१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘फुड–सप्लिमेन्ट सिफारिस देशभरिकै समस्या’

धरान - फुड–सप्लिमेन्ट (आहार–पूरक सामग्री) लाई औषधिका नाममा देशभरको सरकारी तथा निजी अस्पतालका डाक्टरहरूले सिफारिस गर्ने गरेका छन्। कानुनी रूपमा औषधि व्यवस्था विभागमा दर्ता नभएको फुड–सप्लिमेन्ट डाक्टरहरूले सिफारिस गर्दा वार्षिक रूपमा अर्बाैं रुपैयाँ बाहिरिने गरेको छ।

फुड–सप्लिमेन्टजस्तै काम गर्ने भिटामिन, क्याल्सियमहरू नेपालमा पनि औषधिका रूपमा उत्पादन भइरहेका छन्। ती औषधि विभागमा दर्ता पनि भएका छन्। तर डाक्टरहरूले विभागमा दर्ता नभएका र फुड–सप्लिमेन्टका रूपमा भित्रिएका खाद्य सामग्रीलाई पनि औषधि नै भनेर सिफारिस गर्ने गरेका छन्। ‘यो एक ठाउँमा मात्र होइन, देशैभरका अस्पतालहरूमा विकृतिका रूपमा रहेको छ, यसले अर्बाैं रुपैयाँ विदेश गइरहेको छ,’ औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव कट्टेलले भने, ‘अहिले सबैतिर सुधारको अभियान चलिरहेको छ। पूर्वमा हामीले निरन्तर अनुगमन गरिरहेका छौं, राजधानीमा पनि चलिरहेको छ।’

ठूला र नाम चलेका अस्पतालहरू भएको झापाको बिर्तामोड, विराटनगर, धरान, चितवनको नारायणगढ, बुटवल, भैरवहा, काठमाडांैलगायत स्थानमा फुड–सप्लिमेन्टको व्यापार अत्यधिक छ।

विभागका अनुसार झापाको मेची अञ्चल अस्पताल र बिर्तामोडको बिएन्डसी अस्पतालका डाक्टरहरूले पनि बिरामीलाई औषधि भनेर फुड–सप्लिमेन्ट सिफारिस गर्ने गरेको अनुगमनका क्रममा भेटिएको थियो। यस्तै विराटनगर क्षेत्रको नाम चलेकेल मेडिकल कलेज, विराट मेडिकल कलेज, नर्सिङ होमलगायतमा पनि डाक्टरहरुले अत्यधिक रूपमा फुड–सप्लिमेन्ट सिफारिस गर्ने गरेको पाइएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरू अत्यधिक रूपमा फुड–सप्लिमेन्ट सिफारिस गर्नेमा पर्छन्। ठूला र नाम चलेका अस्पतालहरू भएको झापाको बिर्तामोड, विराटनगर, धरान, चितवनको नारायणगढ, बुटवल, भैरवहा, काठमाडांैलगायत स्थानमा फुड–सप्लिमेन्टको व्यापार अत्यधिक छ।

विभागले नियमित रूपमा अनुगमन गर्दै ती अस्पतालका प्रशासनलाई फुड–सप्लिमेन्ट सिफारिसमा रोक लगाउन पत्राचार गरेपछि सुधार भइरहेको विभागका प्रमुख कट्टेलले बताए। ‘बीपी प्रतिष्ठानले आफ्ना डाक्टरहरूलाई सिफारिसमा रोक लगाएको छ। नोबेल मेडिकल कलेजमा पनि डाक्टरहरूलाई भन्यौं, विराट नर्सिङमा पनि भनिसक्यौं,’ उनले भने, ‘मेची अस्पताल, नोबेल, बिपीलगायतबाट सिफारिस रोकिएको खबर छ।’ सिफारिस पूर्ण रूपमा बन्द भए÷नभएको बारेमा नियमित रूपमा अनुगमन गर्न शुक्रबार पुनः झापा जाने कट्टेलले बताए।

फुड–सप्लिमेन्टहरु खाद्य तथा गुण नियन्त्रण विभागमा खाद्य पूरक सामानका रूपमा दर्ता भएर आयात गरिएको हुन्छ। कमिसन पाएपछि औषधिका रूपमा डाक्टरले सिफारिस गरेपछि मेडिकल पसलहरूले बिक्री गर्छन्। फुड–सप्लिमेन्टको वार्षिक कारोबार अर्बाैंको छ। जसले नेपाली रुपैयाँ विदेश पठाइरहेको छ। भारतमा गरिएको एक अध्ययनअनुसार सन् २०१७ मा ४ खर्ब डलरको कारोबार व्यापार भएको थियो भने सन् २०२२ मा १० खर्ब हुने अध्ययनले देखाएको छ। ‘नेपालमा यकिन नभए पनि वार्षिक रूपमा अर्बाैं विदेश गइरहेको छ, जबकि त्यस्तै औषधि नेपालमै पनि उत्पादन भइरहेको छ,’ विभागका विराटनगर प्रमुख कट्टेलले भने। अस्पतालका डाक्टरहरूले सिफारिस गरिरहेका फुड–सप्लिमेन्टहरू भारत, बंगलादेशलगायत मुलुकबाट आयात गरिएका छन्।

विज्ञहरू भने अर्बाैंको व्यापार भइरहेको यस्ता फुड–सप्लिमेन्टहरूले फाइदा नगर्ने बताउँछन्। भ्रामक विज्ञापनको फन्दामा परेर फुड–सप्लिमेन्ट खानुभन्दा आफ्नै बारीमा उत्पादन भएको पोषण तŒवयुक्त अन्न तथा सागसब्जी, फलफूल खानु फाइदाजनक हुने विज्ञहरुको सुझाव छ। ‘विश्व स्वास्थ्य संघले भनेको छ, अन्नमा भिटामिन ए मिलाउनुहँुदैन। भिटामिन ए त फर्सी, गाजर, सखरखण्ड, हरियो तरकारी खाएपछि शरीरलाई प्राप्त भइहाल्छ,’ पूरक भोजनका नाममा ठगी शीर्षकको लेखमा डा. अरुण उप्रेतीले लेखेकी छन्, ‘तर सरकारले फर्सी, सिस्नु, पालुंगो, सहजन, कारीपत्ता, गाँजर आदि पर्याप्त हुने ठाउँमा पनि भिटामिन एको क्याप्सुल नै खानुपर्छ भनिरहन्छ भने कुपोषणको समस्या कम हुँदैन।’

प्रकाशित: ९ कार्तिक २०७६ ०२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App