७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मदिरा पिएर आफ्नै नातेदारको हत्या

इटहरी– मदिरा पिएर विवाद हुँदा छुरा प्रहार गरि सुनसरी भोक्राहा–नरसिंहका एक पुरुषको हत्या भएको छ। भोक्राहा–नरसिंह वडा नं. ५ का ४५ वर्षीय वहाव मियाँको छुरा प्रहारबाट सिकिस्त भएकोमा आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको हो। 

शनिबार राति मदिरा पिउनका लागि स्थानीय २५ वर्षीय मुतार्ज मियाँ र वहाव हिडेका थिए। मदिरा पिएपछि आइतबार बिहान १ बजेतिर दुवै जनाबीच विवाद हुँदा छुरा प्रहार भएको प्रहरीले जनायो। मुतार्ज र वहाव नातेदार हुन्। नातामा वहाव मुतार्जका भिनाजु पर्छन्।

वहावको घाटीमा छुरा प्रहार गरेपछि तत्काल जिल्ला अस्पताल इनरुवा लगिएपछि त्यहाँ उपचार सम्भव नभएपछि नोवेल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। मुतार्ज वैदेशिक रोजगारीको सिलसिलमा आइतबार काठमाडौं जाने तय भएको थियो। 

‘मुतार्ज वैदेशिक रोजगारीका लागि हिड्ने टुंगो लागेपछि खुसियालीमा मदिरा पिउने तय भएर दुवै जना हिडेकोमा राति नसा लागेपछि दुवै जनाबीच विवाद हुँदा छुरा प्रहार भएको खुलेको छ’, भोक्राहा नरसिंह वडा नं. ५ का वडाअध्यक्ष बसुरुदिन मियाँले भने। उनका अनुसार, मुतार्जले सुरुवातमा लछारपछार पारेर वहावलाईं छुरा प्रहार गरेको खुलेको छ। मुतार्ज र वहावबीच घनिष्ट सम्बन्ध रहेको गाउँलेले बताए। 

छुरा प्रहार गरेपछि मुतार्जले विष सेवन गरेकोमा अहिले उपचारकै लागि नोवेलल अस्पतालमै भर्ना गरिएको छ। मुतार्जको प्रहरी निगरानीमै उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए। घटनामा अरु पनि संलग्न भएको सूचना पाएकाले गर्दा त्यसबारे पनि अनुसन्धान थालिएको छ। 

प्रकाशित: ८ भाद्र २०७६ १५:०९ आइतबार

मदिरा_सेवन नातेदार हत्या इटहरी