महेन्द्रनगर - कञ्चनपुर जिल्लाको चुरे फेदमा रहेको ब्रह्मदेव जैविकमार्गस्थित बन्दाताल क्षेत्रमा विश्वमैं दुर्लभ राजधनेश र राजलाहाचे चरा फेला परेका छन्। केही दिनअघि सर्वेक्षणका क्रममा यी दुई प्रजातिका चरा देखापरेका हुन्। पन्छी संरक्षण संघका जीवविज्ञ हिरुलाल डंगौराले ब्रह्मदेव जैविकमार्ग छेउछाउमा दुर्लभ राजधनेश र राजलाहाचेसँगै ८८ प्रजातिका चरा सर्वेक्षणका बेला देखिएको जानकारी गराए। जसमा राजधनेश दुई र राजलाहाचे आठवटा फेला परेका थिए।
अंगे्रजी भाषामा राजधनेशलाई ‘गे्रट हर्नबिल’ भनिन्छ। हेलमेट जस्तो रंगिन टाउको हुने राजधनेश धनेश प्रजातिमा सबैभन्दा ठूलो चरा हो।
प्रायः सानो झुन्डमा देखिने यो पन्छी निकै सुन्दर र आकर्षक देखिने जानकारी गराउँदै डंगौराले भने, ‘राजधनेशलाई स्थानीय भाषामा होमराई पनि भनिन्छ। जसको अर्थ जंगलको राजा हुन्छ। नेपालमा राजधनेशको संख्या एक सय ५० भन्दा कम रहेको अनुमान गरिएको छ।’ नेपालको वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित नौ पन्छीमध्ये राजधनेश पनि एक हो।
विश्वमै दुर्लभ मानिएको राजधनेशको भालेलाई पत्नीव्रता पन्छीका रुपमा पनि चिनिन्छ
युएनडिपी साना अनुदान कार्यक्रमको सहयोगमा नेपाल पन्छी संरक्षण संघ र नेपाल ग्रामीण विकास केन्द्रले सर्वेक्षण गर्दा लोपोन्मुख यी चरा फेला परेका हुन्। राजधनेशलाई साइटिस अनुसूची–१ मा सूचीकृत गरिएको छ। गुँड निर्माण र ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउने राजधनेशले ठूला र बुढा रुखको टोड्कामा गुँड बनाएर बस्छ। यो पन्छीले वर्षायाममा प्रजनन् गर्छ। राजधनेशको भालेले पोथीलाई अण्डा पारेपछि बच्चा नहुर्कन्जेलसम्म टोड्कामा रहेको गुँडमा थुनेर राख्छ। धनेश जोडीले हिलो र पोथीको विष्टाको सहयोगमा टोड्काको मुख पूरै टाल्छन्। त्यसमा बनाइएको सानो प्वालबाट पोथीले हावा र आहारा लिने गर्छ।
ओथारो अवधिभर पोथीलाई र त्यसपछि बच्चालाई पनि भालेले नियमितरुपमा बाहिरबाट आहारा खुवाउने गर्छ। सम्भवतः यही स्वभावका कारणले राजधनेशलाई पत्नीव्रता पन्छी पनि भनिने गरेको डंगौराको भनाइ छ। प्रकृतिमा भएका कतिपय किराफट्यांग्रा, मुसा तथा छिपकली राजधनेशका आहार हुन्। विभिन्न बिरुवा तथा फलपफूलका बिउ विस्तार र वितरणमा रानधनेशको भूमिका रहने भएकाले यसलाई जंगलको किसान पनि भनिन्छ। खास किसिमको बासस्थानमा मात्र पाइने यो चरा वातावरणीय सूचक पनि मानिन्छ।
त्यस्तै राजलाहाचे पनि लाहचे प्रजातिमध्ये सबैभन्दा ठूलो चरा हो। यसलाई स्वस्थ वनको सूचकको रुपमा लिइन्छ। राजलाहाचे समुद्र सतहबाट तीन सय मिटरको उचाइसम्म पाइन्छ। नेपाल पन्छी संरक्षण संघका विज्ञ कृष्ण भुसालका अनुसार नेपालमा राजलाहाचेको संख्या दुई सय ५० भन्दा कम रहेको अनुमान छ। पछिल्ला दशकमा वन विनाश र अतिक्रमणले ठूला र पुराना रुखहरुको अभावमा राजधनेश र राजलाहाचेको संख्या घट्दै गएको उनको भनाइ छ।
मानवीय क्रियाकलापका कारण बासस्थान शंकुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, डढेलो, घाँसे मैदानको नास, चोर सिकारी तथा व्यापार, रासायनिक मल र विषादीको बढ्दो प्रयोग, बदलिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणले थुप्रै प्रजातिका चरा संकटमा परेको पन्छी संरक्षण संघका विज्ञ भुसालले जानकारी गराए।
अहिलेसम्म नेपालबाट आठ प्रजातिका चरा लोप भैसकेका छन्। विश्वमै दुर्लभ मानिएका ४४ प्रजाति र एक सय ६८ प्रजातिका चरा राष्ट्रिय रुपमा संकटापन्न अवस्थामा रहेको भुसालले बताए। नेपालमा बासस्थान विनाश नै चराहरुका लागि मुख्य खतरा रहेको जानकारी गराउँदै उनले भने, ‘जसका कारण ८६ प्रतिशत चरा संकटापन्न अवस्थामा पुगेका छन्।’
प्राकृतिक स्रोत र जैविक विविधता संरक्षणमा जनसहभागिता र जनचासो अपरिहार्य रहेको नेपाल ग्रामीण विकाश केन्द्रका निर्देशक डा. रामबहादुर चौधरी बताउँछन्। वन्यजन्तु जोगाउन विभिन्न वैज्ञानिक अध्ययन र अनुसन्धानका नतिजा र सुझाव सर्वसाधारण र सरोकारवाला माझ पु¥याउन जरुरी भएको उनको भनाइ छ। शुक्लफाँटा राष्ट्रिय निकुन्जमा मात्रै चार सय २४ प्रजातिका चराको बासस्थान छ।
प्रकाशित: ६ आश्विन २०७६ ०२:१० सोमबार