२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लोप भए माटोका गाग्री

जाजरकोट- चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन्। पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा थियो। अहिले गाउँगाउँमा विद्युतीय उपकरण फ्रिजको प्रयोगले माटाका गाग्री हराएका हुन्।

परिवारका साथै घरमा पाहुना आउँदा वा बटुवाले पानी माग्दा माटाको गाग्रीमा राखिएको चिसो पानी दिने चलन थियो। उक्त गाग्रीको चिसो पानी पिउनेहरु सन्तुष्ट हुने गरेको भेरी नगरपालिका– ३ का भीमबहादुर खत्रीले बताए। पाहुनाको पहिलो रोजाई नै यस्ता गाग्रीको पानी हुने गरेकाले माटोका गाग्रालाई महत्व दिने गरेको उनको भनाइ छ। 

हिजोआज जिल्ला सदरमुकाम मात्र होइन, गाउँगाउँमा समेत त्यस्ता गाग्रीका पानी भेटिदैन । बढ्दो सहरीकरण, देखासिकी र विद्युतीय सामग्रीको प्रयोगले परम्परागतरुपमा यस्ता सामग्री लोप भएका हुन् ।  ‘मृत्युका बेला माटोको गाग्रीमा रहेको पानी दिने चलनसमेत हराएको छ’, शिवालय–९ का धर्मबहादुर बुढाले भने ‘चर्को घाममा यात्रा गर्दा थाकेको शरीरलाई शीतल बनाउन यसरी चिसो पारिएको पानी पिउन दिइन्थ्यो तर अहिले त्यस्तो पाइँदैन ।’

यता सिलाभर र प्लाष्टिकका भाँडाका कारण पनि माटाका सामाग्रिमा कमि आएको हो। माटाका गाग्रीको लोप भएपछि पूरानै स्वादको पानि पिउन लेकतिर धाउनु पर्ने बाध्यता रहेको बारेकोट गाउँपालिका– ५  जनकबहादुर शाहीको भनाइ छ। 

निर्माण भएका माटाका भाडाँहरुको उर्युक्त बजार व्यवस्थापन गर्न नसक्दा पनि समस्या देखिएको हो। जसको कारण यस्ता भाँडा बनाउने कुमाल समुदायले पेशा नै परिवर्तन गर्न थालकालेका छन्। चौरजहारी नगरपालिकाका गोपाल रेग्मीका अनुसार माटा भाँडा बिक्री हुन छाडेपछि कुमाल समुदाय पेशाबाट विस्थापित हुँदै गएका हुन्। रासस   
 

 

प्रकाशित: ३० भाद्र २०७६ ०९:२३ सोमबार

गाग्री कुमाल माटो लोप