१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सडक लगानीमा सन्तुष्ट छैनन् जनप्रतिनिधि

नुवाकोट – सडक बनेपछि गाउँमा विकास हुन्छ भन्ने आमसर्वसाधारणको बुझाइ छ। आफ्नो गाउँमा सडक बनाउन सर्वसाधारण दौडधुप गर्छन्। वडा, गाउँपालिका, प्रदेश हुँदै संघीय तहका जनप्रतिनिधिसम्म योजना पारिदिन आग्रह गर्छन्।

नागरिकको मागलाई मध्यनजर गर्दै बजेट छुट्टाइन्छ। तर, कार्यान्वयनमा गुणात्मकभन्दा परिणात्मकमा ध्यान जान्छ उपभोक्ता समूहदेखि ठेकेदार पक्षसम्मको। कमजोर निर्माणले सडकमा वर्षेनी क्षति पुगिरहन्छ र मर्मतको लागि भनेर वर्षेनी बजेट छुट्टाइरहनु पर्छ। यो प्रक्रिया बारम्बार दोहोरिरहने तर प्रतिफल शून्य भएको भन्दै सडकमा गरिएको लगानीमा नुवाकोटका जनप्रतिनिधिमा सन्तुष्टि पाइएको छैन।

ऐतिहासिक नुवाकोट जन, जंगल र जलाधार, कृषि पर्यटन पूर्वाधार विकास समृद्धिको आधार भन्ने नारासहित तेस्रो जिल्ला सभा सम्पन्न भयो। जिल्ला सभा सुरु हुनुअघि जिल्लाको १२ वटै स्थानीय तहलगायत भौतिक पूर्वाधार विकास कार्यालय, जलस्रोत तथा सिचाइँ डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र र जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेको योजना साथै प्रगति विवरण पेश गरेको थियो।

प्रत्येक स्थानीय तह र सरकारी कार्यालयको प्रगति विवरण सुनेका नुवाकोट क्षेत्र नम्बर १ का संघीय सांसद हितबहादुर तामाङले जिल्ला सभालाई सम्बोधन गर्दै विकास निर्माणको अन्य क्षेत्रले भन्दा सडकको पिरलो वर्षौदेखि उत्तिकै रहेकोे दुखेसो पोखे। ‘नागरिक सुगम ठाउँमा बसेर सहज तरिकाले जीवन जिउन चाहान्छन्। आफ्नो ठाउँ विकासको मेरुदण्डको रूपमा सडक सञ्जाललाई रोज्छन्। योजना माग्छन् जनप्रतिनिधिसँग। बजेट दियो, काम कस्तो गर्छन् भन्ने पिर नदियो फलानो नेताले पनि जनताको मन जित्न सकेन भन्छन् भन्ने पिर,’ तामाङले भने, ‘सडक कसले कति लम्बाउने भन्नेमा ध्यान जान्छ। बाह्रै महिना सवारी साधन चल्न सक्ने सडक बनाउने भन्नेमा कसैको ध्यान जाँदैन। सडकमा गरिएको लगानी वर्षातको पानीसँगै बगिरहेको छ। अब हामीले विकास निर्माणलाई अघि बढाउँदा मात्रात्मकलाई होइन, गुणात्मकलाई ध्यान दिनु आवश्यक छ।’

जिल्ला सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर २ का सांसद् नारायणप्रसाद खतिवडाले गतिलो सडक निर्माण गर्न सक्दा गाउँगाउँका नागरिकले सास्ती भोग्नुपरेको बताए। ‘सडक सञ्जाल ८८ वटै वडामा पुगेको छ। तर, सडकलाई व्यवस्थापन गर्न सकिरहेका छैनौँ। प्रत्येक गामीण सडकलाई पक्की र व्यवस्थापन गरी बाह्रै महिना सवारी साधन सञ्चालन गराउनु पर्छ,’ खतिवडाले भने, ‘सडककै कारण अन्य क्रियाकलाप गर्न बाधा पुग्नुभएन। एउटै सडकलाई पटकपटक प्राथमिकता दिँदा अन्य विकास निर्माणका क्षेत्र पछाडि पर्न सक्छन्। त्यतातिर ध्यान जान आवश्यक छ हामी जनप्रतिनिधिको। होइन भने वर्षेनी सडककै कारण सर्वसाधारणको गाली खानुबाहेक अरु विकल्प छैन।’  

राजधानीबाट नुवाकोट भित्रिने ३ वटै नाका कमजोर भएका कारण हिउँद–बर्खा दुवै समयमा आनन्दले यात्रा गर्ने वातावरण छैन। घाम लाग्दा धुलो र पानी पर्दा हिलो हरेक यात्रामा खेप्नु पर्ने प्रदेश सांसद् बद्री मैनालीले बताए। ‘राजधानीको नजिक जिल्ला नुवाकोट। त्रिदेशीय राजमार्गको मुख्य केन्द्रविन्दु नुवाकोट। तर, राजधानी भित्रिने नुवाकोटको सडक लाजमर्दो अवस्थामा छ। टोखा छहरे सडक खण्ड, पासाङ ल्हामु राजमार्गको अवस्था कहिले सुध्रने चिन्ता छ। गल्छी–त्रिशुली सडकखण्ड विविध अवरोधबीच स्तरोन्नति भइरहेको छ। यसैले हाम्रो लाज पनि ढाकिरहेको छ,’ मैनालीले भने, ‘सडकको योजना कार्यान्वयन गर्ने निकायले टेर्दैन। समन्वयको अभाव छ। निर्माण कहिले सकिने हो पत्तो छैन।’
जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै जिल्लाको समग्र विकासको लागि संघ, प्रदेश, स्थानीय गरी तीनै तहको सरकार र सरकारी निकायसँग समन्वयको भूमिकामा केही कमजोरी नगर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २७ कार्तिक २०७६ ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App