१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राष्ट्रिय आविष्कार केन्द्रलाई साढे ६ लाख सहयोग

म्याग्दी– ‘राष्ट्रिय आविष्कार केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले ६ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ। युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले सुरू गरेको केन्द्रलाई यूकेमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था मोनामार्फत काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ६ लाख ६३ हजार ७४० रुपैयाँ हस्तान्तरण गरिएको हो।

मोना यूकेका अध्यक्ष दल जुग्जाली, मोना यूकेका संस्थापक अध्यक्ष दलमान पुन, कोषाध्यक्ष पदम गर्बुजा, एनआरएनए यूकेका कोषाध्यक्ष एवम् मोना यूकेका मंगला गाउँपालिका सचिव ईन्जिनियर तेजेन्द्र रोकाले आविष्कार केन्द्रका अध्यक्ष पुनलाई सहयोग हस्तान्तरण गर्दै अभियानमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएका थिए।  

सोही अवसरमा केन्द्रका अध्यक्ष पुनले सरकारी दैलोमा धाउँदा पटकपटक आश्वासन बाहेक केही नपाएपछि सर्वसाधारणको सहयोगमा स्थापना गरेको अवस्थामा निरन्तर सहयोग प्राप्त भइरहेको बताए।

‘आविस्कार केन्द्रसँग सहकार्य गर्न शैक्षिक योग्यताभन्दा पनि नयाँ सोचको आवश्यकता रहेको छ, ‘सहयोगलाई नेपालीको सपना पुरा गर्ने अभियानमै प्रयोग गर्छु’ पुनले भने। उनले धनले मात्रै केन्द्रको अभियान पुरा नहुने भन्दै सीप भएका युवा उद्यमीलाई प्रोत्साहित गर्ने बताए। उनले केन्द्रमार्फत अहिले काठमाडौं बाहेक पोखरा, चितवनलगयत विभिन्न जिल्लामा काम गरिरहेको बताए। केन्द्रमा अहिले २० वटा प्रोजेक्ट संचालनमा आएको भन्दै पुनले चितवनमा कुखुराको दाना र माछापालन, पोखरा र विराटनगरमा पर्यटन, कृषिका क्षेत्रमा अनुसन्धान र काम भइरहेको बताए।

हाल केन्द्रमा ८ करोड रकम सहयोग भएकोमा विश्वभर रहेका म्याग्देलीले समेत संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गरेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८ नाँगीमा जन्मिएका पुनले  सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कारसहित दर्जनौ सम्मान प्राप्त गरेका छन्।

प्रकाशित: ३ कार्तिक २०७६ १०:४३ आइतबार

राष्ट्रिय_आविष्कार_केन्द्र आर्थिक_सहयोग