१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विषादी परीक्षणको बेथिति

फाइल तस्बिर

रुपन्देही - भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषादी परीक्षण केवल औपचारिकतामा सीमित देखिएको छ। रुपन्देहीको बेलहिया नाकाबाट भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गरिएपनि त्यो औपचारिकताका लागि मात्रै हुने गरेको छ। भारतबाट आयात हुने तरकारी तथा फलफूलको नमूना तथा भन्सार कार्यालयको पत्र बोकेर एजेन्ट (विचौलिया) हरु बुटवल स्थित विषादी अवशेष दु्रत विश्लेषण इकाई बुटवल आउछन्।

सरकारले गत असार ३ गतेदेखि भारत सहित तेस्रोाट आयात गरिने तरकारी तथा फलफूलको नाकामै विषादी परीक्षण गर्ने प्रवाधान लागू गरेको थियो। तर पछि भारतको निर्देशनमा सरकारले विषादी परीक्षण रोक्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतले विषादी परीक्षण गर्न आदेश गरेपछि शुरु भएको विषादी परीक्षणले ४ महिना पुग्दासम्म कुनै नतिजा भने दिन सकेको छैन। बरु सरकारी कर्मचारीले विषादीका नाममा फाइदा लुटेका छन्।

नाकाबाट ट्रकका ट्रक फलफूल र तरकारी ल्याइन्छ। त्यसमध्येबाट छानेर लगिएका बस्तुको परीक्षण गर्नुलाई प्रक्रियाका लागि भनेर उपभोक्ताको आखाँ छल्ने काम भएको छ। असारको दोस्रो सातादेखि भारतबाट आयात भएका फलफूल र तरकारीको विषादी अवशेष परीक्षण गरिएपनि अहिलेसम्म कुनैमा पनि हानिकारक विषादी भेटिएको भनेर रिपोर्ट नै आएको छैन। शुरुमा तीन ट्रक आलुमा विषादी अधिक भएको भनेर रिपोर्ट आएपनि ४ दिनपछि पुनःपरीक्षण गरेपछि भन्सार पास गर्ने गरि विषादी परीक्षणको रिपोर्ट बसरकारले नाकामै विषादी परीक्षण गर्ने भनेपनि रुपन्देहीको बेलहिया नाकाबाट भित्रिने फलफूल, तरकारीको भने ३० किलोमिटर उत्तर बुटवल ल्याएर परीक्षण हुँदै आएको छ।

बुटवल स्थित विषादी अवशेष दु्रत विश्लेषण इकाईमा दैनिक ७० देखि २ सय ५० वटासम्म बस्तुको विषादी परीक्षण हुने गरेको छ। ‘हामीले अहिलेसम्म कुनै पनि तरकारी र फलफूल नष्ट गर्नु पर्ने विषादी भेट्टाएका छैनौं’ कार्यालयका प्राविधिक सहायक नरदेश प्रभाकरले भने। उनका अनुसार विषादी नै भेटिएपनि केहि दिनपछि भने स्वतः रुपमा विषादी घट्दै जान्छ। दूरीका हिसाबले समेत बेलहिया नाकाबाट बुटवलसम्म ल्याउँदा कतिपय विषादीको मात्रा घटेको देखाउने उनले बताए।

भन्सार कार्यालयले भारतबाट आयात भएका तरकारी र फलफूलको विषादी परीक्षण गर्न पत्र लेखेपछि मात्रै आफूहरुले परीक्षण गरेर रिपोर्ट पठाउने गरेको उनले बताए। असोजमा मात्रै बेलहिया नाकाबाट आएका २ हजार ९ सय ८७ वटाको विषादी परीक्षण गरिएको हो। यस्तै कार्तिकमा १५ सय ५५ वटा बस्तुको विषादी परीक्षण भएको छ। तर यति धेरै बस्तुको विषादी परीक्षण गर्दा पनि कुनैमा पनि विषादी नरहेको भन्दै रिपोर्ट भन्सार र प्लान्ट क्वारेन्टाइनमा पुगेको छ।

‘विचौलियाले जम्मा गरेर ल्याउने नमुना तरकारी र फलफूलमा गरिने विषादी परीक्षणको कुनै अर्थ छैन’ उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्बु लामाले भने –‘परीक्षण पनि छानेर लगेका सामानको गर्नुले उपभोक्ताको स्वास्थ्य प्राथमिकतामा नपरेको प्रष्ट हुन्छ।’ अहिले सरकारले भारतबाट आयात गरिने विषादीको परीक्षणलाई उपभोक्ताको तर्फबाट आधिकारिक मान्न नसकिने तथा नाकामै ट्रकका ट्रक आएका तरकारी र फलफूलको अकस्मात विषादी परीक्षण गरेमा मात्रै त्यसको आधिकारिकता हुने अन्यथा कागज बनाउनका लागि गरिएको झन्झटिलो खेल मात्रै हुने अध्यक्ष लामाले बताए।

