५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोसी टप्पु आरक्षमा फेरि एकजना मारिए

इटहरी- अरू दिनझैं आइतबार बिहान सुनसरी कोसी गाउँपालिका–३ का ३० वर्षीय अनमोल मुखिया साथीसँग सप्तकोसी नदीमा माछा मार्न गए।  आरक्ष प्रशासनबाट पास लिएर उनी नदीतर्फ लागे।  आरक्ष प्रवेश स्थलनजिकै रूखले छेलिएको अवस्थामा हात्ती बसेको उनले पत्तै पाएनन्।  उनी त्यही हात्तीको आक्रमणमा परे।  आइतबार ११ बजेतिर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।

रैथाने जंगली हात्ती कोसी टप्पु वन्यजन्तु आरक्षमा डुलिरहन्छन्।  हात्तीले आक्रमण गरेलगत्तै अनमोलसँगै गएका सत्सङ मुखिया र धर्मेन्द्र मुखियाले भने भागेर ज्यान बचाए।  हात्तीको आक्रमणबाट मृतक अनमोलको परिवारलाई काजकिरिया खर्चबापत गाउँपालिकाले २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने बताएको छ।  हात्तीकै आक्रमणबाट जेठ २६ गते राति कोसी–८ का सदरुल मियाँको पनि मृत्यु भएको थियो।  साउन अन्तिम साता कोसी–३ की ६० वर्षीया लक्ष्मी यादव हात्ती आक्रमणमा परी घाइते भएकी थिइन्।  उनी अझै तंग्रिसकेकी छैनन्।

यसरी जंगली हात्तीको आक्रमणबाट कोसी टप्पु वन्यजन्तु आरक्ष र आसपासका क्षेत्रका सर्वसाधारणको शृंखलाबद्ध रूपमा मृत्यु भइरहेको छ।  हात्तीको आक्रमणबाट मानिसको शृंखलाबद्ध मृत्यु भइरहँदा प्रदेश र संघीय सरकार गम्भीर हुनुपर्ने गाउँपालिका अध्यक्ष अयुव अन्सारीले बताए।  ‘हात्तीबाट स्थानीय सर्वसाधारणलाई सुरक्षा प्रदान गर्न स्थानीय सरकारको स्रोत र साधनले मात्र भ्याउँदैन,’ उनले भने, ‘हात्तीबाट सर्वसाधारणलाई सुरक्षित गराउन प्रदेश र संघीय सरकार गम्भीर बन्नैपर्छ। ’

हात्तीकै विषयमा पिएचडी गरेका डाक्टर नरेन्द्र प्रधानले बस्तीमा पसेका हात्तीलाई लखेट्ने र हिर्काउने गर्दा बढी मानवीय क्षति हुने गरेको छ।  ‘कोसी टप्पु आरक्ष तथा आसपासका क्षेत्रमा हात्तीको संख्या पनि बढेको छैन अनि आजको भोलि जंगलको क्षेत्रफल पनि बढाउन सकिने अवस्था पनि छैन,’ उनले भने, ‘मानवीय क्षतिका घटना मान्छेकै लापरबाहीबाट हुने भएकाले गर्दा सचेत हुनुपर्छ। ’ उनका अनुसार हात्तीको आक्रमणबाट मान्छेले पनि आफ्नो प्रवृत्ति परिवर्तन गर्नुपर्छ।  कोसी टप्पु तथा आसपासका क्षेत्रमा हात्तीबाहेक अर्ना, बँदेल, भालु, चितुवालगायत जनावरका कारण पनि सर्वसाधारणलाई आक्रमण गर्ने क्रम बढ्दो छ।  जसले गर्दा जहिल्यै त्रास सिर्जना हुनु स्वाभाविकै हो।

हात्तीसँगै अन्य जनावरले एकातिर मानवीय क्षति र अर्कातिर घर भत्काउने तथा अन्नबाली नोक्सानी पु-याउने गरेको छ।  ‘हात्तीबाट बच्न मान्छे आफैं सतर्क हुने उपाय अपनाउनुपर्छ, बालीनालीको सरकारले उचित क्षतीपूर्ति दिनुुपर्छ,’ उनले नागरिकसँग टेलिफोनमा भने।  जंगली जनावर त्यसमा पनि हात्तीको आक्रमणबाट कोसी टप्पु र आसपासका क्षेत्रमा २०७५÷७६ को अवधिमा सातजनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा सुनसरी र उदयपुरका दुई÷दुई र सप्तरीका चारजना छन्।

हात्तीसँगै अन्य जंगली जनावरको आक्रमणबाट आरक्ष र आसपासका क्षेत्रमा मात्रै २७ जना घाइते भएका छन्।  जसमा सुनसरी र सप्तरीमा १३÷१३ जना घाइते भएका छन्।  उदयपुरमा भने एकजना घाइते भएका छन्।  कोसी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती र मुख्य क्षेत्रभित्र आव २०७४÷७५ मा जंगली जनावरको आक्रमणबाट सात जनाको मृत्यु भएको थियो।  मृत्यु हुनेमध्ये पाँचजनाको मध्यवर्ती क्षेत्र र दुईजनाको आरक्षको जंगल क्षेत्रमा हात्तीले आक्रमणबाट भएको थियो।  त्यो अवधिमा १८ जना घाइते भएका थिए।

सुनसरी, सप्तरी र उदयपुर गरी १ सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षका हात्तीलाई गाउँ पस्नबाट रोक्न सुनसरीको बस्तीतर्फ विद्युतीय घेराबेरा गरिए पनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ।  कोसीपूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ।  विद्युतीय घेराबेरालाई पनि लœयाएर हात्ती गाउँ प्रवेश गर्ने गरेको आरक्षका सहायक वार्डेन गणेश तिवारीले बताए।  आरक्षको मध्यवर्ती क्षेत्रमा १५ देखि २० वटा जंगली हात्ती छन्।  आरक्षका अनुसार नेपालमा कुल २ सयदेखि २ सय २५ वटा जंगली हात्ती छन्।  कोसी टप्पुमा १५ देखि २० वटा हात्ती रहेकोमा भारतबाट झापाको बाहुन डाँगीमा १ सय ३० देखि १ सय ५० वटासम्म आउने गरेका छन्।  आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८ सय ६५ घर परिवारका ८४ हजार ४ सय २३ जना बसोबास गर्छन्।

प्रकाशित: १६ भाद्र २०७६ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App