२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

‘सीमा बचाऔं संयुक्त सांस्कृतिक अभियान’

काठमाडौं – भारतले एकपक्षीय रुपमा जारी गरेको नक्साले नेपालको सार्वभौमतामाथि प्रहार गरेको भन्दै विभिन्न राजनीतिक दलमा आबद्ध सांस्कृतिक संगठनले ‘सीमा बचाऔं संयुक्त सांस्कृतिक अभियान’ थालेका छन्।

अभियानले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी मुलुकको अखण्डता र राष्ट्रिय स्वाधीनताका विषयमा सबै कलाकार एकताबद्ध रहेको जनाएको छ।

अभियानका संयोजक एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य खगेन्द्र राईले नेपाली जनताको सार्वभौम अधिकार रक्षाका लागि देश विदेशमा रहेका सबै संस्कृतिकर्मीलाई अभियानमा सामेल हुन आग्रह गरेका छन्। नेपालका ६० भन्दा बढी स्थानमा भारतसँग सीमा समस्या रहेकाले त्यसको समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताए। उनले भने, ‘दुवै देशका जनताबीच सदियौं पुरानो सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेकाले सीमा विवादका विषयमा हामीले भारतका कलाकारसँग संवाद गरेका छौं।’

अभियानअन्तर्गत सरकार र सबै राजनीतिक दललाई सीमा समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने र आगामी दिनमा साहित्य, नाटक र गीतलगायत माध्यमबाट जनमत सिर्जना गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

समाजवादी सांस्कृतिक महासंघ अध्यक्ष घनराज सुब्बाले सांस्कृतिक अभियानमार्फत् जनतालाई सचेत गराउने र लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका अतिक्रमित नेपाली भूमिबारे थप जानकारी दिने बताए।

अभियानमा जनसांस्कृतिक महासंघ नेपाल, नेपाल सांस्कृतिक संघ, रक्तिम सांस्कृतिक अभियान र समाजवादी सांस्कृतिक महासंघ आवद्ध छन्।

प्रकाशित: ९ मंसिर २०७६ ०३:५३ सोमबार

सीमा_बचाऔं सांस्कृतिक_अभियान