोमा चार छोराछोरी, वृद्ध सासू र श्यामदेवी दम्पती बस्छन्। जाडो छल्न उनले परालसँगै पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेकी छन्।                        ।

सोही टोलकी ७० वर्षीया मलभोगिया सदायले चिसो बढेपछि शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको बताइन्। चिसो बढेपछि अतिविपन्न बस्तीमा परालकै सिरक–डसना र तातोका लागि परालै बालेर जीवनयापन गर्नुपर्ने बाध्यता आइलागेको छ। गोलबजार–९ धोबियाधार (खोला) किनारमा सुकुमबासीका रुपमा बस्दै आएका मुसहरले वर्षामा घर डुबान र शीतलहरमा चिसोको कहर खेप्नुपरेको छ। ‘चिसो भुइँमा पराल ओछ्याएर डसना बनाएका छौं। ओढ्ने पुरानो तर नतात्ने कपडा छ,’ उनले भनिन्, ‘गरिबलाई खान त पुग्दैन, कहाँबाट न्यानो लुगा लगाउनु, ओढ्नु।’

सोही मुसहर बस्तीकी जंगली सदायको पीडा पनि उस्तै छ। ‘मजदुरी गरेर कमाएको दुईचार पैसाले पेट भर्ने कि न्यानो लुगा किन्ने ?’ उनले भनिन्, ‘सरकारले गरिबलाई चिसोबाट जोगाउन कुनै राहत कार्यक्रम ल्याएन।’ उनका अनुसार अहिलेसम्म मुसहर बस्तीमा चिसोपीडितका लागि सरकारी, गैरसरकारी कुनै तहबाट पनि राहत पुगेको छैन। गत वर्षको शीतलहरमा स्थानीय सरकारले दाउरा वितरण अभियान थाले पनि त्यो विपन्न मुसहर बस्तीसम्म पुग्न सकेन। ‘न त संघसंस्थाकै व्यक्तिले बाँडेका कम्बल हाम्रो बस्तीमा आए,’ जंगलीको गुनासो छ। साँच्चिकै पीडितलाई भन्दा पनि मन परेका व्यक्तिलाई कम्बल बाँड्ने गरिएको उनको आरोप छ।

गत साल चिसोकै कारण पत्नी गुमाएका परमेश्वर पासवानले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आउँछ, यसले परिवारको सहारा खोसेर लैजान्छ। चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दोरहेछ, गरिब मरे पनि सरकारले चासो देखाउँदैन। मौसम र सरकार दुवै गरिबमारा छन्।

लहान नगरपालिका–२२ (नवकाटोल मुसहरी) स्थित सडकछेउको ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन्। तिनैमध्ये एउटा छाप्रोमा दसैं सदायको परिवार बस्छ। दुई छोराछोरीसहित दसैं दम्पती छाप्रोमा जसोतसो जिन्दगी धान्दैछन्। पोहोर यही छाप्रोमा जाडो सहन नसकेर दसैंका बाबु ढेकरुले प्राण त्यागे। दमका रोगी उनलाई न्यानो चाहिन्थ्यो तर छाप्रोमुनि चिसो भुइँमा बस्नुपर्दा उनलाई दमले गालेर लग्यो। ‘कहियोकाल त हमरो इ जार लजेतै जका लगैया (कहिलेकाहीं त चिसोले आफूलाई पनि मरिन्छ कि जस्तो महसुस हुन्छ)’, दसैंले भने, ‘ठन्डी स टाँगहात ठैर क काज केनाई छोईर दैय (चिसोले शरीरै कठ्यांग्रिन्छ, हातखुट्टाले काम गर्न छोड्छ)।’ यस वर्ष शीतलहरबाट कसरी जोगिने भन्ने चिन्ताले उनलाई सताएको छ।

दैनिक मजदुरीबाट गुजारा चलाउने ३० घर मुसहर बस्तीमा जाडो महिना सहनै नसक्ने पीडा बोकेर आउँछ। गत साल सिरहामा चिसोले १२ जनाको ज्यान गएको थियो। जसमध्ये धेरैजसो दलित र अतिविपन्न थिए। अतिविपन्न परिवार चिसो छल्न न्यानो कपडा किन्न सक्दैनन्। दलित समुदायका मानिस घुर तापेर जिउ तताउने कोसिस गर्छन्।

गत साल लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका परमेश्वर पासवानकी पत्नीको कठयांग्रिएर ज्यान गयो। खाना खाएर परालको ओछ्यानमा सुत्न गएकी उनको कठ्यांग्रिएर मृत्यु भएको थियो।

