४ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

वालिङ– स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ।     

वालिङ नगरपालिका अन्तर्गत ८ र १० नम्बर वडामा अवस्थित घ्वाङखोलामा आवश्यक भौतिक पूर्वाधारहरु निर्माण गरेसँगै धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको क्षेत्र बन्दै गएको हो।     

वालिङ नगरपालिकाको मुख्य बजार वालिङबाट झण्डै तीन किलोमिटरको दूरीमा रहेको घ्वाङखोलासम्म पुग्न सडकको सहजता छ। स्थानीयवासीले बिहानीपख र साँझ हिँड्ने गन्तब्यको रुपमा यस ठाउँलाई लिन थालेका छन्।     

प्रकृतिको उपहार स्वरुप प्राप्त घ्वाङखोला सामुदायिक बनको घना जङ्गल, मनमोहक प्रकृतिको छटासँगै कृत्रिम रुपमा बनाइएका पुल, स्विमिङ पुल, माछा पोखरी, उद्यान, विभिन्न प्रकारका पिङहरु आगन्तुकका लागि आकर्षण हुन्।     

यसै ठाउँमा शिव पार्वतीको मन्दिर, विशाल हनुमानको मूर्ति, देवीदवता, नागहरु तथा जनावरहरुका मूर्तिहरु निर्माण गरिएकै कारण धार्मिक पर्यटकहरुको आकर्षण केन्द्र बन्न पुगेको व्यवस्थापकीय संस्था ग्रहौंसुर धार्मिक तथा वन पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले बताए।     

अध्यक्ष खाँणका अनुसार शहरी वन प्रवद्र्धन तथा उद्यान निर्माण कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय स्याङ्जामार्फत आर्थिक वर्ष २०७५/७६ मा १५ लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट तीन लाख रुपैयाँ प्राप्त भएको छ।     

वालिङ नगरपालिकाभित्रका १४ वटा वडामा एक/एक वटा वडास्तरीय पार्क, तीन वटा नगरस्तरीय पार्क बनाउने योजना रहेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।     

नगर प्रमुख खाँणका अनुसार घ्वाङखोलालाई चिल्ड्रेन पार्क, मनोरञ्जन पार्क, मानव निर्मित तालहरु, वाटर फन पार्क, नलेज पार्कका रुपमा विकसित गर्ने र सोही ठाउँमा पर्यटकलाई लक्ष्य गरी पर्यावरणीय रिसोर्टहरु निर्माण गर्ने नगरपालिकाको योजना छ।     

वडास्तरीय तथा नगरस्तरीय अन्य पार्कहरु निर्माणका लागि डिपिआरको काम चालु आर्थिक वर्षमै सम्पन्न गरी काम थालिने नगर प्रमुख खाँणले बताए। घ्वाङखोलामा प्रकृतिले दिएको बरदानसँगै कृत्रिम पूर्वाधारहरुको निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको क्षेत्र बनाउने प्रयास नगरपालिकाबाट भइरहेको छ।     

“वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउँदै गर्दा नगरभित्र पार्कको आवश्यकता महशुस गरी घ्वाङखोलामा पूर्वाधार निर्माण गरिरहेका छौं,” नगर प्रमुख खाँणले भने– “यस क्षेत्रमा पूर्वाधार निर्माणका लागि विभिन्न ठाउँबाट सहयोग भइरहेको छ। अब छिट्टै नै व्यवस्थित तरीकाले सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा स्थापित गर्छौं।”     

घ्वाङखोलामा आवश्यक पूर्वाधारहरु क्रमशः निर्माण गर्दै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थान बनाउने लक्ष्य रहेको वडा नं १० का वडाध्यक्ष अनन्तराज गैह्रेले बताए।     

“स्मार्ट सिटी निर्माण गर्ने क्रममा वालिङ नगरपालिका रहेकाले पनि वालिङमा पार्कको आवश्यकता छ,” वडा अध्यक्ष गैह्रेले भने– “नगरको आवश्यकता पूरा गर्ने गरी घ्वाङखोलामा काम अगाडि बढिरहेको छ।”     

विगतदेखि नै यस ठाउँमा वनभोज तथा र घुमघामका लागि हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेकाले यसलाई थप व्यवस्थित गर्न खोजिएको वडाध्यक्ष गैह्रेको भनाइ छ।     

अहिले यस ठाउँमा वनभोजका लागि आउनेहरुलाई लक्ष्य गरेर आवश्यक भाँडावर्तन, दाउरा तथा अन्य सामग्रीहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यस ठाउँको संरक्षण गर्न चारैतिर तारबार गरिएको छ भने पार्कको संरक्षण तथा रेखदेखका लागि एकजना हेरालु नियुक्ति गरिएको छ।     

जिल्लाकै प्रसिद्ध धार्मिक स्थल ग्रहौंसुर मन्दिरसम्म पुग्ने सडक पनि यसै स्थान भएर जाने भएकाले मन्दिर पुग्न चाहने दर्शनार्थीहरुलाई यस ठाउँमा लैजाने गरी काम भइरहेको वडा नं ८ का वडाध्यक्ष कमलप्रसाद सुवेदीले बताए।     

झण्डै एक सय ३० हेक्टर क्षेत्रफलमा फैलिएको घ्वाङखोला सामुदायिक वनको दिगो आम्दानीको स्रोतका रुपमा पार्कलाई विकास गर्न सकिने डिभिजन वन कार्यालय स्याङ्जाका सहायक वन अधिकृत वसन्तकेशव अधिकारीले बताए।     

घ्वाङखोलामा पर्या–पर्यटन विकासका लागि उद्यम स्थापना गर्ने उद्देश्यले आर्थिक सहयोग गरेको सहायक बन अधिकृत अधिकारीले बताए। अधिकारीका अनुसार डिभिजन वन कार्यालय स्याङ्जाले जिल्लाका पाँच ठाउँमा पर्या–पर्यटन विकासका लागि आर्थिक सहयोग गरेको छ।रासस   
 

प्रकाशित: २२ भाद्र २०७६ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App