खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमावि बाँसबोटेमा कक्षा ७ मा अध्ययनरत छात्रा ललिता मोते शनिबार बिहान दिक्तेल हाटडाँडामा साग, गुन्द्रुक र अम्बालगायत उपज बिक्री गरिरहेकी थिइन्। सोही विद्यालयकी कक्षा ८ की छात्रा करुणा मोते पनि हाटमा साथीसँगै पंक्तिबद्ध भएर प्लास्टिमा प्याक गरेको मकै, चुच्चेकरेलालगायत कृषि उत्पादन बिक्री गरिरहेकी थिइन्। हप्ताको ६ दिन विद्यालय जाने ती छात्रछात्रालाई शनिबार हटियामा कृषि उपज बिक्री गर्न भ्याइनभ्याई थियो।
सधै झोलामा पुस्तक, कापी, डटपेन च्यापेर विद्यालय पुग्ने लफ्याङका छात्रछात्रा बिहान सबेरै झोलाभरि कृषि उत्पादन लिई हटिया पुगे। स्कुले पोसाकमा सजिएका छात्रछात्रा आ–आफ्नो अगाडि भुटेको मकै, सिमी, अमलाको अचार, जरेला, ग्राउन्डएप्पल, मुला, भटमास, तितेकरेला, कागती, मास, चामल, फर्सी, सुठुनी, सुन्तला, तेजपत्ता, दूध, घिउलगायत कृषि उत्पादन राखेर ग्राहकको प्रतीक्षामा बसिरहेका देखिन्थे।
झट्ट हेर्दा लफ्याङका छात्रछात्रा सल्लाह गरेर समूहमा हाटबजार पुगेकोजस्तो देखिए पनि यसको भित्री रहस्य भने फरक छ। वडा शिक्षा समिति लफ्याङले तयार पारेको शैक्षिक पात्रोमा उल्लेख भएको शैक्षिक कार्ययोजना अनुसार उनीहरू आ–आफ्ना शिक्षकसँगै विक्रेता बनेर हाटबजार पुगेका हुन्। सो योजनामा समावेश ‘कृषि उपज बिक्री कार्यक्रम’ अनुसार लफ्याङस्थित श्रीमावि बाँसबोटे, जनचेतना आधारभूत विद्यालय, शारदा प्रावि, बालविकास प्रावि र सालपादेवी प्राविका छात्रछात्रा आफ्नो करेसाबारीमा उत्पादित कृषि उपज बिक्रीका लागि हाटबजारमा पुगेका हुन्।
सामुदायिक विद्यालयप्रतिको खस्किँदो शैक्षिक गुणस्तर तथा घट्दो आकर्षण बढाउन वडा कार्यालयले २०७५ सालदेखि जिल्लामै पहिलोपल्ट शैक्षिक कार्ययोजना तयार पारेर लागू गरेको छ। शैक्षिक कार्ययोजनामा उल्लेख कृषि उपज बिक्री कार्यक्रमअन्तर्गत गत वर्ष पनि वडाका सबै छात्रछात्रा विक्रेता बनेर बजार पुगेका थिए।
वडालाई शैक्षिक क्षेत्रमा नमुना बनाउने वडा शिक्षा समितिको शैक्षिक कार्ययोजनाअन्तर्गत विद्यार्थीलाई बजार र बिक्रीसम्बन्धी सिकाइका लागि हाट पु-याइएको श्रीमावि बाँसबोटेका प्रअ जसराज किरातीले बताए। ‘वडा शिक्षा समितिको वार्षिक कार्ययोजना अनुसार विद्यार्थी हाटबजार आएका हुन्,’ प्रअ किरातीले भने, ‘आफ्नो घरमा भएका थोकवस्तु विक्री गर्न सिकाउने यो पनि एउटा शिक्षण सिकाइ नै हो।’
सामुदायिक विद्यालयप्रतिको खस्किँदो शैक्षिक गुणस्तर तथा घट्दो आकर्षणलाई वृद्धि गराउन वडा कार्यालयले २०७५ सालदेखि जिल्लामै पहिलोपल्ट शैक्षिक कार्ययोजना तयार पारेर लागू गरेको छ। शैक्षिक कार्ययोजनामा उल्लेख कृषि उपज बिक्री कार्यक्रमअन्तर्गत गत वर्ष पनि वडाका सबै छात्रछात्रा विक्रेता बनेर बजार पुगेका थिए। गाउँबाट झोलामा किताब–कापीको सट्टा साथीभाईसँग सागसब्जी, फलफूल तथा अन्न बिक्री गर्न बजार आउँदा छात्रछात्रा उत्साहित देखिएका थिए। ‘विद्यार्थी पढ्छन् तर रोजगारको ग्यारेन्टी छैन। सीपमूलक काम केही जानेको हुन्न,’ शिक्षा समितिका संयोजक एवं वडाध्यक्ष निर्मल राईले भने, ‘शिक्षालाई जीवनोपयोगी सीपसँग जोड्नुपर्छ। पढेर गरिखाने बनाउनु पर्छ। पैसा बोकेर किन्न जाने तर बेच्न लजाउने प्रवृत्ति हटाउनु पर्छ भनेर सिकाउने प्रयास गरिएको हो।’
वर्तमान शिक्षण पद्धति सैद्धान्तिक बढी तर व्यावहारिक कम भइरहेको अवस्थामा वडा शिक्षा समिति र व्यवस्थापन समितिको सहकार्यमा वडामा ‘प्राक्टिकल’ शैक्षिक कार्यायोजना कार्यान्वयनमा ल्याइएको हो। अधिकांश विद्यालय छात्रछात्रालाई ‘प्रमाणपत्र दिने तर जीवनोपयोगी सीप नदिने’ अवस्थाबाट गुज्रिरहेका कारण वडामा प्राक्टिकल शिक्षाको अभ्यास गरिएको व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र राईले बताए। ‘यो पनि एक किसिमको कक्षा हो।
एउटा पढाइ नै हो,’ व्यवस्थापन समितिका अध्यक्ष राईले भने, ‘हाम्रो शिक्षा विद्यार्थीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने खालको हुनुपर्छ भन्ने महसुस गरेर यस्तो शैक्षिक अभ्यास गरिएको हो।’ यसै क्रममा ‘कृषि उपज बिक्री कार्यक्रम’ हेर्न पुगेका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायलाई लफ्याङका शिक्षक तथा विद्यार्थीले माला लगाएर सम्मान गरेका थिए।
प्रकाशित: २७ मंसिर २०७६ ०२:०६ शुक्रबार