७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पीडित परिवारलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक - एकै गाउँका सातजनासहित १२ को ज्यान जाने गरी झन्डै दुई साताअघि भएको बडहरे बस दुर्घटनाका मृतकका परिवारलाई इन्द्रावती गाउँपालिका र सम्बद्ध यातायात समितिले आर्थिक सहयोग प्रदान गरेका छन्। घटनास्थल इन्द्रावती–१० बडहरेको वडा कार्यालयमा शोकसभा गर्दै गाउँपालिकाले २५ हजार र सिन्धु हेलम्बु यातायात समितिले ४० हजार रुपैयाँका दरले मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका हुन्। सहायता प्रदान गर्न गाउँपालिकाअध्यक्ष वंशलाल तामाङ र यातायात समितिका वरिष्ठ उपाध्यक्ष श्यामकुमार श्रेष्ठ वडा कार्यालय पुगेका थिए।

गाउँपालिका अध्यक्ष तामाङले ती परिवारलाई काजकिरियाबाट उत्रन सहज होस् भन्ने हेतुले सहयोग गरिएको बताए। ‘दुःखमा आफ्ना नागरिकलाई सघाउनु स्थानीय सरकारको कर्तव्य हो,’ उनले भने। घटनाकै दिन अध्यक्ष तामाङले पीडित परिवारलाई गाउँपालिकाको तर्फबाट आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका थिए। गाउँपालिका र यातायात समितिबाट पीडित परिवारले ६५ हजार रुपैयाँका दरले सहायता पाएका छन्। वडाध्यक्ष जीवन थापामगरको संयोजनमा शोकसभासहित घटनास्थलमा मृतात्माको शान्तिको कामना गर्दै दीप प्रज्वलनसमेत गरिएको छ।

गत असोज २४ गते हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस चौतारा–सिपाघाट कच्ची सडकखण्डको बडहरेमा दुर्घटनाग्रस्त हुँदा चालकसहित घटनास्थलमै पाँच, अस्पतालमा उपचारको क्रममा पाँच र एक जनाको बीच बाटोमै ज्यान गएको थियो। दसैंका यात्रुले खचाखच भरिएको बसका एक सय ६ यात्रु घाइते भएका थिए। एक घाइते महिलाको सात महिने गर्भे शिशुको समेत मृत्यु भएको थियो। धुलिखेल अस्पतालले शल्यक्रियामार्फत उनको गर्भबाट मृतक शिशु निकालेर आमालाई बचाएका थिए। मृतक शिशुका परिवारले पनि दुवै राहत रकम पाएको छ।

दुर्घटनाका १० घाइतेको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ। ९६ घाइते उपचारपछि घर फर्किसकेका छन्। वडाध्यक्ष थापामगरका अनुसार धुलिखेल अस्पतालमा पाँच, वीर अस्पताल ट्रमा सेन्टरमा दुई तथा केएमसी, सुमेरु र ग्रान्डी अस्पतालमा एक÷एक घाइते उपचाररत छन्। यातायात समितिले दुर्घटनाका मृतकले कानुनअनुसार पाउने बीमा रकम उनीहरूका परिवारलाई उपलब्ध गराउन प्रक्रिया अघि बढाएको जनाएको छ। प्रक्रिया पूरा भएपछि केही दिनभित्रै बीमा रकम उपलब्ध गराउने समितिका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए। मृतकका परिवारले पाँच लाख रुपैयाँका दरले बीमा रकम पाउनेछन्।

प्रकाशित: ६ कार्तिक २०७६ ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App