१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘मिटर ब्याजी’ प्रदेशीको पोलिग्राफ टेस्ट

सर्लाही - ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम प्रदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेस्ट (सत्यता परीक्षण) गराएको छ । रौतहटको चन्द्रनिगाहपुर लगी कलवारलाई पोलिग्राफ टेस्ट गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । ‘अभियुक्त कलवारले जाहेरीकर्ताले लगाएको आरोप अस्वीकार गरेकाले सत्यतथ्य पत्ता लगाउन पोलिग्राफ टेस्टको प्रयोग गरेका हौं,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘अभियुक्तले आरोप इन्कार गरे थप अनुसन्धानमा पोलिग्राफ टेस्टको ठूलो भूमिका हुन्छ ।’

जिल्ला प्रहरी कार्यालयको टोलीले कलवारलाई गत भदौ १५ गते साँझ मलंगवाबाट पक्राउ गरेको थियो । लालबन्दी नगरपालिका–४ निवासी रुक्मिणी चौधरीले दिएको जाहेरीका आधारमा कलवारलार्य पक्राउ गरी ठगी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार साँढे चार लाख रुपैयाँ ऋण लिएको र ब्याजसहित पटक पटक गरेर नौ लाख रुपैयाँ तिरिसक्दासमेत अझै १५ लाखको कागज रहेको भन्दै साहले आफू र पतिलाई मुद्दा हाल्ने धम्की दिएको चौधरीको जाहेरीमा उल्लेख छ ।

चर्को ब्याज लिएर ऋण लगानी गर्दै ठगी गरेको आरोपमा पक्राउ परेका ५६ वर्षीय साहविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । ‘अहिले ठगी मुद्दामा बढी प्राथमिकता दिएका छौं र सँगसँगै सम्पत्ति शुद्धीकरणमा समेत प्रारम्भिक अनुसन्धान गर्दै छौं,’ प्रउ भट्टराईले भने, ‘सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा त हामी त्यति धेरै एक्स्पर्ट छैनौं, तापनि प्रारम्भिक रूपमा अनुसन्धान गरिरहेका छौं ।’ सम्पत्ति शुद्धीकरण विभागले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई त्यससम्बन्धी अनुसन्धान गर्न पत्र नै पठाएको थियो ।

आइतबार साँझ काठमाडौं जाने तयारीका साथ घरबाट बाहिर निस्कनेबित्तिकै प्रहरीले साहलाई मलंगवाबाट पक्राउ गरेको हो । आप्mनो नभई छोरीज्वाइँलगायत आफन्तको नाममा कागज गराउने गरेकाले सम्पत्ति शुद्धीकरणमा समेत साह उम्कन सक्ने सम्भावना रहेको एक जानकार बताउँछन् ।
सुदखोरको रूपमा चर्चा कमाएका साहविरुद्ध केही दिनअघि ऋणपीडितहरूले काठमाडौंमै निरन्तर दबाबमूलक प्रदर्शन गरेका थिए । एक पटक लिएको ऋणको पाँचवटासम्म छुट्टाछुट्टै तमसुक बनाएर पाँचगुणा बढी ऋण देखाउने गरेको पीडितको आरोप छ ।

बकाइदा ल्याप्चे हानिएको तमसुक नै भएपछि प्रदेशी कानुनी रूपमा बलियो रहेको र अदालतबाट धमाधम मुद्दा जितिरहेको र ऋणीहरू भने धमाधम जेल जान बाध्य भइरहेका थिए । महिला, त्यसमाथि अनपढ ऋणीलाई चार÷पाँचवटा कागजमा सहीछाप गराउने गरेको पीडितले आरोप लगाउँदै आएका छन् ।
प्रदेशीले कतिपय ऋणीलाई मिनाहाका लागि यौन आशयको प्रस्तावसमेत गर्ने गरेको पीडितले खुलेआम आरोप लगाउँदै आएका छन् । प्रदेशीले २ सय ९९ जना ऋणीविरुद्ध अदालतमा मुद्दा दिएको र त्यसमध्ये कतिपय ऋणी जेल गइसकेका छन् भने कतिपयको नाममा पक्राउपुर्जी जारी भएको छ । पक्राउपुर्जी जारी भएका प्रदेशीका दर्जनौं ऋणीहरू लुकेर बस्न बाध्य छन् ।

केही वर्षअघि आप्mनै घरमा काम गर्ने एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपसमेत लाग्यो प्रदेशीमाथि । तर पीडित परिवारलाई आर्थिक प्रलोभनमा पारेर अदालतमा बालिकालाई बयान फेर्ने लगाएपछि साह थुनामुक्त भएको प्रहरी स्रोतले जनायो ।यता प्रदेशीले भने आफूविरुद्ध ऋण तिर्न नचाहनेहरूको भिड संगठित भई लागेको बताउँदै आएका छन् ।

प्रकाशित: ७ आश्विन २०७६ ०४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App