४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गुपचुप पार्न खोजिएको रौतहट घटना, यसाे भन्छन् पीडित

काठमाडौं - २०६४ सालमा रौतहटमा भएको बम विस्फोटको क्रममा २२ जनाको ज्यान गएको र घाइतेलाई इँटाभट्टा चिम्नीमा राखी जलाइएको घटना त्यतिबेलै गुपचुप पार्न खोजिएको भेटिएको छ। कर्तव्य ज्यान मुद्दामा मुछिएका प्रतिनिधिसभाका निलम्बित सांसद मोहम्मद आफताब आलम १२ वर्षपछि पक्राउ परेपछि मिलेमतोमा घटना गुपचुप पार्न खोजिएको भेटिएको हो।

बम विस्फोटका क्रममा २२ जनाको ज्यान गएको र घटना गुपचुप पार्न घटनास्थलमा प्रमाण नष्ट गरिएको थियो भने अध्ययनका लागि पुगेका मानवअधिकारकर्मीलाई समेत आक्रमणको प्रयास गरिएको थियो। रौतहटमा भएको बम बिस्फोट अध्ययन गर्न जाँदा आफूहरुमाथि आक्रमण भएको र घटना रहस्मय भएको एकमहिनापछि मानवअधिकारकर्मीले सार्वजनिक गरेका थिए। घटनास्थलबाट डेढ किलोमिटरको दूरीमा रहेको इलाका प्रहरी कार्यालयले बम बिस्फोटबारे थाहै नपाएको जवाफ दिएको थियो। तत्कालै प्रारम्भिक तथ्यको आधारमा सरकारले विज्ञको संलग्नतामा उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको यथार्थ विवरण सार्वजनिक गर्न मानवअधिकारकर्मीले मागसमेत गरेका थिए।

बम विस्फोटका क्रममा २२ जनाको ज्यान गएको र घटना गुपचुप पार्न घटनास्थलमा प्रमाण नष्ट गरिएको थियो भने अध्ययनका लागि पुगेका मानवअधिकारकर्मीलाई समेत आक्रमणको प्रयास गरिएको थियो।

२०६४ चैत २७ मा भएको बम बिस्फोटको घटनालगत्तै कसैले पनि अनुसन्धान गर्न सकेका थिएनन्। घटनाको अध्ययन गर्न कुनै पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदाय जान सकेका थिएनन्। छानबिनका पुगेका केही मानवअधिकारकर्मीलाई पनि आरोपितले रोकेका थिए।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले घटनाको २७ दिनपछि एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो। बम बिस्फोट भएको २० दिनपछि घटनास्थलका बारेमा स्थानीय प्रहरीलाई कुनै जानकारी नभएको, घटनास्थल पुगेर तथ्य बुझ्न खोज्दा आक्रमणको प्रयास भएको थियो।

यस्तो थियो घटना

रौतहट राजपुर फरहदस ४ स्थित नेपाली कांग्रेस रौतहटका सभापति तथा क्षेत्र नम्बर २ का संविधानसभा सदस्यमा निर्वाचित महमद अफताव आलमका काका शेख इद्रिसको खल्या घरमा बम बिस्फोट भएको थियो। चुनावमा बुथ क्याप्चर गर्न भन्दै २०६४ चैत २७ भारतबाट बम बनाउन ल्याइएको र केही प्राविधिक गडबडी हुँदा बिस्फोट भएको थियो। बिस्फोटमा आलमको काको घरको छाना पूरै उडेको थियो।चैत २८ मा संविधानसभाको चुनाव भएको थियो।

बम बिस्फोटमा परी २२ वर्षे पिन्टु भन्ने त्रिलोकप्रताप सिंह, २३ वर्षे बसिअख्तर मिया कवाडी, नाम नखुलेका एकजना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको थियो। घटना लुकाउन आलमले आफ्नो घरभन्दा उत्तरतर्फ मुस्ताक राजाको इँटाभट्टामा मृतकको शव लगेर हालिदिएको स्थानीयको भनाई उद्धृत गर्दै इन्सेकको प्रतिवेदनमा छ। बम विस्फोटमा घाइते भएकालाई इँटाभट्टाको चिम्नीमा जिउँदै फालिएको पीडित परिवारले बताएका थिए। ‘प्रहरीले २०६५ वैशाख १७ सम्म बम बिस्फोट नभएको, घटनास्थल सावित हुन नसकेको जनाएको थियो,’ प्रतिवेदनमा भनिएको छ।

