९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरीमा घरेलु हिंसाका उजुरीको चाङ

काठमाडौं – ललितपुर, हात्तीवनकी जमुना (नाम परिवर्तन) डेढ वर्षको दुधे बालका छाडेर ६ वर्षअघि क्यानडा छिरिन्। भिसा छिटो आएको बताउँदै बच्चालाई पति र सासू–ससुराको जिम्मा लगाएर विदेश जाने निधो गरेकी थिइन् उनले।

श्रीमान नरेश (नाम परिवर्तन) ले पनि उनको वैदेशिक यात्रामा कुनै अवरोध गरेनन्। बरु घर र बच्चाको हेरविचार गर्छु भनेर हौसला थपिदिए। त्यतिबेला डेढ वर्षको काखे बच्चा परिवारलाई सुम्पेर विदेश जान आटेकी जमुनालाई भन्दा बच्चाको बढी पीर परिवारका अन्य सदस्यलाई थियो। काखे बच्चा केही हुने हो की भनेर सासू–ससुराले नजान आग्रह पनि गरेका थिए। तर, जमुनाले मानिनन्, एकोहोरा योजना बनाइन्। पैसा कमाएर फर्कन्छु भन्दै २०७० मा उनी क्यानडा प्रस्थान गरिन्। काखे बालक छाडेर क्यानडा पुगेकी उनी उता गएपछि निस्ठुरी बनिन्। परिवार त के एक वर्षको बच्चाको हालखबरबारे समेत बुझ्न खोजिनन्।

पाँच वर्ष बित्दासम्म पनि पारिवारिक सम्पर्कमा आइनन्। परिवारले महानगरीय प्रहरी परिसर, जावलाखेलमा सम्पर्कविहीन भएकाले इन्टरपोलमार्फत् खोजी गरिदिन भन्दै निवेदन दियो। तर, प्रहरीले पनि उनलाई पत्तो लगाएन। काखे बच्चा छाडेर क्यानडा गएकी पत्नी लामो समयसम्म सम्पर्कमा नआएपछि श्रीमानले अर्काे बिहे गरे। बच्चालाई सासूले हेरचाह गरिन्।

बेखबर भएको झन्डै पाँच वर्ष पुगेपछि जमुना नेपाल फर्किएको भनेर परिवारलाई कसैले जानकारी गरायो। पत्नी विदेश गएर सम्पर्कविहिन भएपछि पतिले अर्कै बिहे गरे। आफूले माया मारेर अर्कै बिहे गरिसकेपछि जमुना फर्किइन् भनेर सुन्दा उनी अचम्म परे। एकमनले हराएको मान्छे सम्पर्कमा आएपछि खुसी पनि थिए। तर, जमुना नफर्किएपछि अर्कै बिहे गरिसकेका नरेशले फर्किइन् भन्ने थाहा पाए पनि त्यति वास्ता गरेनन्।

यता एक वर्षको हुँदा छाडेर गएको काखे बच्चा जमुना ५ वर्षपछि फर्कदा ६ वर्षमा टेक्यो। नेपाल फर्केर उनी इमाडोलमा बसेकी थिइन्। क्यानडामा पुगेर अर्कैसँग बिहे गरेको कुरा उनले पहिलेका पति र परिवारलाई थाहा दिइन्। पाँच वर्षको अन्तरालमा क्यानडामा अर्कैसँग बिहे गरेर फर्किएकी जमुनाले आफ्नो बच्चा आफैसँग राख्छु भन्दै पहिलेका पति र परिवारसँग मागिन्। एकदिन बच्चालाई भेट्न हात्तीवनमै पुगिन्। एक वर्षको हुँदा छाडेर गएको बच्चालाई पाँच वर्षपछि देख्दा चिन्न मुस्किल थियो। तर, परिवारले भेट्नै दिएनन्। त्यसपछि उनी फर्किइन्।

‘मेरो बच्चालाई पूर्वपति पक्षकाले नियन्त्रण गरे, भेट्न दिएनन्, मेरो छोरा मैसँग राख्न पाउँ’ भन्दै उनले उच्च अदालत पाटनमा निवेदन दिइन। त्यसपछि उनी जावलाखले प्रहरीमा पुगिन्। त्यहाँ पुगेर आफ्नो बच्चा सँगै राख्न पाउँ भनी निवेदन लेखिन्। तर, केटा पक्षकाले बच्चा केटीको जिम्मामा नदिने बताए। शुक्रबार ललितपुर प्रहरी परिसरभित्र रहेको महिला तथा बालबालिका शाखामा दिनभरी यही विषयमा विवाद चल्यो। केटा पक्ष र केटी पक्षका आएर दिनभर होहल्ला गरे। बच्चालाई दुवैतिरबाट खोसाखोस गर्न थाले। प्रहरीले यसबारेमा अदालतले नै निर्णय गर्ने बताउँदै उनीहरूलाई सम्झायो। तर, त्यहाँको हुल थेगिसक्नु थिएन।

