९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम

बझाङ- छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ।     

छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ। छविसपाथिभेरा गाउँपालिका उपप्रमुख राधिका जोशीले भनिन्, “महीनावारी भएका कारणले स्कूल नआउने दिनको अन्त्य भएको छ।”

छाउपडी प्रथाले गर्दा धेरै छात्राहरुले स्कूल छाड्नुपर्ने भएका कारण गाउँपालिकाले छाउपडी प्रथाविरुद्धको अभियान चलाउँदै आएकोे उनले बताइन्।     

महीनावारी भएको बेला अधिकांश किशोरी विद्यालय आउन अप्ठेरो मान्ने गरेको उपप्रमुख जोशीले बताइन्। “महीनावारीका बेला भोग्नुपरेको समस्या थाहा छ, मैले एटिएम शौचालयको समाचारमा पढेर आफूले पनि गाउँपालिका भित्रका सबै माध्यमिक विद्यालयमा यो व्यवस्था गर्ने सोचका साथ काम गरेकी हूँ”, उनले विगत सम्झँदै भनिन्।     

एटिएमसहितको सेनिटरी प्याड शौचालय जिल्लामै पहिलो हो, जिल्लाका अरु गाउँपालिका र नगरपालिका अभ्यासमा रहे पनि छविसपाथिभेरा गाउँपालिकाले भने शुरु गरिसकेको जोशीले बताइन्। महीनावारी हुने ५० छात्रालाई शौचालय एटिएम कार्डसमेत वितरण गरिएको छ।

सेनिटरी प्याड निकाल्न एटिएममा लाग्ने शुल्क गाउँपालिकाले व्यहोर्ने उपप्रमुख जोशीले बताइन्। एटिएम कार्ड वितरण गर्दै उनले महीनावारीले गर्दा छात्रामा आउने समस्याको न्यूनीकरण गर्नका लागि गाउँपालिकाले काम गर्दै आएको र आगामी दिनमा पनि गाउँपालिकाले छात्रामैत्री कार्यक्रमलाई निरन्तरता दिने बताइन्।   

विद्यालयले पनि प्याडका लागि लाग्ने न्यूनतम शुल्क राख्ने बान्नीचौर माविका प्राध्यापक लोकेन्द सिंहले बताए। विद्यालयले प्याड खरीद गर्न महङ्गो हुने भएका कारण प्याड बनाउने तालीमसमेत दिइसकेको र अझै पुनर्ताजगी तालीम दिई अब आउँदा दिनमा गाउँघरमै उत्पादन गर्ने सिंहले बताए।रासस

प्रकाशित: १२ भाद्र २०७६ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App