विपन्न परिवारका मानिसलाई एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ। तीन दिनदेखि हावासँगै चलेको शीतलहरका कारण सिरहा मात्र नभई मधेसका विपन्न बस्तीमा अत्यास बढेको छ। मुटु कमाउने चिसोले श्वासप्रश्वास, दमलगायत बिरामी बढी प्रताडित भएका छन्। गत साल चिसोकै कारण पत्नी गुमाएका परमेश्वरले भने, ‘शीतलहरी हम गरिबसबके लेले काले बैन क आबै छै (शीतलहर हामी गरिबका लागि कालै बनेर आउँछ)। परिवारके सहारा छिनक लजाइछै (यसले परिवारको सहारा खोसेर लैजान्छ)। मौसम आ सरकार दुनु गरिबमारा छै (मौसम र सरकार दुवै गरिबमारा छ)। ठन्ढियो हमरा सबजकाँ गरिबेके हमरा करैछै (चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दोरहेछ। गरिब मरालो पर सरकारके कान ठार नै होइछै (गरिब मरे पनि सरकारले चासो देखाउँदैन)।’

सरकारले लगाउन र ओछ्याउन न्यानो कपडा प्रबन्ध गरिदिए चिसोले ज्यान गुमाउनु नपर्ने विपन्न परिवारका सदस्य बताउँछन्। राजदेव पासवानले भने, ‘चुनवका बेला घरघरमै सरकार आउँछ भन्थ्यो (चुनाव भएपछि गाउँघरमै सरकार आउँछ भन्थ्यो), हमसब सरकार एल महसुसे ने कर सकल छि (तर अहिलेसम्म सरकार भएको अनुभूति हामीलाई भएको छैन।

न्यानो लुगा जोड्ने आर्थिक हैसियत नभएका सुकुमबासी थरथर काम्दै घरधन्दा र मजदुरी गर्छन्। जाडो छल्न परालको आगो बाल्छन् तर परालको आगो धेरैबेर टिक्दैन, निभिहाल्छ। ‘जरना कत स लाबबै हजुर (दाउरा कहाँबाट ल्याउनु हजुर),’ दुःखी पासवानले भने, ‘खाना पकाब, बिछौना बिछाबस घुर ताप धैर लारेके सहारा छै (खाना पकाउन, सुत्नदेखि ताप्न परालकै सहारा छ।’ गिरहत (जमिनदार) को खेतमा धान काटेबापत उनीहरू पराल पाउँछन्।

विपन्नलाई घुरकै सहारा
गोलबजार–९ की जंगलीदेवी बुधबार बिहान परालको घुरमा ज्यान तताउँदै थिइन्। एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता उनले सुनाइन्। उनले भनिन्, ‘हमरा सबके जाडके सहारा घुर छै (हाम्रा लागि जाडोको सहारा नै घुर हो)।’ उनले थपिन् ‘बाँसको टाटीले घेरिएको घरमा चिसो हावा पसेर निदाउन सकिँदैन। दैनिक मजदुरी गरेर खानुपर्ने हाम्रा लागि शीतलहर काल हो।’ पराल ओछ्याएर रात काट्ने र दिउँसो घुर बालेर ताप्ने मुसहर बस्तीका सबैको दैनिकी बनेको छ अहिले।
स्थानीय सरकारलाई चासो छैन

तीन दिनदेखि शीतलहरका कारण मधेसका विपन्न परिवार छटपटाइरहेका छन्। उनीहरू स्थानीय सरकारसँग बाक्ला लगाउने र ओढ्नेओछ्याउने कपडाको याचना गरिरहेका छन्। तर, स्थानीय सरकारले न्यानो कपडा जोरजाम गर्न चासो देखाएका छैनन्। प्रदेश २ अन्तर्गतका जिल्लाका स्थानीय सरकारले डिभिजन वन कार्यालयसँग दाउराका लागि मागपत्र पठाएको जनाएका छन्। शीतलहरबाट विपन्नलाई जोगाउन वन कार्यालयसँग दाउरा मागेर बाँड्न पत्राचार गर्नेबाहेक स्थानीय तहले अहिलेसम्म केही गरेका छैनन्। लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरिराज ज्ञवालीले भने, ‘हामीले डिभिजन वनसँग दाउरा माग गरेका छौं। उताबाट दाउरा आएपछि बाँडछौं,’ उनले भने, ‘अहिलेसम्म न्यानो कपडा बाँडेका छैनौं, अब तयारीमा जुट्छौं।’
जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीका अनुसार अहिलेसम्म न्यानो कपडा र दाउरा बाड्ने कुनै तयारी छैन। उनले नागरिकसँग भने, ‘भोलि (बिहीबार) कार्यपालिकाको बैठक छ, के निर्णय हुन्छ हेरौं।’

प्रकाशित: ३ पुस २०७६ ००:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App