प्रहरीले पाँच वर्ष जस्ले पाल्यो अहिले उसैले नै बच्चाको स्याहार गर्नु भनेर आग्रह ग¥यो। तर, केटी पक्षकोले मानेनन्। ‘एक त बच्चालाई त्यति सानो उमेरमै छाडेर जानु हुँदैनथ्योे, गए पनि निरन्तर सम्पर्कमा रहेको भए यो सहजै मिल्ने थियो, यसमा बच्चाको आमाको दोष बढी देखिन्छ,’ महिला तथा बालबालिका शाखा प्रमुख सुजित कुमार ओझाले भने, ‘केटीले विदेशमा अकैंसँग विहे गरिन्, केटाले पनि यही अर्कै विहे गरेकाले यो निकै झन्झटिलो मुद्दा बनेको छ।’

वैदेशिक रोजगारले बढाउँदै सामाजिक विकृति

पैसा कमाएर परिवारलाई सुःख दिउँला, बिहेमा लागेको ऋण तिरौंला, छोराछोरीलाई राम्रो स्कुल पढाउँला, एक टुक्रा जग्गा किनौंला, बाबुआमालाई सुःख दिउँला,’ यस्तै–यस्तै सपना बोकेर नेपाली युवा विदेश हानिन्छन्। विदेशमा गएर सकीनसकी कमाएको पैसा बचत गरेर परिवार अर्थात् श्रीमतीलाई पठाउँछन्। सबै उस्तै नहोलान्। तर, त्यसरी विदेशबाट पतिले कमाएको पैसा सदुपयोग गर्ने परिवार कमै होलान्।

कतिपय पत्नीले नै सामाजिक विकृति बढाइरहेका प्रहरी अनुसन्धानले देखाएको छ। पछिल्लो समय वैदेशिक रोजगारले निम्त्याएका सामाजिक घटनाका उजुरीको प्रहरीमा चाङ छ। दैनिक एकदेखि १० वटासम्म वैदेशिक रोजगार र घरेलु हिंसाका उजुरी परेको प्रहरीले जनाएको छ।

महिला तथा बालबालिका शाखा, जावलाखेलका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुजितकुमार ओझाले पैसा कमाउन विदेश गएका पति–पत्नीबाट धेरै पीडित भएको बताए। ‘गल्ती केटीको मात्रै छैन, कतिपय केटाले पनि अर्काकी पत्नी भगाएर लगेका छन्, विदेशमा भएको श्रीमानले पठाएको पैसा खाएर अर्कैसँग हिड्नेको संख्या धेरै छ,’ उनले भने।

उनका अनुसार बालविवाह, घरेलु हिंसा र वैदेशिक रोजगारले गर्दा समाजमा विकृत्ति बढाएको छ। यसलाई रोक्न सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्ने ओझाले बताए। असारयता जावलाखेल प्रहरीमा एक सयभन्दा बढी वैदेशिक रोजगार र घरेलु हिंसासम्बन्धी उजुरी धेरै परेका छन्। यो एकदमै ठूलो संख्या हो। महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डिएसपी गौतम मिश्रले घरेलु हिंसा रोक्न प्रहरी एक्लैले मात्रै नसक्ने बताए। उनले दुई–तीन वर्षयता सातदोबाटो क्षेत्र हुने गरेको घरेलु र यौन हिंसालाई हेर्दा कमी आएको बताए।

‘यो वर्ष हामीले जुवातास र मदिरा व्यापारलाई पूर्ण निगरानी राख्यौं, गाँजा उत्पादन भएको ठाउँमै पुगेर फडानी ग¥यौं, हिंसाको एउटा कारण मदिरा र गाँजा पनि हो,’ उनले भने, ‘हामीले सामाजिक विकृति र बेमेललाई रोक्न तल्लो तहदेखि नै सुधारका काम गरेका छौं।’ उनका अनुसार अन्तरजातीय विवाह, बाल विवाह, मदिरा सेवन, सामाजिक सञ्जालको दुरुपयोग, अशिक्षा, बेरोजगार, वैदेशिक रोजगारलगायत कारणले सामाजिक विकृति बढाइरहेको छ। यसलाई नियन्त्रण गर्न पराशर्म र जनचेतनामै ध्यान दिनुपर्ने डिएसपी मिश्रले बताए।

नगरपालिकाको न्यायिक निकायमा पुग्दैनन् पीडित
पछिल्लो समय स्थानीय तहमै घरेलु हिंसासम्बन्धी मुद्दा हेरफेर गरिने भए पनि पीडित नगरपालिकामा पुग्दैनन्। नगरपालिकामा राम्ररी पीडा सुनुवाई नहुने पीडित नै बताउँछन्। ‘नगरपालिकामा न्यायिक जिम्मेवारी उपमेयरलाई दिइएको हुन्छ। तर, कार्यालयमा जनप्रतिनिधि भेटिदैनन्, सामान्य झमेला मिलाउन पनि धेरै समय कुर्नुपर्छ, त्यसैले प्रहरीमा आउँदा छिटो सम्बोधन हुन्छ,’ आइतबार महानगरीय प्रहरी परिसर जावलाखेलमा भेटिएको दीपक प्रधानले भने। त्यसो त न्यायिक निकायमा साँध–सीमानाका मुद्दा धेरै पर्ने गरेका छन्।

ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले साँध–सीमाना र पारिवारिक झगडाका उजुरी बढी आउने गरेको बताइन्। ‘त्यतिधेरै गम्भीर मुद्दा आउँदैनन्, सामान्य मुद्दा हामीले आफैले सल्ट्याउँछौं, नमिल्ने र जटिल छ भने अरु न्यायिक निकायमा पठाउँछौं।’

प्रकाशित: १९ कार्तिक २०७६ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App