२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कृषिलाई प्राथमिकता

हेटौंडा-प्रदेश नं ३ सरकारले पशुपालन तथा मत्स्य विकासका लागि चालू आर्थिक वर्षमा निजी तथा सहकारीको साझेदारीमा २४ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्धारण गरेको पशुपक्षी तथा मत्स्य विकास कार्यक्रममा साझेदारीका लागि कृषक समूह, सहकारी र निजी क्षेत्रलाई आह्वान गरेको छ। कृषि, पशुपक्षी तथा मत्स्यसम्बन्धी जिल्लाबाट सञ्चालित कार्यक्रम कार्यान्वयन कार्यविधि नै बनाएर मन्त्रालयले साझेदारीका लागि प्रस्ताव आह्वान गरेको छ। प्रदेशको पशुपक्षी विकास तथा मत्स्य विकास निर्देशनालयले ११ कार्यक्रममा २४ करोड २५ लाख रुपैयाँ लगानी गर्ने गरी प्रस्ताव माग गरेको छ।

निर्देशनालयले आह्वान गरेको प्रस्तावअनुसार काठमाडौँ, सिन्धुपाल्चोक र चितवनमा बाँदर व्यवस्थापन विशेष कार्यक्रम कार्यान्वयनका लागि शत प्रतिशत साझेदारी गर्नुपर्ने छ। उक्त कार्यक्रमका लागि निर्देशनालयले अधिकतम ४० लाख रुपैयाँ छुट्याएको जनाएको छ। चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा पाडापाडी पालन कार्यक्रमका लागि ५० प्रतिशत साझेदारी गर्ने गरी १० लाख रुपैयाँ छुट्याएको छ।

यस्तै चितवन, सिन्धुपाल्चोक, रामेछाप र धादिङका छ स्थानमा बृहत्तर शाखा अनुसन्धान विस्तार तथा विकास कार्यक्रमका लागि ५० लाख रुपैयाँ लगानी गर्ने प्रदेशको योजना छ। त्यसैगरी कृषि र पर्यटनको प्रवद्र्धनका लागि नमूना कालीज तथा स्थानीय जातका कुखुरापालन गर्नका लागि २५ लाख रुपैयाँसम्मको साझेदारी गरिने मन्त्रालयका प्रवक्ता डा. शरणकुमार पाण्डेले जानकारी दिए।

चितवन र काभ्रेपलाञ्चोकमा पशुआहार उद्योग स्थापनाका लागि ५० प्रतिशत साझेदारी गर्ने गरी सरकारले एक करोड रुपैयाँ लगानी गर्ने भएको पाण्डेको भनाइ छ। दोलखामा सामूहिक गाईपालनका लागि २० लाख रुपैयाँ लगानीका लागि प्रस्ताव आह्वान गरिएको छ।

चितवन, मकवानपुर, सिन्धुली र रामेछापमा साझेदारीमा मत्स्य विस्तार तथा विकास कार्यक्रमका लागि पनि प्रतिहेक्टर पाँच लाख रुपैयाँ लगानी गर्ने बताइएको छ। रासस

प्रकाशित: ४ कार्तिक २०७६ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App