१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

हात्तीपाइलेको संक्रमण बढ्यो

काठमाडौं - हात्तीपाइले रोगसम्बन्धी आम धारणा के छ भने ‘यो रोग गाउँमा हुन्छ, सहरमा हुँदैन’, ‘तराईमा मात्र हुन्छ’।  आम बुझाईको सो धारणा विपरीत काठमाडौं उपत्यकामै ठूलो संख्यामा हात्तीपाइले रोगको संक्रमण बढिरहेको पाइएको छ।  राष्ट्रिय हात्तीपाइले नियन्त्रण कार्यक्रमले जनाएअनुसार गत जेठ/असारमा काठमाडौं महानगरपालिकामा गरिएको सर्वेक्षणमा हात्तीपाइले संक्रमितको तथ्यांक बढेको छ।

सर्वेक्षण प्रतिवेदनअनुसार यो वर्ष १२ जना विद्यार्थीलाई हात्तीपाइले जिन पोजिटिभ देखिएको हो।  महानगरपालिकाका ३५ वटा विद्यालयका १ देखि २ कक्षा भित्रका विद्यार्थीमा सो सर्वेक्षण गरिएको थियो।  कुल ५६ जना विद्यार्थीमा एन्टिजिन परीक्षण गरिएकोमा १२ जनामा पोजिटिभ पाइएको हो।  रगतमा हात्तीपाइलेको किटाणु हुनु र समयमै हात्तीपाइले विरुद्धको औषधि नखाएमा

पछि गएर खुट्टा सुन्निने र हाइड्रोसिल हुने जस्ता समस्या देखिन्छन्। सरकारले सन् २०२० भित्रमा नेपालबाट हात्तीपाइले नियन्त्रण गर्ने लक्ष्य लिए पनि हात्तीपाइलेको यो तथ्याकंले चुनौती थपेको राष्ट्रिय हात्तीपाइले नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति प्रदीप रिमालले बताए।  ‘गाउँमा भन्दा सहरको अवस्था चुनौतीपूर्ण बनेको छ,’ उनले भने।  सरकारले नेपालमा हात्तीपाइले रोग निवारणको लागि सन् २००३ देखि नै हात्तिपाइले विरुद्धको औषधि वितरण कार्यक्रम सञ्चालन गरेको थियो।  विभिन्न जिल्लामा आम औषधि सेवन कार्यक्रम चलाउँदै आएको थियो।  आम औषधि सेवन कार्यक्रम केही जिल्लाहरुमा सफल भइसकेको छ भने सफल हुन नसकेका जिल्लाहरुमा कार्यक्रम पुनः चलाइएको थियो।

क्युलेक्स प्रजातिको लामखुट्टेले टोक्दा शरीरमा माइक्रोफाइलेरिया भन्ने परजीवि प्रवेश गर्छ।  यो कीटाणु प्रवेश गरेको ६ देखि ९ महिनाभित्रमा विकसित हुन्छ।  यो परजीविको ८ देखि ९ वर्ष आयु हुन्छ।  आपूm बाँचुन्जेल मानिसको रगतको नलीमा बस्छ र नलीहरु बिगार्छ।  मुख्य गरी फोहोर रगत बग्ने नली चुहिएर खुट्टा सुनिन्छ भने यो रगतमा एक किसिमको कीटाणु पनि हुन्छ।  त्यो राम्रोसँग बाहिर ननिस्केपछि खुट्टाको नलीमा जम्मा भएर बस्छ।  यो जीवाणुले रगतको नशामा असर पुग्दा एउटा मात्र खुट्टा सुन्निएर ठूलो हुने र पुरुषमा हाइड्रोसिल हुने समस्या हुन्छ।  यो किटाणुको ८ वर्षपछि आफैं मृत्यु भए पनि उसले नसा बिगारेको असर भने जीवनभर रहिरहन्छ र बिरामी अपांगताको स्थितिमा पुग्छन्।

काठमाडौं शहरवासीमा हात्तीपाइले रोग सम्बन्धी गलत धारणा रहेकाले हात्तीपाइलेको कीटाणु बढी पाइएको अधिकृत रिमालले बताए।  ‘हामीलाई पनि हात्तिपाइले रोग लाग्छ र ? हात्तिपाइले विपन्नलाई मात्र लाग्ने रोग हो भन्ने सोचले सरकारले निःशुल्क वितरण गरेको औषधि नखानाले काठमाडौंमा हात्तिपाइले बढेको हो,’ रिमालले भने।  शहरमा हात्तीपाइले औषधि अभियानको बारेमा व्यापक जानकारी दिए पनि बेवास्ता भएको उनको आरोप छ।  ‘हामीले औषधि सेवन गर्ने समय १५ दिनसम्म चलेको थियो, तैपनि सबैले खाएको देखिएन।  यो बेवास्ताको परिणाम नै हो,’ उनले भने।

कुनै पनि जिल्लामा आम औषधि सेवनको परिणाम हेर्नको लागि राष्ट्रिय हात्तीपाइले निवारण कार्यक्रमले प्रति दुई वर्षको अवधिमा परिवर्तनको आवधिक सर्वेक्षण गर्दै आएको छ।  हात्तीपाइले पोजिटिभ फेला परेका सबै बालबालिकालाई औषधि खुवाइसकेको कार्यक्रमले जनाएको छ र उनीहरुलाई थप पूरै ६ वर्षसम्म लगातार औषधि खान पनि सुझाव दिइसकेका छन्।

हात्तिपाइलेविरुद्ध आम औषधि सेवन अभियान चलेका ६३ जिल्लाहरु मध्येमा ४८ वटामा पूर्ण सफल भएपछि आम औषधि सेवन बन्द गरिएको छ।  बाँकी १० जिल्लामा पुनः आम औषधि सेवन कार्यक्रम दोहारिएको छ।  आम औषधि सफल नभएका जिल्लाहरु बाग्लुङ, पर्वत, इलाम, झापा, बारा, लमजुङ, पाँचथर, धनकुटा, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा पुनः आम औषधि अभियान चलाइएको छ।  हाल देशका ३४ जिल्लाका १८ हजार प्रभावित छन्।  प्रभावितहरुमा खुट्टा सुन्निने र हात्तीपाइलेको औषधि नियमित ६ वर्षसम्म लगातार खाएमा यो रोग नलाग्ने चिकित्सकको सुझाव छ।

प्रकाशित: १२ भाद्र २०७६ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App