५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जलवायु परिवर्तन महासन्धि सम्मेलन मेड्रिडमा सुरु

काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २५औं सम्मेलन सोमबारदेखि स्पेनको राजधानी मेड्रिडमा सुरु भएको छ। १२ दिनसम्म चल्ने यो अन्तर्राष्ट्रिय सम्मेलनमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको नेतृत्वमा ११ सदस्यीय टोली सहभागी हुँदैछ।

उक्त टोलीमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल र परराष्ट्र मन्त्रालयका सहसचिव कुमारराज खरेल, रेड कार्यान्वयन केन्द्रका प्रमुख डा. बुद्धिसागर पौडेल लगायतका सरकारी अधिकारीको प्रतिनिधित्व छ।

सम्मेलनमा नेपालका वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाका २२ प्रतिनिधि सहभागी छन्। सम्मेलनमा विश्वका २ सय देशका २५ हजार प्रतिनिधि सहभागी छन्।

सोमबारको उद्घाटन सत्रमा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी नियोग अर्थात् आइपिसिसी अध्यक्ष होसङ लीले हरितगृह ग्यास उत्सर्जन बढ्ने क्रम जारी रहेको सन्दर्भमा आइपिसिसीले तयार गरेका उत्सर्जन न्यून गर्ने सम्बन्धी ३ वटा प्रतिवेदनको आधारमा थप काम गर्नु पर्ने बताएको वन मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले बताए।

सम्मेलन आयोजनामा महत्वपूर्ण भूमिका खेलेको राष्ट्र चिलीका राष्ट्रपति सेवास्टियन पिनेराले आफ्नो भिडियो सन्देशमा पेरिस सम्झौतालाई आधार मान्दै छिटो जलवायु परिवर्तनका कार्यक्रम कार्यान्वयनमा जोड दिनु पर्ने बताए। सम्मेलन सुरुमा ब्राजिल र त्यसपछि चिलीमा आयोजना गर्ने तयारी गरिएको थियो। दुवै देशको आन्तरिक कारणले सम्मेलनको आयोजना गर्न नसक्ने भएपछि गत महिना मात्रै सम्मेलन स्पेनको राजधानी मेड्रिडमा सारिएको थियो।

सम्मेलन उद्घाटनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेज जलवायु परिवर्तनको क्षेत्रमा आमुल परिवर्तन हुने गरी काम गर्नु पर्ने बताए। उनले विकासशील देशको अनुकूलन क्षमता अभिवृद्धि हुने गरी आर्थिक सहयोगको जोहो गर्नु पर्ने तथा कार्बनको व्यापारमा निजी क्षेत्रले पनि लाभ पाउने र सबैले संयुक्तरूपमा काम गर्न सक्ने गरी छलफल अगाडि बढाउन अनुरोध गरे।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजल हिजो औद्योगिकीकरणमा जसरी युरोपले नेतृत्वदायी भूमिका खेलेको थियो, त्यसरी नै कार्बन न्यूनीकरण अर्थात डिकार्बनाईजेसनमा पनि युरोपले नेतृत्वदायी भूमिका खेल्नु पर्ने कुरामा जोड दिएका थिए।

सम्मेलनको क्रममा विभिन्न राष्ट्रले जलवायु परिवर्तनका क्षेत्रमा आफ्ना देशले गरेका राम्रा कामको प्रचारप्रसारका लागि पेभिलियन र समानान्तर सत्रको आयोजना गर्नेछन्। यसले नेटवर्क विकास, क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा महŒवपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। सम्मेलनको समानान्तर सत्रमा नेपालले डिसेम्बर ७ र डिसेम्बर ११ मा जलवायु परिवर्तन तथा पहाड र मानवताको भविश्य विषयका कार्यक्रम आयोजना गर्न लागेको सहसचिव ढकालले जानकारी दिए।

नेपालले हिमालसँग सम्बन्धित मुद्दामा भुटान र अरु हिमाली देशसँग मिलेर जाने रणनीति लिएको पनि उनले बताए।

प्रकाशित: १८ मंसिर २०७६ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App