४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सिन्धुलीगढीमा २५२औं विजयोत्सव

ऐतिहासिक सिन्धुलीगढीस्थित ठूलो गढीमा झन्डा फहराउँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल। तस्बिर : अनिल/नागरिक

सिन्धुली – ऐतिहासिक स्थल सिन्धुलीगढीमा युद्ध संग्रहालय बन्ने भएको छ। आइतबार सिन्धुलीगढी परिसरमा आयोजित २५२औं विजयोत्सव समारोहका बीच उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संग्रहालयको शिलान्यास गरे। नेपाली सेनाले निर्माण गर्ने संग्रहालय निर्माणका लागि करिब साढे चार करोड बजेट र नौ महिना समय लाग्ने जनाइएको छ।

इस्ट इन्डिया कम्पनीका सेनालाई पराजित गरिएको ऐतिहासिक किल्लाका रूपमा सिन्धुलीगढी परिचित रहेको र त्यसको संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले युद्ध संग्रहालयले त्यसको महत्व बढाउने विश्वास व्यक्त गरे। ‘नेपालीले गौरवका साथ इतिहासको वास्तविकता बुझ्न संग्रहालयले मद्दत गर्नेछ,’ उनले भने, ‘सिन्धुलीगढीमा युद्ध संग्रहालय मात्रै होइन, ऐतिहासिक दरबार पनि छिट्टै बन्नेछ।’ उनले सिन्धुलीगढीको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे। सोही अवसरमा उनले सिन्धुलीगढीस्थित ठूलो गढीमा नेपालको राष्ट्रिय झन्डासमेत फहराए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले नौ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी नेपाली सेनाले युद्ध संग्रहालय निर्माण थालेको जानकारी दिए। उनले संग्रहालयमा नेपालको रक्षा गर्न वीर पुर्खाहरूले प्रयोग गरेका सम्पूर्ण सामग्री रहने बताए। ‘इतिहासको जगेर्ना गर्दै युवापुस्तालाई इतिहासको महत्व बुझाउन सिन्धुलीगढी र यहाँ बन्ने युद्ध संग्रहालयले महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने, ‘सिन्धुलीगढीको गुरुयोजना बनाउने काममा समेत सेनाको सहकार्य छ।’ सिन्धुलीगढीमा आवश्यकताअनुसार नै संग्रहालय बनाउने निर्णय भई काम थालिएको उनले जनाए।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले २०६७ सालदेखि प्रत्येक वर्ष कात्तिक २४ गते सिन्धुलीगढी विजयोत्सव मनाउने परम्परा बसाएको थियो।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले २०६७ सालदेखि प्रत्येक वर्ष कात्तिक २४ गते सिन्धुलीगढी विजयोत्सव मनाउने परम्परा बसाएको थियो। तर स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भएसँगै दुई वर्षदेखि कमलामाई नगरपालिकाले उक्त परम्परालाई निरन्तरता दिँदै आएको छ। नेपाल एकीकरणका बेला आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई कात्तिक २४ तगे हराएर नेपाली फौज ऐतिहासिक विरासत निर्माण गरेकाले सिन्धुलीगढीमा विजयोत्सव मनाउन थालिएको हो। विगतमा कात्तिक २४ गते एक दिन मात्रै मनाइँदै आएको विजयोत्सव यो वर्ष भने तीन दिन मनाइएको थियो। कात्तिक २२ र २३ गते सिन्धुलीगढीमा नेपाली सेनाले कला प्रदर्शनी गरेको थियो भने आइतबार सिन्धुलीगढी परिसरमै भव्य कार्यक्रमको आयोजना गरी सिन्धुलीगढी विजयोत्सव मनाइएको हो।

नेपाल एकीकरण अभियानमा १८२४ असोज १५ गते सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई वंशु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको इतिहास छ। सोही खुसीयालीमा सिन्धुलीगढीलाई पर्यटकीय क्षेत्र बनाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउन बर्सेनि सिन्धुलीगढी विजयोत्सव मनाइँदै आएको छ।

सिन्धुलीगढीका अनुसन्धाता तथा खोजकर्ताहरूका अनुसार हाम्रा वीर पुर्खाहरूको अदम्य साहस र वीरताका कारण नेपाल राष्ट्रको अस्तित्व राख्ने स्थान सिन्धुलीगढी नै हो। १८२४ कात्तिक २४ गते इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको दुई हजार चार सय अंग्रेज सेनाको फौजलाई राजा पृथ्वीनारायण शाहको फौजका तर्फबाट वंशु गुरुङको नेतृत्वको नेपाली फौज सिन्धुलीगढीबाट पराजित गरी भगाएको बताइन्छ। त्यतिबेला झन्डै एक हजार ६ सय अंग्रेज सेना हताहत भएको खोजकर्ताहरू बताउँछन्। उनीहरूका अनुसार अंग्रेजविरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरूको पहिलो पराजय पनि यही सिन्धुलीगढीमै भएको थियो। १३६७ सालमा सिम्रौनगढका सेनाहरू (डोयहरू) ले काठमाडौंमा व्यापक लुटपाट गरी बनेपा हुँदै फर्किंदा सिन्धुलीगढीको बाटो भएर विदेह राज्य (जनकपुर–सीतामढी) फर्किएका थिए भन्ने ऐतिहासिक प्रमाण पनि भेटिएको खोजकर्ताहरूको दाबी छ।

प्रकाशित: २५ कार्तिक २०७६ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App