९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सरकारी सम्पत्ति अनियमितता प्रकरण छानविन

ओखलढुंगा – जिल्ला समन्वय समितिको स्टोरमा रहेको करोडौं मूल्यबराबरको तारजाली र त्रिपाल समन्वय समितिका पदाधिकारीले हिनामिना गरेको विषयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले छानविन थालेको छ।  तत्कालीन जिल्ला विकास समितिको स्टोरमा राखिएको तारजाली, जाली बुन्न बाँकी तार, खानेपानीको पाइप, ज्यावललगायत त्रिपाल र कम्बल हिनामिना भएको उजुरी परेपछि छानविन थालिएको हो।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले छानविन गरी कारबाही गर्न माग गर्दै गत साउन १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जिल्ला समन्वय समितिबाट विवरण मगाएर अध्ययन थालेको बताए।  ‘सरकारी सम्पत्ति दुरुपयोग गर्न कसैलाई अधिकार नभएकाले छानविनमा दोषी पाइए कानुनी कारबाही हुनेछ,’ प्रजिअ आचार्यले भने, ‘अहिले प्रशासनले छानविन समिति नै बनाएर अध्ययन गरिरहेको छ। ’

यस विषयमा लगातार कुरा उठेपछि नेकपा जिल्ला कमिटी ओखलढुंगाले उजुरी गरेको थियो।  राज्यको सम्पत्ति व्यक्तिको सरह दुरुपयोग भएपछि उजुरी गर्नुपरेको नेकपा जिल्ला सचिव मोहनकुमार श्रेष्ठले बताए।  जिल्ला कमिटी बैठकबाटै निर्णय गरेर नेकपाले छानविनको माग गरेको हो।

सरकारी सम्पत्ति मापदण्डविपरीत आफूनिकटका व्यक्तिलाई वितरण गरेर दुरुपयोग गरेको उजुरीमा उल्लेख छ।  जिल्ला समन्वय समिति स्टोरमा बुनिएका तथा बुन्न तयार ४० टनभन्दा बढी तारजाली, लाखौं मूल्य पर्ने ज्यावल, ८ हजार थान त्रिपाल, कम्बल तथा फर्निचर र कम्प्युटरलगायत सामग्री समन्वय समितिले विभिन्न व्यक्ति तथा संस्थालाई वितरण गरेको थियो।  तत्कालीन जिविसलाई स्विस सरकार विकास नियोगअन्तर्गतका विभिन्न परियोजनाले ती सामान हस्तान्तरण गरेका थिए।  खानेपानीका पाइप समिति आफैंले खरिद गरेर राखेको थियो।

  सरकारी अभिलेखको सम्पत्तिमध्ये केही तारजाली स्थानीय तहहरूलाई उपलब्ध गराएर अरू स्टोरको भाडा तिर्न नसक्ने भन्दै सभापति जयबहादुर श्रेष्ठ तथा अन्य पदाधिकारीले निवेदन लिँदै व्यक्ति तथा संस्थालाई वितरण गरेका थिए।  वितरण भएका सामग्रीमा पुराना मोटरसाइकल र गाडी पनि रहेको बताइएको छ।

वितरण गरिएका तारजाली व्यक्तिले बाख्रा तथा कुखुराका खोर बनाउन, बारबेर गर्न, व्यक्तिगत पर्खाल लगाउन तथा कतिले घरैमा स्टोर गरेको भेटिएको छ।  केही समयअघि जिल्ला समन्वय समिति ओखलढुंगाका सभापति जयबहादुर श्रेष्ठले पत्रकार सम्मेलन गरी दाताहरूले समन्वयलाई ती सामग्री हस्तारण नगरेको बताएका छन्।

  समितिले सामानको दुरुपयोग गरेको भनी नेकपाले झुटो आरोप लगाएको भन्दै खण्डन गरेका थिए।  उनले कति सामग्री थिए भनेर आफूलाई समेत थाहा नभएकाले आफैंले सो विषयमा छानविन गर्ने बताएका थिए।

प्रकाशित: १५ भाद्र २०७६ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App