१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सापटी लिएको रकम फिर्ता नगर्दा हत्या

जिल्ला प्रहरी कार्यालय सिरहाले सोमबार सार्वजनिक गरेका झाँक्री हत्याका आरोपितहरु । तस्बिरः मिथिलेश/नागरिक

सिरहा– सापटी लिएको रकम फिर्ता नगर्दा एक जना भारतीय झार्कीको हत्या भएको घटना सार्वजनिक भएको छ। धामीझाँक्रीको काम गर्दै आएका भारतीय नागरिक हत्याको एकसाता पछि सोमबार सिरहा प्रहरीले पाँच आरोपीलाई सार्वजनिक गरेको छ।

मधेसको दूरदेहातमा झारफुकको (धामीझाँक्री) काम गर्दै आएका भारत विहार राज्यको मधुवनी जिल्ला ललमनिया थाना बेल्हा ग्रामपञ्चायत–६ निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्या भएको थियो। यादवको शव कातिक २१ गत्ते विहान ८ बजे सिरहा नगरपालिका–१२ सारस्वरस्थित कमला नदीको छेउमा कात्तिक २१ गते फेला परेको थियो।

घटना भएको ११ दिनपछि सिरहा प्रहरीले झाँक्री यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहाको कर्जन्हा नगरपालिका–२ बडहरामाल घर भई हाल धनगढीमाई नगरपालिका–१० निवासी ३८ वर्षीय फुलगेन साह, उनको भतिज नाता पर्ने मिर्चैया नगरपालिका–४ निवासी जितेन साह, धनगढीमाई नगरपालिका–११ निवासी १९ वर्षीय रामकुमार साह, धनुषाको कमलामाई नगरपालिका–६ सखुवामडान निवासी २५ वर्षीय अजय कुमार महतो र सोही ठाउँ नवासी २१ वर्षीय राजलाल महतोलाई पक्राउपछि सार्वजनिक गरिएको हो।

झाँक्रीको काम गर्दै आएका यादव सीमावर्ती मधेसका गाउँ आउजाउ गरिरहन्थे। सोही क्रममा उनको भेंट फुलगेन साहसँग भयो । चिनजानपछि उनीहरु घनिष्ठ भए। सोही क्रममा फुलगेनले  झाँक्री यादवलाई केही रकम सापटी दिएका थिए। झाँक्री यादवले सो रकम आफ्नी छोरीको बिवाहमा खर्चेको प्रहरी वयानबाट खुलेको छ। 

झाँक्री यादवले फुलगेनकै माध्यमबाट कमला नगरपालिका ६ का अजयकुमार महतो र धनगढीमाई नगरपालिका ११ का रामुकमार साहसँग पनि भूत भगाउने नाममा रकम लिएका थिए। भूत भगाउने नाममा झारफूक गरेपनि उनीहरुको परिवार सदस्यलाई विरामी सन्चो नभएपछि सापटी रकमका लागि झाँक्रीलाई फुलगेनले ताकेता गर्न थाले।

भूतप्रेत भगाउन झारफुक गरी निको पारिदिन्छु भनेर रकम ठगेर भागेको भन्दै झाँक्री यादवलाई फोनबाट ताकेता गर्दै विरामी निको हुनुको साटो झन् समस्या बढाइदिएकोे गुनासो फुलगेनले गर्दै आएका थिए।

झाँक्रीले फुलगेनसँग लिएको रकम फिर्ता माग्दा उल्टै झाँक्री यादवले फुलगेनलाई ज्यान मार्ने धम्की दिएको वयानबाट खुलेको छ। झाँक्रीको धम्कीपछि फुलगेनसहितका व्यतिmहरुले झाँक्रीको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। झाँक्री यादवलाई कातिक २० गत्ते फोनमार्फत घटनास्थल कमलानदीको पूर्वी किनारमा बेलाएर पाँचैजनाले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनको शरिरको विभिन्न भागमा खुकुरी प्रहार गरी निर्मम हत्या गरिएको थियो। सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीका अनुसार पाँच जना मिलेर झाँक्रीको हत्यालाई अन्जाम दिएको हो। अहिलेसम्मको प्रहरी अनुसन्धानबाट हत्याको कारण लेनदेन भएको खुलेको एसपी चतुर्वेदीले बताए। पक्राउ परेका पाँचैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: २ मंसिर २०७६ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App