१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कमला र बलान पुल पूरा नहुँदा सास्ती

पप्पुलाई ठेक्काबाट हटाएर साझेदार कम्पनी एक्लैले निर्माण काम सुरु गरेपछि सप्तरी सिरहा जोड्ने बलान पुलमा काम गर्दै निर्माणकर्मीहरू। तस्बिर : मिथिलेश/नागरिक

सिरहा – २०६८ सालमै शिलान्यास भई काम सुरु भएको हुलाकी सडकअन्तर्गतको कमला र बलान नदीका पुल आठ वर्ष बित्दा पनि अधुरै छन्। ठेकेदार कम्पनीले सम्झौता अनुरूपको काम नगरे पनि रकम भुक्तानी दिई म्याद थपिरहँदा मधेसका ग्रामीण जनता भने पीडा भोग्न बाध्य छन्। २४ करोड ९१ लाख रुपैयाँमा लागतमा कमला नदीको पुल निर्माण गर्न सरकार र पप्पु लुम्बिनी जेभी कन्स्ट्रक्सनबीच २०६८ जेठ ३१ गते सम्झौता भएको थियो। दुईपटक म्याद थप्दा पनि पुल निर्माण हुन सकेको छैन। पप्पु हटाइएपछि असोज १ गतेदेखि लुम्बिनी कन्स्ट्रक्सनले पुल निर्माणको काम सुरु गरेको छ।

२४ करोड ६२ लाख ८३ हजार रुपैयाँमा बलान नदीको पुल निर्माण गर्न सरकार र शर्मा पप्पु जेभीबीच २०६८ फागुन १५ गते सम्झौता भएको थियो। उक्त पुल निर्माणले पनि आठ वर्षसम्म पूर्णता पाउन सकेन। पप्पु हटाइएपछि २०७५ चैतदेखि शर्मा एन्ड कम्पनीले काम सुरु गरेको छ। सिरहा र सप्तरीबीच द्रुत सम्पर्कको सेतुमात्र होइन बलान नदीको पुल। यो पुल निर्माणसँग सिरहा–सप्तरीबीच मात्र होइन, मधेसकै जीवनपद्धतिसमेत जोडिएको छ। सप्तरीसँग सिरहालाई जोडेर यस भेगका जनताको जीवनपद्धतिमा कायापलट ल्याउन सक्ने सेतु बलान नदीको पुल निर्माण आठ वर्षदेखि अलपत्र छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार उक्त कम्पनीले ४२ महिनामा पुल निर्माण सक्नेगरी सम्झौता गरेको थियो। दुईपटकको थप म्याद सकिँदा पनि ५० प्रतिशतभन्दा बढी काम बाँकी रहेपछि ठेक्काबाट पप्पुलाई हटाइएको योजना प्रमुख राजेन्द्र दासले बताए। ठेकेदारले बलान नदी पुल निर्माणका लागि अहिलेसम्म १५ करोड ५८ लाख भुक्तानी लिइसकेको छ। १० वर्षअघिको डिजाइनमा निर्माण सुरु भएको पुल समयमै नसकिँदा बलान नदी धार परिवर्तन गरी अझ फराकिलो बनेको छ। यसले पुल प्रयोगमा ल्याउनसमेत चुनौती थपिएको प्राविधिकको भनाइ छ। भगवानपुर गाउँपालिका–१ का वडा सदस्य श्रीप्रसाद पण्डितका अनुसार बलान नदीको पुल निर्माण सुरु भएको बेलाभन्दा अहिले नदी दोब्बर फराकिलो भइसक्यो। नदी पश्चिमतर्फ हान्निँदै गएको छ। वर्षैपिच्छे पश्चिमी किनारतर्फ कटान बढ्दो छ।

२०६८ जेठ ३१ मा ठेक्का लागेर सिरहा–धनुषा जोड्ने कमला नदीको पुल निर्माण सुरु भएपछि स्थानीय पुल बन्नेमा ढुक्क थिए। सम्झौता अनुसार २०७१ मंसिर ३१ गते निर्माण सकिनुपर्ने पुलको काम निरन्तर धकेलिँदै गएको छ। दुईपटक म्याद थपेर २०७५ मंसिर ३१ गतेसम्म समय लम्ब्याए पनि पुल अधुरै छ। ठेकेदारको लापरबाही र आयोजना कार्यालयको उादासीनताका कारण पुल पूरा हुन अझै ५० प्रतिशत काम बाँकी रहँदा ठेकेदारले १४ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ।

‘कार्यप्रगति नदेखेपछि ठेक्का किन नतोड्ने भनेर पत्र लेखेपछि लिड पार्टनरले एक्लै काम गर्ने प्रतिबद्धता जनाएको छ,’ आयोजना कार्यालय जनकपुरका प्रमुख दासले भने, ‘पप्पु कन्स्ट्रक्सनलाई निर्माण कामबाट हटाइएको छ।’ अहिले कामले गति लिएको छ। उनका अनुसार कमला पुलको काम करिब ६५ प्रतिशत र बलान पुलको काम करिब ५६ प्रतिशत सम्पन्न भइसकेको छ। ‘ठेकेदार कम्पनीले म्याद थपका लागि निवेदन दिएको छ,’ उनले भने, ‘हामीले जेठ मसान्तसम्म म्याद थप्ने प्रक्रिया अघि बढाएका छौं।’ कमला नदीको पुल चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको बन्दै छ। बलान नदीको पुल चार सय ७० मिटर लम्बाइ र ८.९ मिटर चौडाइको बन्दै छ।

पुलका लागि संघर्ष
हुलाकी राजमार्गअन्तर्गत निर्माण हुनुपर्ने पुलहरू वर्षौंसम्म ‘होल्ड’ हुँदा यसको प्रत्यक्ष मार यहाँको विकासमा परेको पुल निर्माणका लागि सिरहा, सप्तरी र धनुषामा एक महिना लामो अनशन बसेका रामरिझन यादव बताउँछन्। यादवले गत पुस १७ गतेबाट हुलाकी पुल निर्माणलाई तीव्रताका साथ अघि बढाउन अनशन गरेका थिए।
हुुलाकी राजमार्गअन्तर्गतका बलान र कमला पुुलको निर्माण सम्पन्न भए यस भेगका जनताको जीवनमा ठूलो राहत पुग्ने सिरहाका बुद्धिजीवी नवीनकुमार यादव बताउँछन्। नदीमाथि पुल निर्माण भइदिए मधेसको जीवनशैली सहज हुन्थ्यो। ग्रामीण जनताले आफ्ना उत्पादनको बजार रोज्न पाउँथे। जहाँ बढी मूल्य त्यहीं आफ्ना उत्पादन बिक्री गर्ने विकल्प पाउँथे। तर ठेकेदारको लापरबाही र सरकारको उदासीनताले मधेसको जीवनशैली कठिन हुँदै गएको यादवको भनाइ छ।

प्रकाशित: २ पुस २०७६ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App