बम बिस्फोट भएको घरमा प्रमाण मेटाउन ‘घटना भएको घरमा तत्कालै नयाँ खपटाले छाएको, नयाँ बाँसको घरको छनाको केही भागमा प्रयोग भएको, घरका भित्ता चर्केको, नयाँ पर्खाल लगाएको, घरमा नयाँ भुस राखिएको थियो।’
‘घरमा राखिएको भुस निकाली हेर्न भन्दा अधिकारकर्मी दीपेन्द्र झा र पीडितपक्षलाई स्थानीयले आक्रमणको प्रयास गरेका थिए,’ प्रतिवेदनमा उल्लेख छ। बम बिस्फोट भनिएको घरको विवरण जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन एसपी लक्ष्मण न्यौपानेलाई जानकारी गराउँदा घटना भएको बताएका थिए। ‘एसपी न्यौपानेले घटना भएको भन्ने सनाखत हुन नआएको बताएका थिए,’ इन्सेकको प्रतिवेदनमा उल्लेख छ।

यसो भन्छन् पीडित
एक प्रत्यक्षदर्शीका अनुसार बम लागेर घाइते भएकाले अस्पताल लैजान रुँदै गुहार गरेका थिए। आधा रातमा प्रहरीको गाडीमा आफताब आलम चढेका र बीचमा ट्याक्टरमा घाइते राखी इँटाभट्टाको चिम्नीमा लगिएको प्रत्यक्षदर्शीको भनाइ प्रतिवेदनमा छ। मृतक त्रिलोकप्रतापका बुबा नारायण सिंहले छोरालाई जबर्जस्ती चुनाव प्रचारप्रसारमा लाने भन्दै लगिएको बताएका थिए। उनले छोरालाई अफताबका भाइ डा.समीरले इन्जेक्सनमा विष राखी नशामा दिएको आफूले थाहा पाएको बताएका थिए। पैसाको आडमा घटना लुकाउन खोजेको उनले दाबी गरेका थिए।

मोहमद ओसीकी आमा रोक्सानाले आफ्नो छोरालाई जर्बजस्ती चुनाव प्रचारमा लगिएको तर भोलिपल्ट मरेका खबर पाएको बताएकी थिइन्। ‘मेरो छोरा घाइते ल्याइदिएको भए पनि म उपचार गराउँथे। अपांग भए पनि म पाल्न सक्थें। मलाई आलमले गल्ती भयो यसको लागि खेत र २ लाख ५० हजार दिन्छु भनें। यदि काठमाडौं गएमा घरमा आगो लगाई मार्ने धम्की दिएको छ,’ उनले इन्सेकसँग भनेकी थिइन्। पीडितका परिवारले आलमसहित चारजनाविरुद्ध हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

१२ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा मुछिएका प्रतिनिधिसभाका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई पक्राउ परेपछि घटना बाहिर आएको हो। सर्वोच्च अदालतको आदेशको ताकेतापछि प्रहरीले गत आइतबार पक्रेको हो। बम बनाउने क्रममा बिस्फोटमा परी आठजना घाइतेलाई जलाएर मारेको आलमलाई आरोप लागेको छ। सर्वोच्चले २०६९ जेठ १६ गते पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो। प्रहरीले पक्राउ नगरेपछि पीडितले सर्वोच्चको आदेश कार्यान्वयन नभएको भन्दै गृहमन्त्रालय र नेपाल प्रहरी दुवैलाई अवहेलना मुद्दा दर्ता गरेलगत्तै आलमलाई पक्राउ गरिएको हो।

तत्कालीन रौतहटका एसपी लक्ष्मण न्यौपानेले शव नभेटिएको र अनुसन्धानका लागि रौतहट पुगेका तत्कालीन एसपी जयबहादुर चन्दले पक्राउ गर्न आधार नभेटिएको भनेपछि पीडितले सर्वोच्चमा रिट दर्ता गरेका थिए। पक्राउ नगरी आलटाल गरेको प्रहरीले बाध्य भएर आलमलाई पक्राउ गरेको थियो। आलम पक्राउ परेपछि सोमबार सांसद पदबाट निलम्बित भएका थिए।

प्रकाशित: ३० आश्विन २०७६ ०१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App