१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जब सी फर्किए, फूल पनि ओइलिए

काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आउनुभन्दा अगाडि उपत्यकाका अधिकांश स्थानमा रातारात काम गरेर चिटिक्क पारियो। सडक कालोपत्रे भयो। सडकका छेउछाउ गमलामा फूल राखी सजाइयो। रंगरोगन गरिएकाले सडकसमेत चिरिच्याँट्ट देखिएको थियो तर आइतबार सी नेपालबाट फर्किएलगत्तै गमलाका फूलहरू ओइल्याउन थालेका छन्।

तीनकुने पार्कमा रातारात कृत्रिम ढिस्को हालिएको ठाउँका बिरुवाहरू सुक्न थालेका छन्। गत वर्ष भदौमा भएको बिमस्टेक सम्मेलनमा पनि झार–जंगल उम्रिएको, निर्माण सामग्री राखिएको तीनकुने यसैगरी छोपिएको थियो। उपत्यकाको चोक–चोकमा चिनियाँ राष्ट्रपति सी र नेपालकी राष्ट्रपति विद्यादेवी भन्डारीको फोटोवाला होर्डिङ बोर्ड पनि च्यातिन थालेको छ। धेरै ठाउँका फ्लेक्सहरू उठाइएको छ। दुर्लभ तस्बिर राखिएको बोर्डहरू च्यातिएका छन्। केही गमला फुटेका छन्।

विदेशी पाहुनालाई स्वागत गर्न सिंगारिएको करिब दुई दिन त सुन्दर देखियो काठमाडौं तर सुरक्षाविहीन भएपछि अहिले फेरि पुरानै अवस्थाका काठमाडौं पुगेको छ। विदेशी पाहुना आउँदा काठमाडौंको सुन्दरतामा निखार आए पनि काठमाडौं महानगरपालिकालगायत सम्बन्धित निकायले व्यवस्थापनमा ध्यान दिन नसक्दा सडकका छेउछाउमा रोपिएका बिरुवा, गमलामा राखिएका फूल साहाराविहीन बन्न पुगेका हुन्।

विदेशी पाहुँना आउँदा सरकारले छारो हाल्न जति राजधानी काठमाडौंलाई सिँगारेको थियो, उत्ति नै सर्वसारधारणले पनि आलोचना गरेका छन्। ब्युटिफिकेसन दुई दिन नबित्दै पुरानो अवस्थामा फर्किदा सहरबासीले आलोचना गरेका छन्। तीनकुनेमा भेटिएका गौसलाका रञ्जना आचार्यले विदेशी पाहुँनाको आँखा छल्न रंग्याएको गमलाका फूलहरू सरकारले संरक्षण गर्न नसकेपछि अहिले साहाराविहीन पुगेको बताइन्।

उनले भनिन्, ‘सरकारले विदेशी पाहुनाका लागि भनेर रातारात काठमाडौं चिरिच्याट्ट पारेको थियो। त्यस्तो कृत्रिम सुन्दरता सी बसुन्जेलसम्म मात्रै टिक्यो। अहिले राखिएको गमलाका फूल र हरियाली देखाउन रोपिएका बिरुवाहरू ओेइलिएका छन्। तर, संरक्षणमा सरकारको ध्यान पुगेको छैन।’ सरकारले लाज छोप्न करोडौं खर्चेर ब्युटिफिकेसन गरे पनि संरक्षणमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा खर्च मात्रै खेर गएको उनले बताइन्। सामाजिक सञ्जालहरूमा समेत यसको चर्को आलोचना भएको छ। मेघनाथ धरेलले फेसबुकमा लेखेका छन,‘काठमाडौंका जनता भाग्यमानी रहेछन, यसरी विदेशी पाहुँना आइरहे त काठमाडौं सहर दुई दिनका लागि भए पनि सफा देख्न पाइन्थ्यो।’

माइतीघरमा देखावटीका लागि सजाइएका फूलका गमला भने सम्बन्धित निकायले उठाएर लगेको छ। काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले तीनकुनेमा मात्रै गमला राखेकाले अरू क्षेत्रमा कसले राखेको भनेर जानकारी नभएको बताए। ‘महानगरपालिकाले तीनकुनेमा गमला राखेको हो,’ उनले भने, ‘अरू ठाउँमा कसले राखेको थाहा भएन। तीनकुने सजाउन राखिएको गमला र रोपिएको बिरुवाको संरक्षणमा लाग्छौं।’ उनले ब्युटिफिकेसनमा कति खर्च भयो भनेर अहिलेसम्म यकिन नभएको बताए। उनका अनुसार महानगरपालिकाले तीनकुने पार्कको छेउछाउ माटो भरेर फूल र बिरुवा रोप्ने, फोहर उठाउने, धुलो बढार्ने, बानेश्वर, माइतीघर, त्रिपुरेश्वरमा रंगरोगन गर्ने, झन्डा राख्ने, बिजुली र सोलार बत्तीका पोल पुछ्नेलगायत काम महानगरपालिकाले गरेको थियो।

प्रकाशित: २८ आश्विन २०७६ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App