९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

छाडा चौपाया व्यवस्थापनमा ठूलो चुनौती

नेपालगञ्ज- नेपालगञ्ज बजारमा छाडिएका पशुचौपाया नेपालगञ्ज उपमहानगरपालिकाको व्यवस्थापनका लागि ठूलो चुनौती बनेको छ।     
     
गाई, साँढे, सुङ्गुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौको सङ्ख्यामा भेटन सकिन्छ। पछिल्लो समय दैलेखमा छाड्न लगिएका गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म आइपुगेका छन्। यो घटनाले देशैभरि उपमहानगरपालिकाको आलोचना समेत भएको थियो।     

सो घटनामा केही व्यक्ति दोषी देखिएको सरकारी छानबीन टोलीले पनि ठहर गरेको छ। छानबिन समितिले हिजो गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाउँदै उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गरेको छ।

गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका झण्डै तीन सयमध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्ल आसपास क्षेत्रमा मृत फेला परेका थिए। यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिका निर्णय आलोचित बनेको थियो। अहिले उपमहानगरपालिकाले नेपालगञ्जको पुरैनीको खुल्ला स्थानमा तारवार गरि चौपाया थुन्ने गरेको छ।     
     
नेपालगञ्जको फूल्टेक्रामा सानो आकारको काञ्जी हाउसमा सबै छाडाचौपाया नअट्ने भएपछि सो स्थानमा खाली जग्गामा खुल्ला रुपमा छाडाचौपाया थुन्ने गरिएको नगर प्रमुख डा. धवलशम्शेर राणाको भनाइ छ। तर, यति गर्दा पनि आफ्नो चौपाया छाडा छाड्ने नगरका पशुधनीको प्रवृत्ति भने जस्ताको त्यस्तै छ।

'हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडाचौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ। नेपालगञ्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुनसक्छ ?'- नगर प्रमुख राणाको प्रश्न छ।     
     
नेपालगञ्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन। सीमापारी भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौंको सङ्ख्यामा पशुयता धपाउने गरिएको छ। वर्षात शुरु हुने समयमा खच्चर कारोबारीका रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन बल्झिएको छ।     

केही समयअघि नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या बढेपछि भाले कुकुरको बन्ध्याकरण शिविर नै सञ्चालन गरेको थियो। शिविरमा करीब २ सय कुकुरको बन्ध्याकरण गरिएको थियो। रासस  

प्रकाशित: ९ आश्विन २०७६ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App