९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पीडित परिवारलाई सहयोग गर्न घरमै पुग्दै कास्की प्रहरी

पोखरा– प्रहरी अधिकारी तथा कर्मचारी कुनै घटनाको अनुसन्धानका लागि पीडितको घरसम्म जानु सामान्य नै हो। तर, सहयोग तथा सान्तवना दिन गएको विरलै पाइन्छ। कास्कीमा भने प्रहरी अधिकारी सहयोग तथा सान्तवना दिन पीडित घर घरमा जाने गरेका छन्। 

कास्की प्रहरीले जिल्लामा ‘पीडित सम्पर्क कार्यक्रम’ सञ्चालन गरेरै विभिन्न घटनाका पीडित परिवारसँग भेटेर आवश्यक सहयोगका लागि पहल गर्ने गरेको छ। यसैक्रममा बुधबार कास्कीका प्रहरी प्रमुख (एसपी) दानबहादुर कार्कीको टोली एक पीडितको घरमा पुगेको छ। 

श्रीमतीको हत्या गरेर जेलमा रहेका रमेश नेपालीको घरमा पुगेर एसपी कार्कीको टोलीले नेपालीका छोराछोरीको पालनपोषण तथा स्वास्थ्य शिक्षाका विषयमा आफन्त, परिवार र संरक्षकसँग छलफल गरेर जानकारी लिएको छ।

पोखरा महानगरपालिका १५ का रमेशले आफ्नै श्रीमती लक्ष्मी परियारको हत्या गरेर जेल परेपछि उनका छोराछोरीको विचल्ली भएको छ। यस्तो बेला सान्तवना र सहयोगको उद्देश्यसहित प्रहरी टोली पीडितको घरमा पुगेको हो।

त्यसअवसरमा एसपी कार्कीले पीडित बालबालिकाको भविष्य तथा सर्वोत्तम हितको लागि जिल्ला प्रहरी कार्यालयले गरेको प्रयासको सम्बन्धमा जानकारी गराएका थिए। 

कास्की प्रहरीले नियमित रुपमा ‘पीडित सम्पर्क कार्यक्रम’अन्तर्गत पीडित परिवारसँग भेटघाट गर्दै आएको छ।

प्रकाशित: १४ कार्तिक २०७६ १६:२२ बिहीबार

कास्की_प्रहरी पीडित_सम्पर्क_कार्यक्रम रमेश_नेपाली श्रीमती_हत्या