सरिता श्रेष्ठ/हिमनाथ देवकोटा
धादिङ/रसुवा - सरकारी काम स्थानीय स्तरमै हुन थालेपछि जिल्ला सदरमुकाम तथा मुख्य बजारमा चहलपहल घट्न थालेको छ। मुलुक संघीयतामा गएसँगै विभिन्न सरकारी सेवासुविधा स्थानीय तहबाटै हुने भएपछि सदरमुकामसम्म नै धाउनुपर्ने बाध्यता हटेको छ। स्थानीय तह बलियो बन्दै जानु र ग्रामीण बस्तीसम्म यातायातको पहुँच विस्तार भएसँगै मुख्य व्यापारिक केन्द्रहरूमा चहलपहल घटेको व्यापारी बताउँछन्।
बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि नागरिक आजकल बिरलै सदरमुकाम छिर्ने गरेका छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा आएपछि सदरमुकामको व्यापार व्यसाय मात्र होइन, सरकारी अड्डासमेत सुनसान छन्। राहदानी, नागरिकता र जग्गासम्बन्धी कामका लागि मात्र सदरमुकामसम्म धाउनुपर्ने धादिङको गंगाजमुना गाउँपालिका–५ फुलखर्कका हिमाल सिंखडाले बताए। ‘स्थानीय सरकार हाम्रै गाउँठाउँमा आएको छ, त्यसैले घन्टौं लगाएर सदरमुकाम झर्नु पर्दैन,’ उनले भने, ‘बजारमा भन्दा गाउँमा मानिसको चहलपहल छ, रमाइलो छ।’
बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि नागरिक आजकल बिरलै सदरमुकाम छिर्ने गरेका छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा आएपछि सदरमुकामको व्यापार व्यसाय मात्र होइन, सरकारी अड्डासमेत सुनसान छन्।
संघियताले सदरमुकाम आउनुपर्ने जनताका कामकाज स्थानीय तहबाटै हुन थालेपछि सदरमुकाम आवतजावतमा कमी आएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए। ‘सदरमुकामबाट हुने धेरैजसो काम गाँउमै हुने भएकाले सदरमुकामको व्यापार खुम्चिएको र गाँउबस्तीमा चहलपहल देखिन थालेको हो,’ उनले भने, ‘अहिले त चाडपर्वको समयमा पनि त्यति व्यापार छैन।’ पहिले सबैभन्दा बढी भीड हुने जिल्ला समन्वय समिति (तत्कालीन जिल्ला विकास समिति) मा एउटै सेवाग्राही भेटिँदैनन्।
प्रदेश ३ को धादिङ, नुवाकोट, रसुवा, दोलखा, सिन्धुली, रामेछापलगायत जिल्ला सदरमुकाममा चहलपहल घटेको छ। दुई वर्षअघिसम्म सदरमुकाम रसुवा सदरमुकाम धुन्चेमा सेवाग्राही र कर्मचारीको चाप बढी देखिन्थ्यो। विकासे अड्डामा सेवाग्राही दौडिरहेका हुन्थे। सेवाग्राही र कर्मचारीका कारण धुन्चेको व्यवसाय पनि राम्रै चलेको थियो। चाँडै आएर चाँडै काम सकाउने सेवाग्राही लोकल बसमा फर्कन्थे। दिउँसो दुई बजे चल्ने लोकल बस यात्रुले खचाखच हुन्थ्यो। आएको दिन काम नसकिएका सेवाग्राही होटलमा बस्थे।
अहिले यी सबै विपरीत भएका छन्। सदरमुकाम सुनसान देखिन्छ। होटल पाहुनाको स्वागत गर्न कुरिरहेका देखिन्छन्। विकासे अड्डामा एकदुई जना कर्मचारी भेटिन्छन्। मेला, चाडपर्वमा मात्रै मानिसको चहलपहल देख्न सकिन्छ। अन्य समयमा सुनसान हुने गरेको रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष सुकसाङ तामाङले बताए। ‘पहिले सदरमुकामबाट हुने काम अहिले गाउँपालिकाको केन्द्रबाटै हुन्छ, सदरमुकाम झर्ने त नागरिकता र राहदानी बनाउने मात्रै हो,’ उनले भने, ‘सदरमुकाम सुनसान हँुदा व्यापारी चिन्तित भएका छन्।’
सदरमुकाम सुनसान हुनुको कारण स्थानीय सरकारको आगमन, विकासे अड्डाको पलायन र रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ स्याफ्रुबेंसी सडक निर्माण हुन्। देश संघीयतामा गएसँगै सदरमुकाममा रहेका अधिकांश कार्यालय नुवाकोट तथा धादिङ पुगेका छन्। यसअघि सदरमुकाममा रहेका जिविस, कृषि, पशु, शिक्षा, खानेपानी, महिला विकास, सहरी विकासलगायत विकासे कार्यालयमा सेवाग्राहीको भीड हुन्थ्यो। तर अहिले कृषि, पशु, शिक्षा, महिला विकास गाउँपालिकामै शाखाको रूपमा स्थापना भएका छन्।
यता नुवाकोटमा पनि सदरमुकामभन्दा स्थानीय तहका केन्द्रमा चहलपहल बढी छ। नगर र गाउँपालिकाका केन्द्र पुग्ने सडकको सहजताले गाउँ भरिँदै गएको छ। गाउँमै सबै सेवासुविधा उपलब्ध भएपछि अति आवश्यक कामबाहेक सदरमुकाम विदुर आउनेहरूमा कमी आएको छ। जसले गर्दा सदरमुकामको चहलपहल घट्दै गएको हो। चहलपहल घट्न थालेपछि विदुरमा सञ्यवसाय पनि ओरालो लागेको व्यावसायी बताउँछन्।
यातायातको सुविधा गाउँसम्मै पुगेपछि सदरमुकाममा उपलब्ध वस्तु उही मूल्यमा आफ्नै घरछेउमा पाइने भएपछि सदरमुकामको व्यापार खुम्चिनुका साथै गाउँबस्तीमा चहलपहल देखिन थालेको छ। सदरमुकाममा लाग्ने सेवाग्रहीको भीड आजभोलि सबै गाउँपालिका र वडातिर फर्किएको छ। सदरमुकामको घट्दो चहलपहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरी व्यवसाय भने संकटमा परेका छन्। सदरमुकाममा केही वर्षदेखि उर्लेको घरजग्गा कारोबार पनि सुस्ताउँदा स्थानीय तहको सदरमुकाम क्षेत्रको जग्गाको भाउ भने अकासिएको छ।
दोलखा, रामेछाप र सिन्धुलीका सदरमुकामभन्दा पनि गाउँबस्तीमा चहलपहल बढी छ। स्थानीय तह बलियो बन्दै जानु र ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार भएपछि मुख्य व्यापारिक केन्द्रमा चहलपहल घटेको छ। सदरमुकामको घट्दो चहलपहलले स्थानीय तहका कार्यालय आसपासका क्षेत्रमा भने व्यस्तता बढाएको छ।
प्रकाशित: ३ कार्तिक २०७६ ०२:२६ आइतबार