सरकारले गुणस्तरीय र स्वास्थकर तरकारी र फलफूलको आयात गरेर नागरिकको स्वास्थ्य प्रबद्र्धन गर्न खोजेपनि यो केवल आँखा छल्नका लागि गरेको जस्तै देखिएको छ। व्यापारी स्वयंले नमूना लिएर विषादी परीक्षण गर्नुपर्नेमा एउटै ऐजेन्टले भएभरका सामानहरुको नमूना ल्याएर परीक्षण गर्ने गरिएको छ।

अहिले रुपन्देहीको नाकाबाट भित्रिने तरकारी र फलफूलको दुई खालको मात्रै विषादी हेर्ने गरिएको छ। अर्गानो फस्टेट र कार्बामेट नामको विषादी मात्रै हेरिएको छ। यति दुई वटा हेरेर मात्रै पूर्ण विषादी परीक्षण हुन नसक्ने प्लान्ट क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख विष्णु प्रसाद काफ्लेले बताए। उनले नाकामै विषादी परीक्षण गर्नुपर्ने भएपनि उपकरण र जनशक्ति समेत नभएकाले बुटवलमा गर्नुपरेको दुखेसो पोख्दै भने ‘विषादी परीक्षण गरिएको छ, तर विषादी भेटिएको रिपोर्ट आएको छैन।’ बुटवल कृषि उपज थोक बजार केन्द्र भित्रका तरकारीको विषादी परीक्षण गर्ने भनेर प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो। अहिले नाकाका तरकारी, फलफूलको विषादी परीक्षण गर्न थालेपछि उपजका तरकारी र फलफूलको भने विषादी परीक्षण नै भएको छैन।

एकातिर विषादी परीक्षण औपचारिकताका लागि गरिएको छ भने अर्कोतर्फ खुल्ला सीमाका कारण विनाभन्सार समेत तरकारी र फलफूलको आयात भइरहेको छ। यसले विषादी परीक्षणका नाममा चलखेल गर्ने र व्यापारीलाई थप दुःख दिने काम मात्रै भएको व्यावसायी केशव कुवँर बताउछन्। उनले विषादी परीक्षण सरकारी कार्यालय समयमा हुने हुँदा व्यावसायीलाई मर्का परेको बताए। नेपालमा फलफूल र तरकारीका लागि भारत नै निर्भर हुनुपरेकाले विषादी परीक्षण प्रभावकारी नभएको बताए। विशेष गरि भारतबाट तरकारीमा आलु, टमाटर, काउली, लौका, घिरौला, खुर्सानी, लसुन, प्याज अत्यधिक आयात हुन्छ। यसैगरि फलफूलमा स्याउ, केरा, आँप, सुन्तला, कागती आयात हुने गरेको छ।

झन बढ्यो आयात

सरकारले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षणले आयात घटाउने लक्ष्य समेत राखेको थियो। तर, बेलहिया भन्सारबाट भने आयात रोकिएको देखिदैन। भदौ, असोज र कात्तिक महिनाको तथ्यांकलाई मात्रै केलाउँदा पनि आयात बढ्दो छ।

गत वर्ष यहि महिनामा १ अर्ब ६५ करोड ६७ लाखको तरकारी आयात भएको थियो। यो वर्षको तीन महिनामा भने १ अर्ब ७७ करोड ७८ लाख रूपैयाँ बराबरको तरकारी आयात भएको भन्सार कार्यालय भैरहवाका सूचना अधिकारी कलिराम पौडेलले बताए।

यसैगरि फलफूलको आयात त झन्डै दोब्बरले बृद्धि भएको देखिएको छ। गत वर्ष तीन महिनामा १ करोड ६८ लाख बराबरको फलफूल आयात भएकोमा यो वर्ष भने १ अर्ब ६८ करोडको फलफूल आयात भएको छ। दैनिक करोडौका फलफूल र तरकारी भित्रिने बेलहिया भन्सारमा विषादी परीक्षणले कुनै पनि प्रभाव नपारेको तथा अहिलेसम्म विषादी परीक्षण गरेपछि सामान रोक्नुपरेको वा नष्ट नै गर्नुपर्ने गरि रिपोर्ट समेत नआएको पौडेलले बताए।

प्रकाशित: २८ कार्तिक २०७६ ०१:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App