१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तीजमा भएन चहलपहलः व्यवसायी निराश, इतिहासमै कम व्यापार

भैरहवा– हिन्दु महिलाहरुको महान पर्व तीज सकिए पनि होटल व्यवसायीहरु निराश बनेका छन्। लाखौं लगानी गरेर केही कमाउने भन्ने उद्देश्यले खोलिएका ती होटल तथा पार्टी प्यालेसले सबै भन्दा बढि आशा तीज पर्वमा कमाउने रहे पनि यस वर्ष रुपन्देहीलगायत देश भरका कयौं होटल व्यवसायीहरुमा मन्दी छाएको हो।

हामीहरुको पैसा कमाउने सिजन नै तीज हो तर यस वर्षको तीजमा संघसस्था तथा क्लबहरुले कार्यक्रम नै नगरेकोले पार्टी प्यालेस र क्याटरिङहरु सुनसान भएर गयो। अघिल्ला वर्षहरुमा तीज आउनुभन्दा दुई तीन महिना अघिबाटै बुकिङ हुन्थ्यो संघ–संस्थाहरुले समय नपाएर अग्रिम नै बुकिङ गराएर दर खुवाउने कार्यक्रम गर्थे तर यस पाली भने सुनसान रह्यो। होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश प्रसाद बेल्बासेले नागरिक न्युजलाई बताए।

तीजमा हुने भड्कला कार्यक्रम र फजुल खर्च रोक्ने उद्देश्यले रुपन्देही सहित कयौँ जिल्ला प्रशासन कार्यालयहरुले सूचना नै जारी गरेर तीज पर्वलाई फजुल खर्च नगरी मौलिक, सभ्य र शान्तिपूर्ण रूपमा मनाउन नमनाए कारवाही गरिने चेतावनी दिइएको थियो। यही प्रशासनको निर्देशनको प्रभावले यस वर्षको तीजमा होटल तथा पार्टी प्यालेसको व्यवसायमा कमि आएको भए पनि निर्णयले केही हदसम्म भड्किलोपन र फजुल खर्च मा कमि आएको अध्यक्ष बेलबासेको भनाई छ।

एकै दिन ३ देखि ४ वटा समूहको बुकिङ हुने होटलमा यस वर्ष भने खासै बुकिङ नभएको पौवा होटलका प्रबन्धक विष्णु भण्डारीले बताए। तीजमा विगत वर्षको तुलनामा आधा मात्र व्यवसाय भएको छ, व्यवसाय हुने भनेकै विशेष गरेर चाडपर्वको बेला हो, तर यो वर्ष खासै त्यसो हुन सकेन’, उनले भने। त्यस्तै भेरहवा स्थित किङ प्यालेस, पिस नाइट पार्टी प्यालेश, होटल ग्याप, रेडसन, रोयल कटेज लगायतका होटलमा पनि सोचे अनुरुपको व्यवसाय नभएको संचालकहरु निराश भउका छन्।

लाखौं लगानी लागाएर संचालनगरेको होटल व्यवसायमा तीज कार्यक्रमबाट सञ्चालन खर्च उठ्थ्यो, तर प्रशासनको निर्णयले व्यवसायीहरुलाई सकस भएको छ। केही पार्टी प्यालेस तथा क्याटरिङहरु पनि कारबाहीमा परिन्छ कि भनेर बुकिङसमेत गरेनन् भने प्रशासनको निर्णयले संघसस्थाहरुमा कारवाही हुने की भन्ने डर भएकोले यस वर्ष कार्यक्रम आयोजनामा कमि भएको हो।

यता महिला अधिकार कर्मीहरुले भने प्रशासनको निर्णय उपयुक्त नभएको भन्दै आलोचना गर्दै आएका थिए वर्ष दिनको आफ्नै मौलिक पर्व मनाउन धन खर्च गर्छु भन्दा पनि रोक लगाइनु आपत्तिजनक भएको महिला अधिकार कर्मीहरुको गुनासो छ।

भएन चहलपहल 
नेपाल सुनचादी व्यवसायी महासंघका उपाध्यक्ष पे्रमकुमार सेञ्चुरीले अहिलेसम्मको इतिहासमा सबै भन्दा कम व्यवसाय भएको तीज यही वर्ष भएको बताए। मानिसहरुमा चाडपर्व मनाउने रौनक हराउनु, आर्थिक मन्दी, उपभोक्ताको क्रय शक्ति घटनु, सुनको भाउ आकासिनु लगायतका कारणले यो साल चहलपहल नभएर व्यापार शुन्य भएको छ, अझ भएको गर गहना पनि उपभोक्ताले बाध्य भएर बेच्न पर्ने भएको बताए।

तीज सकेपनि बजारमा पोहोर साल जस्तो चहल पहल यस वर्ष भएन। किनमेलका लागि भारतिय सिमानाका सुनौली नौतनवामा पनि यसवर्ष व्यवसाय नभएको भारतिय व्यापारीहरुले बताएका छन्। यता भैरहवाको मुख्य बजार बैकरोडमा पनि गरगहना, कपडा र कस्मेटिकको पसलमा पनि यस वर्ष खासै व्यापार नभएको व्यवसायीहरु बताउँछन्। भैरहवाको मिलनचोकमा कस्मेटिक व्यवसाय गर्दै आएको महेश गुप्ताले भने यस वर्ष तीजको लागि ल्याएको सामानहरु बिक्री नभएर स्टक रहेकोे बताए। गत वर्ष भन्दा व्यापार केही राम्रो भए पनि यस वर्षको अपेक्षा गरेको भन्दा कम बिक्री भएको बताए।

प्रकाशित: १६ भाद्र २०७६ १५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App