६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चाडपर्वमा सुरक्षा चुस्त पार्न

आशिष पुडासैनी
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको दसैं, तिहार र छठ पर्र्वलाई लक्षित गरेर सर्वसाधारणका लागि सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वमा हुनसक्ने विभिन्न दुर्घटना, ठगी र गैरकानुनी कार्यलाई मध्यनजर गर्दै महाशाखाले असोज ५ गतेदेखि सो सुरक्षा योजना ल्याएको हो।

महानगरीय ट्राफिक महाशाखाले विशेष सुरक्षा नीतिअनुरुप उपत्यका बाहिरिने यात्रुको सहजता तथा ठगी नियन्त्रणका लागि उपत्यकाका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष राखेको छ। चाडपर्वको मौकामा हुने दुर्घटनालाई रोक्न ट्राफिक प्रहरीले फरक–फरक समयमा विभिन्न ७० स्थानमा नियमितसँगै थप ३५ स्थानमा विशेष मादक पदार्थ सेवन (मापासे) चेकिङ सुरु गरेको छ।

ट्राफिक महाशाखाका अनुसार सुरक्षा योजनालाई चुस्त बनाउनका लागी ट्राफिक प्रहरीले चार समूह बनाइ मापासे चेकिङको कामकारबाही गर्दै आएको छ। चेकजाँचका क्रममा मापासे सेवन गरेको पाइए पहिलो पटकका लागी अभिमुखीकरणको कक्षा र एक हजार जरिबाना गरिने र पुनः मापसे सेवन गरेको पाइए अभिमुखीकरण कक्षासहित एक हजार र लाइसेन्स प्वाल पारिने जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखका प्रवक्ता रविकुमार पौडेलले नागरिकलाई बताए।

आफ्नो विशेष सुरक्षा नीतिको जानकारी दिँदै उनले भने, ‘नजिकिदै गरेको दसैं र तिहारमा हुनसक्ने सम्भाव्य दुर्घटना तथा अन्य अनैतिक कार्यलाई निरुत्साहित गर्न हामीले विशेष योजना ल्याएका हौ। चाडपर्व भन्दै मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी चलाउँदा स्वभाविक रुपमा दुर्घटनाको जोखिम बढाउँछ। यसलाई रोक्न हामीले विशेष सुरक्षा योजना ल्याएका हौं।’

उनका अनुसार चाडपर्वलाई नै लक्षित गरेर हुने विभिन्न गैरकानुनी कार्यलाई रोक्न ट्राफिक प्रहरीले उपत्यका भित्रिने र बाहिरीने नौ नाकामा विशेष सुरक्षा चेकजाँच सुरु गरेको छ। ट्राफिक प्रहरीको यो विशेष सुरक्षा कार्यक्रम छठ पर्व नसकिँदासम्म रहनेछ। यसबाट ट्राफिक प्रहरीले चाडपर्वमा अनधिकृत रुपमा उपत्यका भित्रिने तथा बाहिरीने गैरकानुनी वस्तुहरु रोकिने उनको भनाइ छ।

५ सय स्वयमसेवक परिचालन
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वमा यात्रु सहजताका लागि ट्राफिक प्रहरी बाहेक ५ सय जनालाई असोज ५ गतेदेखि नै स्वंयमसेवकको रुपमा खटाएको छ। महाशाखाका अनुसार उनीहरुलाई एकदिने अभिमुखीकरण तालिमपश्चात विभिन्न स्थानमा २५ समूह बनाएर परिचालन गरिएको छ।

चाडपर्वमा ट्राफिक प्रहरीको बढ्दो कार्यव्यस्ततालाई ध्यानमा राखेर स्वंयमसेवक परिचालन गरिएको बताइएको छ। उनीहरुको मुख्य काम सर्वसाधारणलाई आकाशे पुलबाट हिँड्न प्रोत्साहन गर्ने, वृद्धवृद्धा, बालबालिका र अपांगता भएकालाई बाटो काट्न सहयोग गर्ने, लेन अनुशासनको जानकारी दिने र आवश्यक्ता अनुरुप ट्राफिक प्रहरीलाई मद्दत गर्ने रहेको प्रवक्ता पौडेलले जानकारी दिए। (प्रशिक्षार्थी)

प्रकाशित: ८ आश्विन २०७६ ०२:२१ बुधबार

महानगरीय_ट्राफिक_प्रहरी