१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चितुवाको आक्रमण रोक्न सामूहिक पुजा

दुलेगौँडा(तनहुँ)– जिल्लाको भानु नगरपालिकामा चितुवाको आक्रमण बढिरहेको छ। यहाँ २० महिनाको अवधिमा चितुवाले आक्रमण गर्दा ६ जना बालबालिकाले ज्यान गुमाएका छन्। चार जना घाइते भए।  

विभिन्न उपाय अपनाएर केही चितुवा नियन्त्रणमा लिएपनि आक्रमण झन बढ्दै गएपछि भानु– २ का स्थानीयले थक्रेक कालिकाको मन्दिरमा देवीको पुजा गरेका छन्। नारेश्वरटारस्थित कालिकाको मन्दिरमा चितुवाको आक्रमण रोकिने जनविश्वासले सामुहिक देवीको पुजाअर्चना गरेको सीता अधिकारीले बताइन्। 

‘अचाक्ली चितुवाले बालबालिकालाई आक्रमण गर्न थाल्यो’, उनले भनिन्, दुईटा चितुवालाई नियन्त्रणमा लिदा समेत आक्रमण रोकिएन्। देउता रिसाएर यस्तो भएको होकी भन्ने ठानेर पुजाअर्चना गरेका हौँ।’  तीन जना पुरोहित बोलाएर चण्डीपाठ र हवन गरेको उनले जानकारी दिइन्।

अधिकारीका अनुसार कालिकाको मन्दिरमा चैते दसैँमा पञ्चवली सहित  पुजाअर्चना हुन्छ। पुरोहित बोलाएर चण्डीपाठ भने गरिँदैन्। ‘चतै दसैँमा पुजा गर्दा विधी नपुगेर देउता रिसाएका हुन कि भन्ने अनुमान छ। यसर्थ पुरोहित बोलाएर चण्डीपाठ र हवन गरेका छौँ। अब चितुवाको आक्रमण रोकिने विश्वास छ’, उनले भनिन्। 

चितुवाले निरन्तर आक्रमण गरिरहेको छ। साँझ परेपछि झ्याल ढोका बन्द गरेर स्थानीय घरभित्र बस्छन्। बालबालिकालाई जोगाउन घरबाहिर जान दिइँदैन्। नारेश्वरटारका  दिपकराज उपाध्याय भन्छन्, ‘त्रास झन् बढेको छ। आजकाल दिउँसै पनि चितुवा बस्तीतिर देखिन थालेको छ।’ उनका अनुसार घरवरपर चितुवा नआओस भनेर रातभर बत्ती बाल्ने गरिन्छ। ‘रातको समयमा शौचालय जान समेत डर भयो’, उनले भने, ‘टाढा शौचालय भएकाहरु त घरभित्र कोपरामा दिशापिसाब गर्न बाध्य छन्।’

स्थानीयहरु चितुवाको त्रासमा छन्। भानुका १, २, ३ र ४ वडामा त्रास बढेपछि लामो समयदेखि नरभक्षी चितुवाको खोजी पनि भइरहेको छ। जंगलमा फुट ट्रयाप, क्यामेरा ट्रयापिङ, बाख्रासहितको फलाम र काठको खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास भएको हो। तर चितुवाको आक्रमण नरोकिँदा आतंक मच्चिएको छ। 

चितुवा खोज्न १९ जनाको विशेष सुरक्षा दस्ता परिचालन गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए। दस्तामा ११ जना सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षक ४/४ जना छन्। बराल भन्छन्, ‘बढी आक्रमण भएका स्थानहरुमा दस्ताले गस्ती गर्छ।  चितुवाको  बाख्रा राखेर विभिन्न स्थानमा कुर्ने गरिएको छ। दस्ताले हालसम्म नियन्त्रणमा लिन सकेको छैन।’ चितुवा समात्न केही दिनमा राष्ट्रिय प्रकृति संरक्षणको  विज्ञ टोली आउन लागेको उनले सुनाए। 

नरभक्षी चितुवा नियन्त्रणका लागि प्रभावित वडाका सामुदायिक वन क्षेत्रमा परम्परागत काठका खोर प्रभावकारी देखिएको छ।  बाख्रासहित राखिएको काठको खोरमा हालसम्म दुईवटा चितुवा नियन्त्रणमा लिइएको छ।  काठको खोरमा गत असोज १५ र कात्तिक ११ मा दुईवटा भाले चितुवा परेका थिए।  ती चितुवा चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको छ।
चितुवाको आक्रमणबाट प्रभावित क्षेत्रमा नौ वटा सामुदायिक वन छन्। प्रत्येक सामुदायिक वनमा एउटा काठको खोर राख्ने उनले बताए। बीस महिनाको अवधिमा दुई चितुवा जंगलमा मृत फेला परेका थिए।  

प्रशासनले नरभक्षी चितुवालाई गोली हानेर मार्ने आदेश दिएको छ। गण्डकी प्रदेश सरकारले चितुवका आंतक रोक्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यस्तै, प्रतिनिधी सभा तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानको नेतृत्वमा गएको टोली गृहमन्त्रीलाई भेटेर चितुवा प्रभावित वडालाई संकटग्रस्त घोषणा गर्न माग गरेका छन्।

प्रकाशित: १८ कार्तिक २०७६ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App