२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

आइआइएमसीको नेपाल च्याप्टर गठन

काठमाडौं– भारतीय जनसञ्चार संस्थान (आइआइएमसी)को नेपाल च्याप्टर गठन भएको छ। अनिल गिरीको अध्यक्षमा ११ सदस्यीय नेपाल च्याप्टर गठन गरिएको सदस्य नविन झाले जानकारी दिए।

शनिबार राजधानीको याक एण्ड यति होटलमा एक कार्यक्रमको आयोजना गरी नेपाल च्याप्टर गठन भएको घोषणा गरियो। नेपाल च्याप्टरमा अधिकांश सदस्य आइआइएमसीमा पत्रकारिता अध्ययन गरेका सञ्चारकर्मी छन्। 

च्याप्टरले नेपाल भारत सम्बन्धमा सञ्चारमाध्यमको भूमिकाका विषयमा बहस, छलफल अध्ययन र अनुसन्धानको काम गर्ने सदस्य झाले बताए। उनका अनुसार आइआइएमसीमा अध्ययन गर्न जाने नेपाली सञ्चारकर्मीका लागि सहजीकरणको काम पनि नेपाल च्याप्टरले गर्नेछ। 

च्याप्टर घोषणा कार्यक्रममा भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपाल भारत सम्बन्ध जनस्तरमा रहेको भन्दै त्यसलाई दुबै देशका सञ्चारमाध्यमले अझै मजबुद बनाउन भूमिका खेल्नुपर्ने बताए। 

भारतीय जनसञ्चार संस्थानका महानिर्देशक कुलदीपसिंह धद्वालियाले दुइ देशको सम्बन्ध र विकास पत्रकारितामा आइआइएमसीको नेपाल च्याप्टरले भूमिका खेल्ने अपेक्षा गरे। उनले विकास पत्रकारिता पढ्नका लागि आउन नेपाली सञ्चारकर्मीलाई आग्रह समेत गरे। 

कार्यक्रममा हिन्दुस्तान टाइम्सकी नेसनल पोलिटिकल एडिटर सुनित्रा चौधरी, भारतको एनडीटिभीका वरिष्ठ कार्यकारी सम्पादक मनोरञ्जन भारती, एचटी डिजिटल मिडियाका वरिष्ठ पत्रकार प्रसाद सन्याल र देशसञ्चारका सम्पादक एवं वरिष्ठ पत्रकार युवराज घिमिरेसँग नेपाल च्याप्टर अध्यक्ष गिरीले सञ्चारको पछिल्लो ‘ट्रेण्ड’बारे समूहगत छलफल गरेका थिए। 

कार्यक्रममा आइआइएमसीका महासचिव हर्षेन्द्रसिंह वर्धन, एल्मुनाई एशोसियशनका सचिव रितेश वर्मा, नेपालका वरिष्ठ पत्रकारहरु तथा सञ्चारकर्मीको सहभागिता थियो। 

प्रकाशित: २३ भाद्र २०७६ ०४:१५ सोमबार

आइआइएमसी नेपाल_च्याप्टर गठन अनिल_गिरी