१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

१८० सवारी दुर्घटना, ६४ को मृत्यु

रौतहट - गत आर्थिक वर्षमा विभिन्न सवारी दुर्घटनामा रौतहटमा ६४ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न राजमार्ग, सहायक राजमार्ग तथा ग्रामीण सडकमा भएका सवारी दुर्घटनामा परेर ६४ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ। गत वर्ष रौतहटमा १ सय ८० सवारी दुर्घटना रौतहटमा भएका थिए। विभिन्न सवारी दुर्घटनामा परेर २ सय ८५ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय रौतहटको तथ्यांक छ। तर सवारी दुर्घटना र घाइतेको संख्या अझ बढी हुनसक्ने स्थानीयको भनाइ छ।

जिल्ला ट्राफिक कार्यालय रौतहटको तथ्यांकअनुसार दुर्घटना भएको सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटना र मृतकको संख्या अत्यधिक हुनुमा चालकको लापरबाही, नियमकानुन मिचेर सवारी गुडाउनु प्रमुख कारण रहेको जिल्ला ट्राफिक कार्यालयको दाबी छ। तीव्र गतिमा गुड्नसक्ने क्षमताको सडक नभएको, सवारीसाधनको मेसिनरी पार्टहरूमा गडबडी हुनु, चालकमा दक्षताको कमी र ट्राफिक नियम उल्लंघन गरी जथाभावी सवारीसाधन चलाउदा प्रत्येक वर्ष दुर्घटना बढने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।

युवाहरूको मोटरसाइकलप्रति बढ्दो मोह र अत्यधिक गतिमा नियन्त्रण बाहिर गएर चलाउनेजस्ता कार्यले मोटरसाइकल दुर्घटनाको तथ्यांक डरलाग्दो बनेको छ। चालक अनुमतिपत्र नभएका कम उमेरका किशोरहरू तथा हेलमेटको प्रयोग नगरी तीव्र गतिमा कुदाएको हुँदा दुर्घटना ह्वात्तै बढेको छ। नियमकानुन मिचेर सवारीसाधन गुडाउँदा ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा २२ हजार ७ सय २९ सवारीसाधनलाई कारबाही गर्दा १ करोड ४६ लाख ३८ हजार राजस्व संकलन गरिएको छ। कारबाहीमा पर्नेमध्ये सबैभन्दा बढी ट्रकचालक रहेको जिल्ला ट्राफिक कार्यालयको दाबी छ।

चन्द्रपुर, गौर र गरुडा बजारमा ट्राफिक प्रहरी भए पनि तीनै स्थानका मुख्य चोकमा सवारी नियम उल्लंघन गर्नेको संख्या बढ्दो छ। ट्राफिक प्रहरी पछिल्लो समय राजस्व संकलनमा मात्र केन्द्रित रहेका कारण ट्राफिक नियमकको उल्लंघन गर्नेको संख्या बढ्दै जान थालेको हो। विगत एक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक चेतनामूलक कार्यक्रममा भन्दा राजस्व संकलनमा ध्यान दिएका कारण जिल्लामा सवारी दुर्घटना बढेको गौरका विक्रान्तविक्रम नेपालको आरोप छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्रबहादुर खत्रीले नियम कानुन मिचेर सवारी चलाउनेलाई यातायात ऐनअनुसार कारबाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको बताउँदै जरिवाना मात्रै काटेर छाड्ने तर नियमकानुनलाई मिच्न दिने कार्य कदापी प्रहरी सहेर बस्न नसक्ने भएको हुँदा चालक अनुमतिपत्र र सवारीसाधनको कागजात नभएको सवारीसाधनलाई पार्किङ गरी आवश्यक कारबाही गर्न अनुमति दिइसकेको स्पष्ट पारेका छन्।

प्रकाशित: ३२ श्रावण २०७६ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App