४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विज्ञापन कम खुल्दा आवेदन ७५ प्रतिशत कम

काठमाडौं – गत आर्थिक वर्ष लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आह्वान गरेका विज्ञापनमा दरखास्त दिनेको संख्या निकै घटेको पाइएको छ। आयोगका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा सरकारी सेवाका विभिन्न पदका लागि आह्वान गरिएको विज्ञापनमा ७५ प्रतिशतले दरखास्त कम परेको छ।

आयोगले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा संघतर्फ १ हजार १ सय ७४ पदका लागि १ लाख ४३ हजार ८ सय ४० वटा दरखास्त परेको उल्लेख छ। ‘गत आर्थिक वर्षको तुलनामा यस वर्ष दरखास्त संख्या ७५ प्रतिशत कमी आएको छ।’

आयोगले २ सय ५७ वटा विज्ञापन प्रकाशित गरेको जनाउँदै प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका कारण संघमा पदपूर्तिका लागि नेपाल सरकारबाट न्यून संख्या माग भएको जनाएको छ। संख्या कम हुँदा दरखास्त पनि कम परेको आयोगले स्पष्ट पारेको छ। समावेशीतर्फ ३ सय २६ पदका लागि विज्ञापन भएको आयोगले जनाएको छ।

आयोगले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका कारण संघमा पदपूर्तिका लागि नेपाल सरकारबाट न्यून संख्या माग भएको जनाएको छ। संख्या कम हुँदा दरखास्त पनि कम परेको आयोगले स्पष्ट पारेको छ।

अघिल्लो वर्षजस्तै खरिदार पदमा सबैभन्दा बढी ६४ हजार ७ सय ३३ दरखास्त परेको जनाउँदै आयोगले त्यसपछि सुब्बा र शाखा अधिकृत पदमा क्रमशः कम आवेदन परेको उल्लेख गरेको छ। स्थायी ठेगानाका आधारमा प्रदेश २ बाट २९ प्रतिशत आवेदन प्राप्त भएकोमा सर्लाही, सप्तरी, धनुषा, बारा, महोत्तरी, र सिरहा जिल्लाबाट बढी आवेदन परेको प्रतिवेदनमा उल्लेख छ। मनाङ, मुस्ताङ, रसुवा, नवलपरासी (पश्चिम) र डोल्पाबाट कम आवेदन परेका छन्।

त्यस्तै २१ देखि २५ वर्ष उमेर समूहबाट ३५ प्रतिशत दरखास्त परेको उल्लेख गर्दै आयोगले परीक्षा सञ्चालनका लागि ३ हजार ८ सय ६५ प्रश्नपत्र निर्माण गरेको जनाएको छ। स्थानीय तहका विभिन्न पदका लागि ३० नयाँ पाठ्यक्रम निर्माण गरेको आयोगले अधिकृतस्तरीय सात पाठ्यक्रम परिर्माजन गरेको जनाएको छ। ४ हजार ५ सय ७४ उम्मेदवारलाई स्थागी नियुक्तिका लागि सिफारीस गरेको आयोगले तीमध्ये १ हजार ४ सय ४८ जना महिला रहेको उल्लेख गरेको छ। २९ वर्ष औसत उमेर भएका उम्मेदवार सिफारिसमा परेका छन्। सिफारिसमा पर्नेमा प्रदेश २ स्थायी ठेगाना भएका २० प्रतिशत छन्।

विभिन्न स्थानीय तहबाट संघीय मामिला मन्त्रालयमार्फत प्राप्त भएका विभिन्न तहका ९ हजार १ सय ६१ पदका लागि विज्ञापन भई ५ लाख २८ हजार ९ सय ६८ दरखास्त परेको आयोगले जनाएको छ।

सुरक्षा निकाय तथा संगठित संस्थातर्फका ३ लाख ३८ हजार ३ सय ९१ दरखास्त सम्बन्धित निकायमै संकलन भएको उल्लेख गर्दै आयोगले भनेको छ, ‘उक्त विज्ञापनका लागि आयोगबाट लिइएका लिखित परीक्षाहरूमा १ लाख ९८ हजार ६ सय ८२ उम्मेदवार सम्मिलित भएका छन्।’ तीमध्ये ३७ प्रतिशत महिला र ६३ प्रतिशत पुरुष छन्। आयोगले एक वर्षमा कार्यसम्पादनमा ५७ करोड ३३ लाख बजेट खर्च भएको उल्लेख गर्दै २६ करोड राजस्व संकलन भएको जनाएको छ।

प्रकाशित: २० कार्तिक २०७६ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App