१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

विदेश बसेर गाउँको सेवामा धादिङे युवा

धादिङ - राम्रो लगाउने, मिठो खाने र सुखले बस्ने आशामा दैनिक झण्डै १५ सय युवा विदेशिरहेका छन्। विदेशिने युवामध्ये केही आफ्नो गाउँबस्तीको सेवामा पनि सक्रिय छन्। जिल्लाबाट रोजगारीका लागि कोरिया गएका धादिङे युवा भने कामसँगै गाउँको सेवामा जुटेका छन्। उनीहरूले ‘धादिङ समाज कोरिया’ संस्था स्थापना गरेर गाउँको विकासमा जुटेका छन्।

ती युवाले विकट बस्तीमा निःशुल्क एम्बुलेन्स, खाद्यान्न, न्यानो कपडा सहयोग, सदरमुकाममा सार्वजनिक शौचालय निर्माण लगायत काममा सहयोग गरिरहेका छन्।
यस्तै सेवा गर्नेमध्ये एक हुन्, त्रिपूरासुन्दरी गाउँपालिका–७ का सन्तोष अधिकारी। उनी ७ वर्षदेखि कोरियामा श्रम गरिरहेका छन्। उनको पहलमा गंगाजमुना गाउँपालिकास्थित गुम्दी स्वास्थ्य चौकीमा एम्बुलेन्स पुगेको छ। झण्डै ११ लाख रूपैयाँको एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरिएको उनले बताए।

‘गाउँमा स्वास्थ्य चौकी छ। तर, सामान्य खालका उपचार मात्र सम्भव छ,’ धादिङ समाज कोरियाका अध्यक्षसमेत रहेका अधिकारीले भने, ‘उपचार नपाएरै कसैको ज्यान नजाओस भनेर हामीले एम्बुलेन्स सहयोग गरेका हौँ।’ गाउँमा एम्बुलेन्स पुगेपछि गाउँवासी पनि खुसी छन्। एम्बुलेन्स पुगेपछि बिरामीलाई उपचारका लागि सहज भएको सर्वसाधारण बताउँछन्।

धादिङ समाज कोरियाको नेपाल समन्वय समितिका उपाध्यक्ष सुमन सिंम्खडा विदेशमा श्रम गरेर कमाएको पैसाको केही हिस्सा गाउँबस्तीको सहयोगमा खर्चिने गरेको बताउँछन्। ‘आफु जन्मे–हुर्केको गाउँमा सहयोग गर्दा यहाँको परिश्रम गर्दाको दुःख भुलिन्छ,’ उनी भन्छन्।

कोरियामा सांगीतिक तथा चिठ्ठा कार्यक्रम आयोजना गरी रकम संकलन गर्ने गरेको उनले बताए। उनले कमजोर आर्थिक अवस्था भएका बिरामीलाई पनि सहयोग गरिरहेको उनको भनाइ छ।

गत वर्ष ‘धादिङ समाज, कोरिया’ र ‘काभ्रे सम्पर्क समिति, दक्षिण कोरिया’ले दुवै जिल्लाका विकट ग्रामीण क्षेत्रमा एम्बुलेन्स सहयोग गर्न ‘रिदम लाइभ कन्सर्ट सांगीतिक धमाका’ कार्यक्रम आयोजना गरेका थिए।

कार्यक्रमबाट नाफा भएको रकम र संस्थाका सदस्यले व्यक्तिगतरूपमा रकम संकलन गरेर एम्बुलेन्स खरिदका लागि सहयोग गरेको उनको भनाइ छ।

समाजको सहयोगमा धादिङ सदरमुकाम धादिङबेसीमा १७ लाख रुपैयाँको लगानीमा अपांगमैत्री सार्वजनिक शौचालय निर्माण भएको छ। समाजले भूकम्पपछि ८ विद्यालयलाई जस्तापाता किन्न पनि सहयोग गरेको थियो।

प्रकाशित: ६ कार्तिक २०७६ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App