वालिङ- यहाँका स्थानीयले वडा कार्यालय भवन निर्माणका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्।
स्याङ्जाको भिरकोट नगरपालिका–७ को वडा कार्यालय भवन निर्माणका लागि वडा नं ७ निवासी रमेशबहादुर गोदार र वडा नं ६ निवासी बाबुराम केसीले करीब डेढ/डेढ रोपनी जग्गा उपलब्ध गराएको वडाध्यक्ष शेषकान्त अर्यालले बताए।
पानछाङमा रहेको जग्गा दुवै जग्गादाताले करीब डेढ/डेढ रोपनी निःशुल्क वडाका नाममा नामसारी गरिदिएर हाल उक्त स्थानमा भवन निर्माण भइरहेको वडाध्यक्ष अर्यालले जानकारी दिए।
वडा कार्यालयका लागि अन्य जग्गादाताले पनि निःशुल्क जग्गा उपलब्ध गराउने इच्छा प्रकट गरेकाले आगामी दिनमा आवश्यक प्रक्रिया पूरा गरी वडाको नाममा ल्याइने वडाध्यक्ष अर्यालको भनाइ छ।
सामाजिक कार्यका लागि र स्थानीयवासीको सहजताका लागि आफूहरुले निःशुल्क जग्गा उपलब्ध गराएको जग्गादाताहरुको भनाइ थियो।रासस
प्रकाशित: २९ भाद्र २०७६ ०९:१७ आइतबार