४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

छ हजार मेट्रिक टन स्याउ उत्पादन

खलङ्गा- जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ। चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी छन्।

उनीहरू दुवैको स्याउ बारीमा करीब एक सय पचाँस स्याउका बोट छन्। उनीहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ। भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ भएको छ।

अधिकांश किसान बिहानैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त देखिने गरेका छन्। स्याउ टिप्न शुरु भएसँगै व्यापारी स्याउ बगैँचामै आएर खरीद गर्ने क्रम बढेको छ। स्याउ खरीद गर्न नेपालगञ्ज, सुर्खेत, काठमाडौँ लगायत स्थानका व्यापारी जुम्ला आएका छन्।

भदौको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानी गर्न स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै बगैँचा खाली गरिसकेका छन्। ढिलो टिपे स्याउ बिक्री नहुने समस्याले धमाधम बगैँचा खाली हुन थालेका हुन्। यस वर्ष जुम्लामा छ हजार एक सय मेट्रिक टन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्रको छ।

जिल्लाको स्याउ उत्पादनबारे प्राविधिकले तथ्याङ्क सङ्कलन गरिहेका कृषि ज्ञान केन्द्रका अर्थविज्ञ बालकराम देवकोटाले बताए। उनका अनुसार गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढेको छ। देवकोटाले स्याउको बजार वर्षेनी बढिरहेको बताए।     

केही वर्षअघिसम्म स्याउ बिक्री गर्न खलङ्गा बजारमा लैजानुपर्ने बाध्यता थियो। यस वर्ष व्यापारी बगैँचामै पुगेर स्याउ खरीद गरिरहेका छन्। उनले किसानले बारीमा भएका सबै स्याउ बिक्री गरिसकेका जानकारी दिए।

आठ वर्षअघि साविक जिल्ला विकास समितिको १५ औँ जिल्ला परिषदले जुम्लालाई प्रांगारिक जिल्ला घोषणा गरेको थियो। जुम्लाले २०६६ सालमा नेपाल प्राङ्गारिक प्रमाणीकरण मान्यता पाएपछि स्याउ जिल्ला बाहिर जाने क्रम बढेको हो।     

स्याउको बजार जिल्ला बाहिर भएकाले ढुवानीमा समस्या हुने गरेको स्याउ व्यापारीले बताउने गरेका छन्। जुम्लाको स्याउको माग काठमाडौं लगायत ठूला शहरमा बढी छ। स्तरीय कार्टुन नहुँदा स्याउ प्याकेजीङमा समस्या भएको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ देवकोटाको भनाइ छ।     

जिल्लामा स्याउ भण्डारको व्यवस्था समेत नहुँदा किसान समस्यामा परेका छन्। केही किसानले आफैँ स्याउ जिल्ला बाहिर बिक्रीका लागि लैजाने गरेका छन्। उनका अनुसार बजारको मागभन्दा धेरै स्याउ एकै पटक जाने भएकाले राम्रो मूल्य नपाएको उनको भनाइ छ।

केन्द्रका अनुसार जुम्लामा तीन हजार एक सय हेक्टरमा स्याउखेती गरिएकामा आठ सय हेक्टरमा मात्रै स्याउ फलेको छ।रासस  
 

प्रकाशित: १३ भाद्र २०७६ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App