१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पश्चिममा सडक दुर्घटनाको उच्च जोखिम

रुकुम पूर्वको भुमे गाउँपालिका–३ जिपखोलामा दुर्घटना भएको जिप। तस्बिर : नागरिक

नेपालगन्ज – शुक्रबार पश्चिम नेपालका विभिन्न ठाउँमा भएका दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। पाँच नम्बर प्रदेश र कर्णाली प्रदेशका विभिन्न ठाउँमा सडक दुर्घटना भएका थिए। पाँच नम्बर प्रदेशको हिमाली जिल्ला रुकुम पूर्व र कर्णाली प्रदेशको दैलखमा सडक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

सुर्खेतदेखि दैलेखतर्फ जाँदै गरेको भे१ज १०२९ नम्बरको फोर्स गाडी दैलेखको गुराँसे गाउँपालिका–४, मुग्रामा दुर्घटना हुँदा तीनजनाको घटनास्थमै मृत्यु भएको छ। सो दुर्घटनामा १५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख ओमप्रकाश कुर्मीले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी का ५७ वर्षीय थिरबहादुर सुनार, मधुवन नगरपालिका–६ सानोश्री का २९ वर्षीय नामबहादुर बडुवाल र उनको श्रीमती कमला बडुवाल रहेका छन्।

गाडी सडकभन्दा करिब एक सय ५० मिटर तल खसेको बताइएको छ। घाइते सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। दैलेखमा सवारीसाधनका लागि टाइम कार्ड लागू भए पनि त्यो प्रभावकारी हुन नसक्दा दुर्घटना बढ्ने गरेको स्थानीयको भनाइ छ। तीव्र गतिका कारण दुर्घटना बढ्दै गएको प्रहरीको भनाइ छ। बुधबार राति मात्रै हुम्लामा ट्रिपर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए।

रुकुम पूर्वमा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट रुकुम पूर्वको तकसेरा जाँदै गरेको रा१ज नम्बरको जीप मध्यपहाडी लोकमार्ग अन्तर्गतरुकुम पूर्वको भुमे गाउँपालिका–३ जिपखोलामा दुर्घटना हुँदा सोही गाउँपालिका–२ खावाङ्ग बगरका तीन वर्षीय मिनिश पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार तीनजना पुरुष र ६ जना महिला गरेर नौजना घाइते भएका छन्। घाइतेमध्ये रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२ का लोकेन्द्र बुढा, पूर्णसिंह पुन, लक्ष्मी पुन र भुमे गाउँपालिका–२ की कुमारी पुनको अवस्था गम्भीर रहेको डिएसपी खड्काले बताए। घाइते सबैको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ। दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सडकमा घुम्ती (मोड) साना हुनु, चिप्लो तथा साँघुरो सडक, तीव्र गतिमा गाडी चलाउँदा बढी दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ। दुर्घटनाको मुख्य कारण चालक नै हुने गरे पनि त्यसको न्यूनीकरणका लागि सम्बन्धित निकायले खासै काम नगरेको सर्वसाधारणको भनाइ छ। पहाडी जिल्लामा मापदण्ड नपुगेका सडकमा पनि गाडी सञ्चालन अनुमतिबिना नै गाडी कुदाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ।

प्रकाशित: १४ मंसिर २०७६ ०२:०९ शनिबार

दुर्घटना जोखिम