६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सवारीसाधनलाई प्रदेश २ छिचोल्न पाँच घण्टा २५ मिनेटको सीमा

वीरगञ्ज- बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नं. २ को ८ जिल्ला छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा तोकेको छ।     
     
आर्थिक वर्ष २०७६/०७७ को साउन महीनामा मात्र ९२ वटा सवारी दुर्घटना भएकोमा ४५ जनाले ज्यान गुमाएपछि प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यस्तो समयसीमा तोकी ‘टाइमकार्ड’ लागू गरेको ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहले बताए।     
     
समयसीमा तोकिएपछि पश्चिमबाट पूर्वतर्फ जाने तथा पूर्वबाट पश्चिमतर्फ आउने सवारीसाधनले प्रदेश नं. २ को ८ जिल्लाको २ सय २५ किलोमिटरको बाटो पाँच घण्टा २५ मिनेटभित्र पार गरी सक्नुपर्ने नियम लागू भएको छ।     
     
प्रदेश नं. २ को पथलैयादेखि पूर्वको भारदहसम्म २ सय २५ किलोमिटर तय गर्दा चालक तथा यात्रुलाई सहज होस् भनेर प्रदेश नं. २ को मध्य भाग लालगढमा ट्राफिक प्रहरीले बनाएको विश्रामस्थलमा १० मिनेट रोक्न सक्ने व्यवस्थासमेत मिलाइएको छ। त्यहाँ यात्रुका लागि खानपान, शौचालय, स्नानगृह समेतको व्यवस्था मिलाइएको बताइएको छ।     
     
कुनै सवारीसाधन अत्यधिक गतिमा तोकिएको समयभन्दा चाँडै गएमा त्यस्तो सवारीसाधनलाई कारवाहीसमेत गरिने जनाइएको छ। ‘हाम्रो अभियान सहज र सुरक्षित ट्राफिक व्यवस्थापन’ भन्ने नाराका साथ लागू गरिएको टाइमकार्डका कारण सवारी दुर्घटनामा कमी आउने विश्वास लिइएको छ।     
     
आर्थिक वर्ष २०७५/०७६ मा एक हजार ३ सय ५२ वटा सवारी दुर्घटनामा परी ४ सय ९६ जनाले ज्यान गुमाएका थिए भने ६ सय ५६ सख्त घाइते र ९ सय १४ सामान्य घाइते भएका थिए। सोही आवमा ६१ हजार ३ सय ७० सवारीसाधनलाई कारवाही गरी एक करोड ९१ लाख आठ हजार रुपैयाँ जरिवाना बापत असुल गरिएको थियो। रासस

प्रकाशित: ७ आश्विन २०७६ १३:३३ मंगलबार

सवारीसाधन छिचोल्न सीमा