९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

चिया खेती विस्तारका लागि नर्सरी उत्पादन सुरु

खिदिमामा लगाइएको चियाको नर्सरी । तस्बिरः नागरिक

खोटाङ- खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा चिया खेती विस्तारका लागि बेर्ना उत्पादन सुरु गरिएको छ। कृषि पर्यटनको विकास गर्ने निती तथा कार्यक्रम कार्यन्वयनमा लागेको गाउँपालिकाले लेकाली क्षेत्रका खाली र नाङ्गो डाँडामा व्यवसायीकरुपमा चियाखेती विस्तार गर्नका लागि नर्सरी उत्पादन सुरु गरेको हो। 

गाउँपालिकाको २ लाख र थामडाँडा–टेम्के–सिलिचुङ (टिटिएस) कृषि सहकारी संस्था भोजपुरको ३ लाख ४५ हजार सहयोगमा स्थानीय काल्छिङ खोला चिया उत्पादक कृषि समुहले ३० प्रतिशत श्रमदानमा बेर्ना उत्पादन सुरु गरेको हो। पहिलो चरणमा कृषि समुहले गत भदौमा १ लाख ५ हजार बोट बेर्ना हालेको गाउँपालिकाका कृषि शाखा संयोजक गणेश राईले बताए। हाल कृषि समुहले नै चियाको बेर्ना हेरचाहको काम गरिरहेको छ।

गाउँपालिकाको टेम्केडाँडा, तावाभञ्ज्याङ, डम्बरेटार, भुस्याहाडाँडा, सेल्मे लगायतका सम्भावित खाली जग्गामा चिया खेतीको राम्रो सम्भावना देखिएकाले चिया खेती बिस्तारको काम थालिएको हो। काल्छिङ खोला चिया उत्पादक कृषि समुहले चियाको बेर्ना उत्पादनका लागि ५० वर्षका लागि ५० रोपनी जग्गा भाडामा लिएको छ। कृषि समुहले क्रमशः क्रमागतरुपमा चियाको नर्सरी उत्पादनको मात्रा पनि बृद्धि गर्दै जाने जनाएको छ। हाल लगाइएको बेर्ना वर्ष दिनदेखि १८ महिनासम्ममा रोप्नका लागि योग्य हुने र तोकिएको क्षेत्रमा लगेर रोप्न थालिने गाउँपालिकाले जनाएको छ। 

चियाको बेर्ना परिपक्व भएपछि कृषि समुहमा आवद्ध किसानले आ–आफ्नो खाली र नाङ्गो जग्गामा लगेर चिया लगाउन सुरु गर्ने गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए।

चिया बगानका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै कन्यामलाई झैं पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ। बेर्ना तयार भएपछि खिदिमाका सयौं रोपनी जग्गामा चियाको ब्लक निर्माण गरिने जनाइएको छ। ‘गाईवस्तु चरणका रुपमा प्रयोग हुँदै आएको नांगो पाखालाई चिया खेतीमा सदुपयोग गर्दै किसानको आयआर्जनका लागि चिया खेती विस्तारको काम थालिएको हो,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘लेकाली क्षेत्रका उपयोग विहिन जग्गालाई सदुपयोग गर्दै गाउँमै रोजगारीको वातावरण सिर्जना गरेर किसानलाई व्यवसायीक बनाउने गाउँपालिकाको लक्ष्य छ।’

रोपेको ३ देखि ५ वर्षपछि चिया टिप्न योग्य बन्ने कृषि शाखा संयोजक राईले बताए। गाउँपालिकाले खिदिमापछि बाँझेच्यानडाँडामा चियाको ब्लक निर्माण गर्ने लक्ष्य लिएको छ। यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको माथिल्लो भेगमा पर्ने खावाडाँडा, चैते र दुधीले क्षेत्रमा व्यवसायीक रुपमा चिया खेती लगाउनका लागि सम्भाव्यता अध्ययन गरिसकिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालयले माटोको ल्याव टेष्ट गरेर दोर्पाचिउरीडाँडामा चिया खेतीको सम्भावना पुष्टी गरिसकेको छ।

प्रकाशित: २४ कार्तिक २०७६ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App