२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रविधिमैत्री कक्षा सञ्चालनका लागि साँस्कृतिक कार्यक्रम

खोटाङ – खोटाङमा नमूना विद्यालयको परिचय बनाएको ज्योती माबिले विद्युतीय कक्षा सञ्चालन एवं विद्यालय साजसज्जा व्यवस्थापनका लागि तिहारको अवसर पारेर साँस्कृतिक अभियान सुरु गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योती माबिले शैक्षिक विकासमा प्रयोगात्मक विद्युतीय कक्षा तथा साजसज्जा अभियान’ भन्ने मूल नाराका साथ तिहारको अवसरमा शुभकामना आदान–प्रदानका साथमा ९ दिने साँस्कृतिक कार्यक्रम सुरु गरेको हो ।

कात्तिक ९ गते जालपाको लमर्खुबाट सुरु गरिएको साँस्कृतिक कार्यक्रम छिप्ती, गोपीखर्क, साब्रु, खार्मी, कादेल, पुरानो गाउँ, सावालुङ, ससर्का, खरबारी, जालपाबजार, पोखरी हुँदै गुरुङ गाउँ पुगेर कात्तिक १७ गते समापन हुने ज्योती माविका व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईले बताए ।

उनका अनुसार विद्यालयका हरेक शैक्षिक क्रियाकलाप प्रविधिमैत्री बनाउँदै पठन–पाठनलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्थापनका लागि साँस्कृतिक कार्यक्रम सुरु गरिएको हो । भाइटिका र त्यसको भोलिपल्ट बाहेकका दिन निरन्तर टोल–टोलमा पुगेर साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

२०७४ साल जेठ १५ गते अज्ञात व्यक्तिले लगाएको आगोले २ कोठे भवनको प्रशासन कक्ष, पुस्तकालय, लेखा र कक्षा कोठासहित ९ वटा कोठा ध्वस्त भएपछि पुःन निर्माण गरिएको भवनबाट प्रयोगात्मक विद्युतीय कक्षा सञ्चालन एवं कक्षा कोठाको साजसज्जाका लागि आवश्यक रकम जुटाउनका लागि विद्यालयले अभियान चलाएको हो । सो आगलागीमा ज्योती माबिको ६५ लाख भन्दा बढीको क्षति भएको प्रअ टिका श्रेष्ठले बताए ।

२०४४ सालमा स्थापना गरिएको विद्यालयले जिल्लामै पहिलोपल्ट अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेर नमूना बिद्यालयकारुपमा परिचय बनाएको छ ।

अंग्रेजी खोज्दै गाउँबाट बाहिरिने अभिभावक र विद्यार्थीलाई गाउँमै रोक्नका लागि ज्योती माविमा २०६४ सालदेखि अंग्रेजी माध्यम लागू गरिएको थियो । २०७१ सालमा मावि तहको पठन–पाठनको अनुमति पाए यता एसइईमा ज्योती माविले शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको छ ।

प्रकाशित: १० कार्तिक २०७६ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App